बाजुरामा बाढी पहिरोको कहर «

बाजुरामा बाढी पहिरोको कहर

बाजुरा-असारको पहिलो सातादेखि लगातार परेको अविरल वर्षाले बाजुराको सडक पूर्ण रूपमा तहसनहस भएको छ । पहिरो र बाढीका कारण बाजुरा सदरमुकाम मार्तडी जोड्ने साँफे मार्तडी खण्डको १२ किलोमिटरसडक अवरुद्ध भएको छ । वर्षात्को समयमा पटकपटक सडक अवरुद्ध हुँदा बाजुरावासीले सास्ती बेहोर्नु परेको स्थानीयले बताएका छन ।
साउन २९ गते राति परेको अविरल वर्षाले बाजुराको ताप्रिसेरादेखि सदरमुकाम मार्तडीसम्मको पीच सडकको धेरै ठाउँमा पहिरो र खहरे खोलाले सडक बगाएपछि सडक पूर्ण रूपमा अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय बाजुराका प्रहरी नायब उपरीक्षक सागर बोहराले बताए । २९ गते राति परेको अविरल वर्षाका कारण यातायात पूर्ण रूपमा अवरुद्ध हुनुका साथै मान्छेसमेत हिँड्ने बाटो नभएको प्रहरी प्रमुख बोहराले बताए ।
साँफे–मार्तडी सडक खण्डको अम्कोटको तल पहिरोले बूढीगंगा नदी थुनिएर सडकको छेउ कटान गर्न सुरु भएपछि सड्क नै जोखिममा परेको छ । सडक खण्डको करिब १२ किलोमिटर पूर्ण रूपमा बिगे्रको छ । पूर्वअध्ययन बिना नै सडक निर्माणले जोखिम बढेको इन्जिनियर प्रयागराज जोशीले बताए । सडकको नयाँ विकल्प खोज्नु पर्ने उनको भनाइ छ । सदरमुकाम मार्तडीबाट धनगढी, नेपालगन्ज, महेन्द्रनगर काठमाडौँ लगायतका ठाउँमा जाने सवारी साधान र यात्रीलाई समस्या भएको स्थानीयवासीको भनाइ छ ।

दैनिक उपभोग्य वस्तुको कृत्रिम अभाव
सदरमुकाम मार्तडीसम्मको पीच सडक ४ महिना नपुग्दै भत्किएपछि मार्तडी, कोल्टिलगायतका बजारमा दैनिक उपभोग्य सामानको कृत्रिम अभाव भएको छ । ब्यापारीहरूले यातायात अवरुद्ध र ढुवानीमा समस्या भन्दै स्टोरमा रहेको दैनिक उपभोग्य सामानको मूल्य वृद्धि गरेको स्थानीयले बताएका छन् । बाजुराको सदरमुकाम मार्तडी, कोल्टीलगाएतका बजारमा दैनिक उपभोग्य वस्तुको मूल्य अकासिएको छ ।

पहिरोले बूढीगंगा नदी थुनियो
लगातारको वर्षाले गर्दा आएको बाढी र पहिरोले त्रिवेणी नगरपालिका–९ पैमामा बस्तीे मुनिबाट पहिरो खस्न थालेपछि बूढीगंगा नदी थुनिएको छ । नदी थुनिएपछि त्रिवेणी नगरपालिका–९ पैमामा बूढीगंगा नगरपालिका अमकोटको बस्ती जोखिममा परेको छ । पहिरोले नदीको बीच भागमा ठूलाठूला ढुंगाले सतह लिएपछि बूढीगंगा नगरपालिकाको भागमा बाटो बनाउँदा साँफे मार्तडी सडक खण्ड भासिएको हो ।
नदीको दुईतिहाइ भाग थुनिएकाले एक भागबाट मात्र बग्न सुरु गरेको प्रमुख जिल्ला अधिकारीले बताएका छन् । नदी थुनिने जोखिम बढेपछि सेना, प्रहरीलाई समेत तयारीमा अवस्थामा राखेको र स्थानीयलाई समेत सचेत गराइएको उनले बताए ।
नदी थुनिने खतरासँगै नजिकै रहेको खेतीयोग्य जमिन, झोलुंगे पुल र साँफे–मार्तडी सडक खण्ड पनि उच्च जोखिममा छन् । नदी थुनिने खतरासँगै अछाममा पनि उच्चसतर्कता अपनाइएको छ । नदी थुनिने खतरासँगै आवतजावत बन्द गरिएको छ भने झोलुंगे पुलमा समेत आवतजावत बन्द गरिएको छ ।

दर्जनौ बस्ती जोखिममा
लगातारको वर्षाले गर्दा बाजुराका दजनौ बस्ती बाढी पहिरोको उच्चजोखिममा परेका छन् । त्रिवेणी नगरपालिका–९ पैमामुनिबाट पहिरो झर्न थालेपछि पैमा गाउँका डेढ सयभन्दा बढी परिवार पहिरोको उच्चजोखिममा छन् । पेमा गाउँबाट झर्न थालेको पहिरोले बूढीगंगा नदी थुनीएपछि बूढीगंगा नगरपालिका–१ अमकोट, द्धवारीको तलतिरको भाग नदीले कटान गरेपछि साँफै–मार्तडी सडक भासिएको छ । साँफे–मार्तडी सडक भासिँदा अम्कोटको बस्ती पहिरोको उच्च जोखिममा परेको छ । खप्तड छेडेदह गाउँपालिका–७ गुम्ला गाउँका ४२ परिवारले साउन पहिलो साता नै घर छोडेर लेकतिर सरेका छन् । वर्षा सुरुभएसँगै घरनजिकै पहिरो झर्न थालेपछि लेलमा पाल टाँगेर बसेका मानबहादुर रावतले बताए ।

प्रतिक्रिया दिनुहोस्