दाबी भुक्तानी गर्न बिमा कम्पनीहरू उदासीन «

दाबी भुक्तानी गर्न बिमा कम्पनीहरू उदासीन

निर्जीवन बिमा कम्पनीहरूले पछिल्लो समयमा दाबी भुक्तानीलाई प्राथमिकतामा राखेको बताए पनि तथ्यांकले भने भुक्तानी हुन बाँकी दाबी बापतको व्यवस्था रकम प्रतिवर्ष बढेको देखाएको छ । कम्पनीहरूको विगत नौ वर्षको तथ्यांकअनुसार भुक्तानी हुन बाँकी दाबीबापत व्यवस्था रकम औसत ३५ प्रतिशत बढेको देखिएको छ । आव ०६४-६५ मा कम्पनीहरूले व्यवस्था गरेको यस्तो रकम ५९ करोड ५४ लाख थियो भने आव ०७२-७३ मा ४ अर्ब २६ करोड रुपैयाँ बाँकी रहेको तथ्यांकले देखाएको छ ।
बिमा विनियमावली २०४९ को दफा ३२ अनुसार कुनै दुर्घटना भएको जानकारी पाउने बित्तिकै विमकले सर्भेयर खटाउन सक्नेछ । सर्भेयरले आवश्यक जाँचबुझ गरी १५ दिनभित्र बिमकको दायित्वको निर्धारण गरी त्यसको विस्तृत विवरण समेतको प्रतिवेदन बिमकसमक्ष पेश गर्नुपर्ने छ । र त्यसबारे बिमा लेखको सर्त तथा सुविधाको अधिनमा रही बिमितले पाउन सक्ने रकम उल्लेख गरी बिमितलाई जानकारी दिनुपर्नेछ । सर्भेयरले बिमकसमक्ष प्रतिवेदन पेस गरेको साधारणतया ३५ दिनभित्र बिमकले दायित्व ठहर गरी बिमितलाई निर्जीवन बिमाको दाबी भुक्तानी गर्नुपर्ने छ । तर, कम्पनीहरूले यस्तो दाबी रकम भुक्तान नगरेको अवस्थामा आवको अन्तिममा थप १५ प्रतिशत रकमको व्यवस्था गर्नुपर्छ । अर्थात् गत आवमा कुनै कम्पनीले बिमा दाबी बापत भुक्तान गर्नुपर्ने रकम १ करोड छ तर, कम्पनीले उक्त आवमा भुक्तानी गर्न सकेन भने उक्त रकमको थप १५ प्रतिशत अर्थात् १ करोड १५ लाख रुपैयाँ व्यवस्था गर्नुपर्छ । जसलाई भुक्तानी हुन बाँकी दाबीबापतको व्यवस्था भनिन्छ ।
कम्पनीहरूको लेखा परीक्षण भएको तथ्यांकअनुसार आव २०७२-७३ यस्तो रकम घटेको देखिए पनि नौ वर्षको अवधिमा औसतमा बृद्धि भएको देखिएको छ । समयमा दाबी भुक्तानी नगर्दा कम्पनीहरूले थप १५ प्रतिशत व्यवस्था गर्नुपर्ने भएपछि कम्पनीको नाफा प्रभावित हुन जान्छ । त्यसैले कम्पनीहरूले जतिसक्दो छिटो भुक्तानी गर्नुपर्ने समितिका उपनिर्देशक दिनेशकुमार लालले बताए । “जुन कम्पनीले समयमा नै भुक्तानी गर्छ । सो कम्पनी प्रति मानिसको विश्वास पनि बढ्दै जान्छ । जसले बजारीकरणको काम गर्छ,” उनले भने ।
बिमा कम्पनीहरूले भने पछिल्लो समयमा भुक्तानी नै प्राथमिकतामा राखेको बताउँदै आएका छन् । सगरमाथा इन्स्योरेन्स र नेको इन्स्योरेन्सले तत्काल भुक्तानीको प्रक्रियालाई मध्यनजर गरी अन द स्पट पेमेन्टको समेत व्यवस्था गरेका छन् । पहिला समयमा भुक्तानी नगरे आम्दानी बढ्छ भन्ने केही कर्मचारीको गलत धारण थियो जुन अहिले परिवर्तन भै सकेको बिमकहरूको दाबी छ ।
कतिपय अवस्थामा भने सर्भेयरहरूले समयमा नै प्रतिवेदन नबुझाउँदा भुक्तानी गर्न नसकिएको बिमकहरूले बताएका छन् । त्यस्तै सर्भेयरले भने विमितहरूले समयमा नै कागजपत्र नबुझाउँदो समयमा नै सर्भे रिपोर्ट बुझाउन नसकिएको बताउँदै आएका छन् । अधिकांश विमितहरूले समयमा नै कागजपत्र बुझाउँदैनन् । केही सिमित र विमाप्रति सचेत व्यक्तिले मात्रै समयमा कागजपत्र बुझाउने गरेको उनीहरूको भनाइ छ ।
यसका अतिरिक्त केही कम्पनीहरूले सर्भे प्रतिवेदन समयमा पाए पनि नियतवश नै भुक्तानी रोकिदिने गरेको पीडितहरू बताउँछन् । त्यस्तै, केही कम्पनीहरूले भने दाबीबापत पुर्नबिमा कम्पनीबाट पाउने रकम केही समयमा होल्ड गर्न सके ब्याज आम्दानी गर्न सकिने मनसाय राखी भुक्तानीको प्रक्रियालाई ढिलासुस्ती गर्ने गरेको उनीहरूले बताए ।

प्रतिक्रिया दिनुहोस्