गरिबी निवारण घुम्तीकोष जोखिममा «

गरिबी निवारण घुम्तीकोष जोखिममा

पाँचथर-पाँचथरमा गरिबी निवारण कोषको करोडौं रुपैयाँको घुम्तीकोष जोखिममा परेको छ । विश्व बैंकको सहयोगमा ०६७ सालबाट सुरु भएको घुम्तीकोषको १७ करोड रुपैयाँ जोखिममा परेको हो ।
दातृ निकायको अभाव देखाउँदै जिल्लाबाट गरिबी निवारणको कार्यक्रममा हात झिक्दा घुम्तीकोष जोखिममा परेको हो । साविक ४१ वटा गाउँ विकास समितिमध्ये पहिलो चरणमा छनोटमा परेका २१ गाविसमा कार्यक्रम सुरु भएको थियो । समुदायले घुम्ती कोष निर्माण गरेको हो ।
गरिबलाई गरिबीको कुचक्रबाट दिगो रूपमा माथि उठ्न सहयोग पु¥याउने मुख्य लक्ष्यका साथ कार्यान्वयनमा ल्याइएको कार्यक्रमले नेपाल सरकारको दीर्घकालीन लक्ष्य र सहश्राब्दी विकास लक्ष्यमा सहयोग पु¥याउने लक्ष्य थियो ।
कार्यक्रम सञ्चालनको ८ वर्षमा साविकका २१ गाविस (हालका ३० वडा) मा ४४१ सामुदायिक संस्था गठन भई कोषमा सामुदायिक संस्था दर्ता भएका थिए । जसमा ४०० सामुदायिक संस्थाले कोषबाट घुम्तीकोषवापत करिब पौने ११ करोड रुपैयाँ, समुदायको स्वलगानीको २ करोड १७ लाख रुपैयाँ, घुम्तीकोषको व्याज ३ करोड १३ लाख रुपैयाँ र समुदायको बचत १ करोड १७ लाख रुपैयाँ गरी १७ करोड १९ लाख रुपैयाँ जोखिममा परेको हो । यो कोषबाट ११ हजार ३ सय ६३ घरधुरीका ५६ हजार ३३५ जनसंख्या प्रत्यक्ष लाभान्वित भएका छन् । जसअन्तर्गत महिला घरधुरी ६ हजार ५४९ र पुरुष घरधुरी ४ हजार ५८३ सदस्य छन् । त्यस्तै गरी कार्यक्रमबाट दलित घरधुरी ७१२, जनजाति घरधुरी ९ हजार २७ र अन्य घरधुरी १ हजार ९ सय ८ लाभान्वित छन् । गरिबको जसमा क वर्गका अतिगरिब घरधुरी ५ हजार ५९८, ख वर्गका मध्यम गरिब घरधुरी ३ हजार ७१४ र ग वर्गका गरिब घरधुरी २ हजार ५१ छन् ।
गत चैत मसान्तबाट सम्झौता सकिएको उद्योग वाणिज्य संघ पाँचथरका कार्यक्रम संयोजक भीम कार्कीले जानकारी दिए । घुम्तीकोष प्राप्त गरेका सामुदायिक सस्थामा प्रत्येक महिना सामाजिक परिचालक उपस्थित भई हिसाब किताब राख्न सहयोग हुनुपर्नेमा ४ महिना भइसक्दा घुम्तीकोष परिचालन ठप्प छ, जसले घुम्तीकोष सञ्चालनमा बाधा आएको सिरिजंगा ग्रामीण विकास केन्द्रका कार्यक्रम संयोजक त्रिभुवन शेर्माले बताए । सामुदायिक संस्थासमेत स्वयं उक्त रेकर्ड व्यवस्थापन गर्न सक्षम भइनसकेको अवस्थामा कार्यक्रम सञ्चालनमा बढेको अन्यौलताले घुम्तीकोष दुरुपयोग हुने जोखिम बढेको छ ।
कार्यक्रम सञ्चालनमा लगानी गरिरहेको विश्व बैंकले सन् २०१८ को डिसेम्बरबाट सहयोग रोक्दै गर्दा कार्यक्रम सञचालन र सो कार्यक्रमको अपनत्व कसले ग्रहण गर्ने निश्चित नहुँदा देशभरि परिचालनमा रहेको घुम्तीकोष जोखिममा परेको छ । यस विषयमा विभिन्न तहमा छलफल भए पनि खासै उपलब्धि नभएको कार्यक्रम संयोजक कार्कीले बताए । केही दिन अघिमात्रै गरिबी निवारण कोषका उपाध्यक्षको उपस्थितिमा सरोकारवालासँग छलफल भए पनि कुनै निष्कर्ष निस्कन सकेन । गरिबी निवारण कोषको स्पस्ट नीति नआउँदा कार्यक्रम माथि थप अन्योलता उत्पन्न भएको छ ।
स्थानीय तहमा कार्यक्रम हस्तान्तरण गर्ने वा सहकारी मोडलबाट कार्यक्रम सञ्चालन गर्ने वा कुनै निकायले सहयोग गरे पुनः कार्यक्रम थप गर्ने भन्ने विषयमा कोष आफैं अनिर्णित र अन्योलमा रहनु र निर्णय लिन नसक्नु नै प्रमुख समस्या रहेको कार्यक्रम संयोजक कार्की बताउँछन् ।

प्रतिक्रिया दिनुहोस्