एनबीआईले जिम्मेवार व्यवसाय सम्मेलन गर्ने

काठमाडौं-राष्ट्रिय व्यावसायिक पहल (एनबीआई)ले आगामी वर्ष काठमाडौंमा जिम्मेवार व्यवसाय सम्मेलन गर्ने भएको छ । एनबीआईको बाह्रौं वार्षिक साधारणसभामा अध्यक्ष पद्मज्योतिले सन् २०१९ को अगस्ट ८ र ९ मा तेस्रो जिम्मेवार व्यवसाय सम्मेलनको आयोजना गर्न लागिएको जानकारी दिए । उनका अनुसार यस सम्मेलनको मूल उद्देश्य जिम्मेवार व्यवसायिक अभ्यासमार्फत दिगो विकासको प्रवद्र्धन गर्नु हुनेछ ।
सम्मेलनमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरका ख्यातिप्राप्त ५० भन्दा बढी विज्ञहरू तथा ५ सयभन्दा बढी उद्योगी व्यवसायीहरूलाई समावेश गरी दिगो विकास लिक्षित सम्मेलन सम्पन्न गर्ने प्रस्ताव साधारणसभाले पारित गरेको छ ।
जिम्मेवार आर्थिक विकासको माध्यमबाट शान्त र समृद्ध नेपालको निर्माण गर्ने दूरदृष्टिका साथ राष्ट्रिय व्यावसायिक पहलको स्थापना द्वन्द्वकालीन परिस्थितिमा सन् २००५ मा भएको थियो भने जिम्मेवार व्यवसायसम्बन्धी दुई पटक अन्तर्राष्ट्रिय सम्मेलनको आयोजना एनबीआईले गरिसकेको छ ।
संस्थाका महासचिव सुरेन्द्रवीर मालाकारका अनुसार मानव बेचबिखन सम्पूर्ण नेपालीहरूका लागि लज्जाको विषय भएकाले निजी क्षेत्रले यसलार्ई निरुपण गर्न सक्दो पहल गर्नेछ । “वैदेशिक रोजगारको सम्बन्धमा पनि धेरै नकारात्मक चर्चाहरू भएको छ । यस क्षेत्रमा जिम्मेवार व्यवसाय र आचारसंहिताको प्रवद्र्धन गर्न पनि हामी लाग्नेछौं,” महासचिव मालाकारले बताए ।
साधारणसभामा आर्थिक वर्ष २०७४/७५ को वार्षिक प्रतिवेदनका साथै आगामी वर्षको भावी रणनीतिसमेत प्रस्तुत गर्दै उनले राष्ट्रिय व्यावसायिक पहलले विनरक इन्टरनेसनलसँगको सहकार्यमा मानव बेचविखनविरुद्ध निजी क्षेत्रको प्रभावकारी भूमिका वृद्धि गर्न बृहत् परियोजना गर्नेसमेत बताए ।
कार्यक्रममा संस्थाका उपाध्यक्ष कुशकुमार जोशीले आधुनिक दासतासम्बधी इन्डिोनेसियाको बालीमा गत साता भएको दुई दिने अन्तर्राष्ट्रिय गोष्ठीमा नेपाली निजी क्षेत्रको प्रतिनिधित्व गर्दै कार्यपत्र प्रस्तुतिको विषयमा जानकारी गराए । उपाध्यक्ष जोशीले सोही कार्यक्रमको अनुभव सबैमाझ राख्दै मानव बेचबिखन तथा आधुनिक दासतालाई कसरी निराकरण गर्न सकिन्छ भन्ने विषयमा प्रकाश पारे ।
सभाले संस्थाका कोषाध्यक्ष सुकुन्तलाल हिराचनले प्रस्तुत गरेको लेखापरीक्षकको प्रतिवेदनसहित आर्थिक विवरण पनि पारित गरेको थियो । सभामा ५० भन्दा बढी नेपालका प्रतिष्ठित उद्योगी व्यवसायीहरूको सहभागिता थियो ।