तेक्वान्दो, उसुु र पौडीमा पनि कमजोर प्रदर्शन «

तेक्वान्दो, उसुु र पौडीमा पनि कमजोर प्रदर्शन

१८ औं एसियाली खेलकुद

जकार्ता-इण्डोनेसियाको जकार्ता र पालेम्बाङमा जारी १८ औं एसियाली खेलकुदको तेश्रोे दिनसम्म पनि पदकविहीन रहेको नेपाललाई तेक्वान्दो खेलले पदक दिने आशा पनि तुहिएको छ । अहिलेसम्मको एसियाली खेलकुदमा नेपाललाई सबैभन्दा बढी पदक दिलाउने खेल तेक्वान्दो हो ।
हालसम्मको एसियाली खेलकुदमा नेपालले तेक्वान्दोबाट १ रजत र १३ कांस्य गरी जम्मा १४ पदक जितेको छ । त्यसैले पनि सबैले तेक्वान्दोबाट पदक आउने आशा राख्नु स्वभाविक हो । अहिलेको एसियाली खेलमा पनि नेपालले तेक्वान्दोबाट पदकको अपेक्षा राखेको थियो । तर, मंगलबारसम्म पनि तेक्वान्दो खेल पदकविहीन बनेको छ । तेश्रो दिन तेक्वान्दोमा नेपालबाट १ पुरुष र २ महिला खेलाडीले प्रतिष्पर्धा गरेकोमा तीनै खेलाडी पराजित भएका छन् ।
ज्ञानु चुनाराले ५७ केजिमुनी समूहमा क्वाटरफाइनलसम्मको यात्रा तय गरे पनि त्यसभन्दा अघि बढ्न सकिनन् । पहिलो चरणमा भुटानकी छोडेन किन्जाङलाई २८–६को फराकिलो अन्तरले पराजित गर्दै क्वाटरफाइनलमा प्रवेश गरेकी चुनाराले क्वाटरफाइनलमा फिलिपिन्सकी लोपेज पाउलिन लोइससँग २०–० अंकको फराकिलो अन्तरले पराजित हुँदा नेपालले पदकको आशा गुमायो ।

उता मंगलबार नै ओलम्पियन निशा रावल महिला ६७ केजीमाथिको तौल समूहमा पहिलो चरणबाटै बाहिरीएकी छिन् । रावललाई चीनकी गाउ पानले २२–६ ले परास्त गरिन् । त्यस्तै पुरुष ८० केजीमाथिको तौल समूहमा अनोज पुजारी पहिलो चरणबाट अघि बढ्नै नसक्ने गरी प्रदर्शन गरे । पुजारी काजाकिस्तानका झापारोभ रुसलानसँग २१–० को ठूलो अन्तरले पराजित भए ।
त्यसो त नेपालले तेक्वान्दो खेलबाट पदकको आशा अझै मारिसकेको छैन । बुधबार नेपालका दुई पुरुष खेलाडीले तेक्वान्दोका बाँकी खेलमा प्रतिस्पर्धा गर्नेछन् । भुपेन्द्र श्रेष्ठले पुरुष ८० केजीमुनि तथा वीरबहादुर महराले ६३ केजीमुनि तौलसमूहमा खेल्ने प्रशिक्षक दिपक विष्टले बताए ।
त्यस्तै गरी पौडीमा नेपालका शिरीष गुरुङले पनि निराश पारेका छन् । पुरुष ५० मिटर फ्रि स्टाइलमा ५१ खेलाडी मध्ये ४६ औं स्थानमा आएका छन् । उक्त स्पर्धामा शिरीषले निर्धारित दूरी २६ दशमलव ३३ सेकेन्डमा पूरा गरे । ७ खेलाडीले भाग लिएको दोश्रो हिटमा भने शिरीष तेश्रो स्थानमा रहेका थिए । पौडीको बाँकी खेलमा बुधबार गौरिका सिंहले २ सय मिटर फ्रिस्टायल र शुभम् श्रेष्ठले १ सय मिटर ब्रेस्टस्ट्रोकमा सहभागिता जनाउने छन् । त्यस्तै बिहीबार शिरीषले १ सय मिटर फ्रिस्टायलमा प्रतिष्पर्धा गर्नेछन् ।
उता, पुरुष कपर्दी खेलमा पनि नेपाल पराजित भएको छ । खेलमा जापानले नेपाललाई ३१ का विरुद्ध २८ अंकले पराजीत गरेको हो । यसअघि नेपाल कपर्दीमा इण्डोनेशीयासँग पराजीत भएको थियो ।
उशुखेलको महिला ६० केजि सान्डा बिधामा लुमन्ति श्रेष्ठ क्वाटरफाईनलमा हारेकी छिन् । श्रेष्ठ थाईल्याण्डकी बुुआलुंग सुचायासँग पराजित भएकी हुन् । त्यस्तैगरी युवराज थापा मेन्स नान्गुन विधामा पराजित भएका छन् ।
त्यस्तैगरी थ्रि बाई थ्रि बास्केटबलको पुरुषतर्फको राउन्ड रोबिनखेलमा नेपाल जापान र कतारसँग पराजित भएको छ । जापानसँग २२ः११ले पराजित नेपाल कतारसँग २१ः८ ले खेल गुमाउन पुुग्यो ।
आर्चरीको रिकर्भ महिला व्यक्तिगततर्फ ज्ञानु अवालेले ६६ जनामा ५८६ अंकसहित ५५ स्थानमा रहँदै अघिल्लो चरणमा प्रवेश पाइन् भने पुरुषतर्फको रिकर्भ व्यक्तिगतमा ७९ जनामध्ये तिलक पुन मगरले ६४१ अंकसहित ३७ स्थान, रोशन नगरकोटीले ६३७ अंकसहित ४० स्थान र असिम श्रेष्ठले ६०८ अंक सहित ६८ स्थानमा आएका छन् ।
मंगलबार सम्पन्न अन्य खेलमा पनि नेपालले सफलता प्राप्त गर्न सकेन । भारोत्तोलनमा पनि प्रदर्शन जम्न सकेन । प्याराग्लाईडिङमा पनि खेलाडीको संघर्ष जारी छ । यो खेलबाट पदकको आशा गरेको छ । बुधबार नेपालले कबड्डी, स्विमिङ, तेक्वान्दो, प्याराग्लाइडिङलगायतको बाँकी खेलमा प्रतिष्पर्धा गर्नेछ ।

 

प्रतिक्रिया दिनुहोस्