२० करोडको आईपीओ ल्याउँदै डिसहोम

डिसहोम नेपालले ४० करोड रुपैयाँबराबरको साधारण सेयर ल्याउने भएको छ । कम्पनीले प्रिमियम मूल्यसहित साधारण सेयर निष्कासनका आन्तरिक प्रक्रिया सुरु गरेको हो । हाल २ अर्ब चुक्ता पुँजी रहेको कम्पनीले १० प्रतिशतसम्मले हुन आउने २० करोड रुपैयाँबराबरको सार्वजनिक निष्कासन (आईपीओ) जारी गर्न लागेको हो । कम्पनीले आगामी योजना र त्यसका लागि पुँजीको आवश्यकताअनुसार सर्वसाधारणवाट पुँजी संकलन गर्ने डिसहोमका अध्यक्ष देवी भट्टचनले बताए । “हालका लागि चुक्ता पुँजीको १० प्रतिशत सेयर सर्वसाधारणलाई बिक्री गर्ने योजना गरेका छौं,” उनले भने, “मंगलबार सम्पन्न भएको कम्पनीको वार्षिक साधारणसभाले पनि सक्दो छिटो साधारण सेयर निष्कासन गर्ने निर्णय गरेको छ ।”
नेपाल धितोपत्र बोर्डको सम्पूर्ण प्रक्रिया पूरा गर्दा अगामी भदौसम्ममा सेयर निष्कासन हुन सक्ने उनको भनाइ छ । हाल देशभर उच्च गुणस्तरको डिजिटल टेलिभिजन सेवा प्रदान गर्दै आएको बताउँदै उनले भने, “कम्पनीको कार्यसम्पादन तथा वित्तीय अवस्थाअनुसार सुहाउँदो प्रिमियम मूल्यमा सेयर निष्कासन गर्ने योजना छ ।”
२ अर्ब चुक्ता पुँजी रहेको कम्पनीले गत आर्थिक वर्षमा करिब ४५ करोड रुपैयाँ खुद नाफा गरेको छ । चालू आर्थिक वर्षमा पनि करिब ६० करोड नाफा हुने उनले बताए । धितोपत्र बोर्डले धितोपत्र बजारमा बैंक तथा वित्तीय संस्था हावी भएपछि अन्य क्षेत्रका कम्पनी ल्याउन नीतिगत रूपमा नै पहल गरेको थियो । सोहीअनुसार पछिल्लो समय डिसहोम, नेपाल आयल निगम, शिवम् सिमेन्टजस्ता कम्पनीहरूले पुँजी संकलनका लागि धितोपत्र बजार प्रयोग गर्न खोजेका हुन् ।
अन्य क्षेत्रका कम्पनीले सर्वसाधारणमा सेयर बिक्री गरेको खण्डमा आयकरमा १५ प्रतिशत छुटको व्यवस्था छ । यसअघि सेयर बजारमा रियल सेक्टरका कम्पनीको सहभागिता बढाउन आयकरमा १० प्रतिशत छुटको व्यवस्था थियो । बोर्डले केही सीमासहितको फ्रि प्राइसिङमा सेयर निष्कासन गर्न सकिने व्यवस्था गरिसकेको छ । रियल सेक्टरका कम्पनीले अंकित मूल्यमा सेयर निष्कासन गर्न नसकिने भनेपछि बोर्डले फ्रि प्राइसिङको पनि व्यवस्था गरेको हो । बैंक तथा वित्तीय संस्थाको सेयरमा मात्र लगानी गर्ने लगानीकर्ताले सिजनल रूपमा एक क्षेत्रमा मात्र केन्द्रित भएर लगानी गर्दै आएका छन् । रियल सेक्टरका कम्पनी पनि सेयर बजार आएपछि सेयर बजार परिसूचक अर्थतन्त्रको वास्तविक सूचक बन्ने विज्ञहरु बताउँछन् । बोर्डले धितोपत्र दर्ता तथा निष्कासन नियमावली संशोधन गरेर अनिवार्य रूपमा ३० प्रतिशत सेयर सर्वसाधारणमा निष्कासन गर्नुपर्ने व्यवस्था संशोधन गरी रियल सेक्टरका कम्पनी भएको खण्डमा न्यूनतम १० प्रतिशतमा निष्कासन गरे हुने व्यवस्था गरेको छ ।
हाल नेप्सेमा सूचीकृत सेयरमध्ये ७६ प्रतिशत वित्तीय संस्थाको सेयर रहेको छ । पछिल्लो समय जलविद्युत् कम्पनीको सहभागिता सेयर बजारमा बढ्न थालेपछि बैंक तथा वित्त कम्पनीहरूको बाहुल्यतामा केही कमी हुँदै आएको छ । जलविद्युत्सँगै अन्य क्षेत्रका कम्पनीहरूको सहभागिता बढ्दै गएको खण्डमा सेयर बजार परिसूचकमा बैंक वित्तीय संस्थाको बाहुल्य तोडिने सरोकारवालाहरू बताउँछन् ।