भूकम्पले ढलेको घर प्रवलीकरणमा «

भूकम्पले ढलेको घर प्रवलीकरणमा

दोलखा-ढुंगा माटोको सानो चिटक्क परेको झुपडी, अनि खरको छानो हालेको दुई तले घरमा गुजारा चलेको थियो । त्यो पनि २०७२ वैशाखमा आएको भूकम्प तथा त्यसपछि आएका पराकम्पनले भत्कायो । घर भत्के पनि उनको मन भने भत्किएको थिएन ।
भूकम्पले घर ढलेको साढे ३ वर्ष बित्यो । यो बीचमा ५ वटा सरकार फेरिए, सबैले भूकम्प पीडितलाई गुलिया भाषण सुनाएको समाचार सुनेको लामो समय भयो । भूकम्पपछि पटकपटक घर नापजाँच गर्न प्राविधिक आए, राहत बाँड्ने पनि आए । वरपर धेरैका नयाँ घर ठडियो तर दोलखाको वैतेश्वर गाउँपालिका–६ की नीता घिमिरे टहराकै बासमा छन् ।
जब उनको श्रीमान् चिसोले कठ्यांग्रिएर ज्यान गुमाए, तब नीता घिमिरेको परिवारमा ठूलो संकट आइलाग्यो, मनमा चिन्ता सुरु हुन लाग्यो । नीताले भूकम्पपछि लत्ता कपडा र न्यानो आवास नभएकै कारण चिसोले ४५ वर्षीय श्रीमान् गुमाउनु परेको दुःखेसो पोखिन् । “गरिबको घर त भूकम्पले लगे पनि घर बनाउन आँट दिने श्रीमान् नै गुमाउनु प¥यो,” उनले भनिन् ।
मैले जनप्रतिनिधिलाई गुहार मागे पनि मेरो केही सुनुवाइ भएन उनले भनिन् । सरकारले गरिबलाई हेर्छ भन्थे खै हामीलाई त हेरेन उनकोे दुःखेसो थियो । घर छिमेकीका भूकम्पपीडितमा नाम निस्कियो तर उनको नाम भने लाभग्राही सूचीमा निस्केन । उनले प्राविधिकलाई भत्किएको घर नाप्न नलाएकी होइनन् । तर उनको नाम तेस्रो पटकमा पनि निस्किएन । अहिले उनले लाभग्राहीको सूचीमा नाम निस्किन्छ, भन्ने आशा मारेकी छन् ।
बोल्नेको पिठो बिक्छ, नबोल्नेको चामल पनि बिक्दैन भन्ने यथार्थ नीता पनि बनिन् । पहुँच पुराउनेले गाउँ, सहरमा पक्कि घर हुनेका गाउँमै पुनर्निर्माणको मूल्यांकमा ३ वटासम्म सरकारी अनुदानमा बने । तर नीताको ३ लाख घर बनाउने अनुदान पाउने आसैआसमा साढे ३ वर्ष बिते । पटकपटक लाभग्राहीको सूचीमा नाम ननिस्किएपछि २ पटक गुनासो फाराम भरिन् ।
२ पटक त गुनासोमा नामै आएन, त्यस्रो पटक नाम निस्कियो तर प्रवलीकरणका लागि मात्र । राम्रोसँग छाक टार्नसमेत कठिन छ । जब भूकम्प गयो तीन वर्षसम्म सरकारी अनुदान पाउने आशमा जीवन बित्यो, तर भूकम्पपीडितको सूचीमा मेरो नाम आएन । गिट्टी कुटेर जोहो गर्दे घर बनाउने तयारी गरिरहेकी घिमिरेले गिट्टी देखाउँदै भनिन्, “अब त के गर्न सकिन्छ, घर बनाउनको लागि पैसा छैन ।”
“अब यसको के काम भयो र घर मर्मत गर्नुपर्ने सूचीमा नाम निस्कियो ।” घिमिरेले गुनासो गरिन् । अब १ लाख रुपैयाँले मैले के गर्नसक्छु र घरै छैन घर मर्मत गर्नुपर्नेमा नाम आएछ । वर्षाको समय दिन रात पानी परिरहन्छ । पानी परेपछि घिमिरेलाई आज भोलि के गर्ने कसो गर्ने भन्ने कुराले पिरोलिरहन्छ ।
घिमिरेले भूकम्पपछि लत्ता कपडा र न्यानो आवास नभएकै कारण चिसोले गर्दा ४५ वर्षीय श्रीमान् गुमाउनु परेको समेत दुःखेसो गरिन् । दुई चार पैसा कमाउन सक्ने मेरो कोही छैनन् । कमाउने कोही भए त घर बनाउन आँट गर्न सक्थें होला । घिमिरेसँग अहिले नै घर बनाउन सक्ने आँट छैन । सासु ससुरा छुट्टै बस्नुहुन्छ उहाँहरूको नाम निस्कियो । उहाँहरूले त घर बनाउनु भएको छ । घिमिरेको ५ जनाको परिवार छ । जेठी छोरी काठमाडौंमा काम गर्दै पढ्दै छिन । तिनजना नाम्दुको वैतेश्वर माध्यमिक विद्यालयमा गाँस बास र कपासको अभावमा पनि अध्ययन गरिरहेका छन् । घिमिरेले घरलाई देखाउँदै भनिन् वैशाखसम्ममा त हामी ४ जना यही घरमा बसेका थियौँ ।
वडाध्यक्ष शम्सेर घिसिङले उनको समस्या समाधान गर्न पहल गर्ने बताए । वास्तविक भूकम्पपीडित ११२ जनाको प्रवलीकरणमा नाम निस्केको र त्यसलाई समाधान गर्न आफूले पहल गर्ने उनले बताए । यो समस्या समाधान गर्न गाउँपालिका लागिपरेको उनको दाबी छ ।

प्रतिक्रिया दिनुहोस्