१४ सय ६८ ट्याक्सीमा ११ सय ४४ मारुती सुजुकीकै «

१४ सय ६८ ट्याक्सीमा ११ सय ४४ मारुती सुजुकीकै

भूकम्प प्रभावितलाई दिइएको ट्याक्सीमा सबैभन्दा धेरै मारुती सुजुकीको अल्टो दर्ता भएको छ । १४ सय ६८ वटा ट्याक्सी दर्ता भएकोमा मारुती सुजुकीको मात्र ११ सय ४४ वटा छ । त्यस्तै हुन्डाईका ३ सय २३ वटा ट्याक्सी दर्ता हुँदा टाटाको एउटामात्र दर्ता भएको यातायात व्यवस्था कार्यालय बागमती साना-ठूला सवारीले जनाएको छ ।
सरकारले भूकम्प प्रभावित १४ जिल्लाका पीडितका लागि स्वरोजगार बनाउने उद्देश्यले दिएको १५ सय नयाँ ट्याक्सीमध्ये १४ सय ६८ वटा दर्ता भएका छन् । मंसिर मसान्तसम्मको समय सीमा दिइएकोमा उक्त मितिसम्म १४ सय ६८ वटा ट्याक्सी दर्ता भएको हो । दर्ता भएका नयाँ ट्याक्सीमध्ये सबैभन्दा धेरै मारुती सुजुकीको दर्ता भएको यातायात व्यवस्था कार्यालय बागमती साना-ठूला सवारी प्रमुख वसन्त अधिकारीले जानकारी दिए । “भूकम्प प्रभावितलाई दिइएको १५ सय नयाँ ट्याक्सी दर्तामा १४ सय ६८ दर्ता हुँदा ११ सय ४४ मारुती सुजुकीको, ३ सय २३ वटा हुन्डाईको र १ वटा टाटाको दर्ता भएको तथ्यांकले देखाएको छ,” उनले भने ।
सरकारले भूकम्पबाट अति प्रभावितलाई स्वरोजगार बनाउने उद्देश्यले २ वर्ष अघि भूकम्प अति प्रभावित १४ जिल्लाका भूकम्प पीडित कार्ड हुनेहरूबाट छनोट गरि १५ सयजनालाई ट्याक्सी दर्ता गर्न दिने निर्णय भएको थियो । १५ सय ट्याक्सी दर्ताका लागि १ लाख ४९ हजार आवेदन दिएका थिए । त्यस अघि सरकारले बागमती अञ्चलमा दर्ता भएका ट्याक्सी पुराना भएको र ट्याक्सीको संख्यासमेत कम भएको भन्दै १८ सय ५० नयाँ ट्याक्सी दर्ताको अनुमति दिएको थियो ।
१५ सय भूकम्प प्रभावितले नयाँ ट्याक्सी दर्ता गर्ने अनुमति पाएको भए पनि १४ सय ६८ जनाले मात्र दर्ता गरेको छन् । अब बाँकी ३२ ले दर्ता गर्न नपाउने कार्यालय प्रमुख अधिकारीले जानकारी दिए । “हामीले ट्याक्सी दर्ताका लागि गोलाप्रथाबाट छनोट भएको मितिले ६ महिनाभन्दा बढी समय दिएका थियौं,” उनले भने, “समय सीमा गुज्रिएकाले अब उक्त ट्याक्सी दर्ता हुने छैन ।”
नेपाली ट्याक्सी बजारमा मारुती सुजुकीको एकत्व अहिले पनि कामय नै देखिएको छ । ०५७ मा ट्याक्सी दर्ता खुलेपछि विभिन्न कम्पनीका ट्याक्सी स्वतहः विस्थापित भएका थिए । त्यसपछि सरकारले ८ सय सीसी इन्जिन क्षमतका गाडीलाई ट्याक्सी बनाउन पाउने निर्णय गरेपछि मारुती ८ सय ट्याक्सीका रूपमा प्रवेश गरेको थियो । २०७१ मा दर्ता भएका १८ सय ५० नयाँ ट्याक्सीमा पनि मारुती सुजुकीको अल्टो नै सबैभन्दा धेरै दर्ता भएको थियो ।

 

प्रतिक्रिया दिनुहोस्