अपराधमा बालबालिकाको संलग्नता

रुकुम-रुकुम पश्चिमको सदरमुकाम मुसिकोटमा चोरको बिगबिगी बढेको छ । सदरमुकाम मुसिकोटको खलंगा, सल्ले, बागबजार, सेरीगाउँ, पिपलनेटालगायतका बजार क्षेत्रमा दैनिकजसो चोरीका घटनाहरू भइरहेका छन् । चोरीका अधिकांश घटनाहरूमा बालबालिकाको संलग्नता पाइएको छ ।
बजारक्षेत्रका फेन्सी पसल, मोबाइल पसललगायत घरमै पसेर सुनचाँदी, पैसा, खाद्यान्न सामग्री, कपडा, जुत्ताचप्पल चोरी हुने गरेको स्थानीयले बताएका छन् । चोरीसँगै अन्य अपराधिक घटनाहरू पनि सँगसँगै हुने गरेको जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमले जनाएको छ ।
असार अन्तिमतिर मुसिकोट खलंगा बजारमा रहेको अमित फेन्सी स्टोरमा सटर तोडफोड गरेर ब्राण्डेड कपडा र नगदसहित करिब ९१ हजारबराबरको चोरी भएको प्रोप्राइटर अमित सुनारले जानकारी दिए । उक्त आरोपमा प्रहरीले बाँफिकोट गाउँपालिका १० का १७ वर्षीय र आठविसकोट नगरपालिका १३ का १७ वर्षीय दुई किशोरलाई प्रहरीले पक्राउ गरी अनुसन्धान थालेको जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमका प्रहरी निरीक्षक प्रमोद क्षेत्रीले जानकारी दिए ।
आरोपित बालकले आफ्नो पसलबाट चोरेको कपडा लगाएर बजारमा हिँडेको देखेपछि आफूले प्रहरीलाई उजुरी दिएको प्रोप्राइटर सुनारले बताए । त्यसैगरी मालपोत कार्यालय रुकुम पश्चिममा कार्यरत सुब्बा घनश्याम केसीको घरबाट काँचो सुन, सुनका गरगहना र नगदसहित करिब तीन लाख बराबरको चोरी भएको छ ।
चोरीको आरोपमा ३ जना बालक पक्राउ परे पनि उनीहरुलाई रुकुम जिल्ला अदालतले परिवारको जिम्मामा छोड्न आदेश दिएको छ । यसका साथै घरमै राखेको मोटरसाइकल चोरीको आरोपमा मुसिकोट नगरपालिका १२ का १८ वर्षीय एक बालक पक्राउ गरी अदालत पेश गर्दा पुर्पक्षका लागि थुनामा राखिएको प्रहरीले जनाएको छ । उनले सोही ठाउँ निवासी शिक्षक नन्दलाल रोकायको मोटरसाइकल चोरी गरेको बताइएको छ ।
त्यसैगरी मुसिकोट नगरपालिका ५ पिपलनेटामा रामकली घर्तीको घरमा पाहुना बस्न आएको बहानामा दुई तोला सुन चोरी भएको पीडितले जानकारी दिए । मुसिकोट नगरपालिका १ चन्दननाथ टोलमा रहेको देवबहादुर खड्काको पसलबाट आधा तोला सुनसहित खाद्यान्न सामान चोरी भएको छ । चोर पत्ता लगाउन अहिलेसम्म नसकिएको खड्काले बताए ।
यी घटना जानकारीमा आएका ठूला चोरीका घटना हुन् । यसबाहेक थुप्रै सानासाना चोरीका घटना हुने गरेको र प्रायः बालबालिका नै यस्ता घटनामा संलग्न हुने गरेको प्रहरीले जनाएको छ । बालबालिका संलग्न चोरीका घटनामा अभिभावकको रोहवरमा घटना नदोहो¥याउने शर्तमा मुद्दा दर्ता नगरेरै फिर्ता गर्ने गरिएको छ ।
महिलाको म्याक्सी लगाएर चोरी
रुकुम पश्चिम मुसिकोटमा एक पुरुषले महिलाको कपडा लगाएर महिला रहेको घरमै गएर करणी प्रयाससहित चोरी गरेका छन् । मुसिकोट नगरपालिका ६ की ४८ वर्षीय एक महिलालाई जवरजस्ती करणीको प्रयास गर्दै उनको घरमा भएको ८३ हजार रुपैयाँ समेत चोरी भएको प्रहरीले जनाएको छ । उक्त कार्यमा संलग्न त्रिवेणी गाउँपालिका ३ का २३ वर्षीय बलबहादुर कामी र उनका साला सिस्ने गाउँपालिका ८ रुकुम पूर्वका २१ वर्षीय धनबहादुर सार्कीलाई प्रहरीले नियन्त्रणमा लिएर अनुसन्धान थालेको जिल्ला प्रहरी कार्यालय रुकुमका प्रहरी प्रमुख सुमित खड्काले जानकारी दिए । धनबहादुरले महिलाको पोषाक (म्याक्सी) लगाएर नजिक गई पहिले राम्रै कुराकानी गरेर झुक्याएको र पछि आफ्नो कानै काटेर लगाएको सुन चोरी गरेको पीडित महिलाले प्रहरीलाई बताएकी छिन् ।
उनीहरूलाई चोरी तथा जबरजस्ती करणी उद्योगमा मुद्दा दर्ता गरेर अनुसन्धान भैरहेको प्रहरीले बताएको छ । त्यस्तै आठबिसकोट नगरपालिका–७ घर भई रुकुम सल्लेस्थित कोठा गरी बस्ने २१ वर्षिय महेश बुढालाई पनि चारीको आरोपमा प्रहरीले पक्राउ गरि सार्वजनिक गरेको छ । उनले मठ बस्ने राजकुमार पुन र शिवा समालको घरबाट भाँडाकँुडा, करिब ४ तोला सुन र नगद ताला तोडेर चोरेको अभियोग छ ।