अमेरिकाको प्रतिद्वन्द्वी रूस र चीन : ट्रम्प «

अमेरिकाको प्रतिद्वन्द्वी रूस र चीन : ट्रम्प

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सोमबार राष्ट्रिय सुरक्षा रणनीति सार्वजनिक गरेका छन् । उनले अमेरिकाको राष्ट्रपति भएपछि सोमबार पहिलो पटक आफ्नो प्रशासनको सुरक्षा रणनीति सार्वजनिक गरेको समाचारमा उल्लेख गरिएको छ । ट्रम्पले यसअघि नै ल्याएको ‘अमेरिका फस्ट’ (पहिले अमेरिका) कार्यक्रमलाई उक्त रणनीतिमा पनि प्राथमिकताका साथ राखिएको छ ।
राष्ट्रपति ट्रम्पले आफू सत्तामा आएको करिब वर्ष दिनपछि उक्त राष्ट्रिय सुरक्षा रणनीति सार्वजनिक गरेका हुन् । यसमा विशेष गरी आर्थिक शक्ति र आन्तरिक सुरक्षामा बढी जोड दिइएको देखिन्छ । साथै, सीमा नियन्त्रणमा पनि यसले कडाइ गरेको छ । यस सुरक्षा रणनीतिमा अमेरिकी सेनाको पक्षमा बलियो अडान लिइएको पनि देखिएको छ ।
आर्थिक पक्षका बारे पनि सुरक्षा रणनीतिमा समेटिएको छ । आर्थिक तथा अन्य हिसाबले अमेरिकाले अर्काे विश्वलाई के–कस्तो व्यवहार गर्न चाहेको छ भन्ने कुरा पनि यस रणनीतिमा समेटिएको छ ।
उनले अरू विश्वलाई सहकार्यभन्दा पनि प्रतिस्पर्धामा जोड दिएका छन् । साथै, उक्त रणनीतिमार्फत उनले रूस र चीनलाई अमेरिकाको सहकार्य नभई प्रतिस्पर्धी भएको बताएका छन् ।
उक्त रणनीति सार्वजनिक गर्ने क्रममा गरिएको सम्बोधनमा ट्रम्पले अमेरिकालाई प्रतिस्पर्धी शक्तिका रूपमा चीन र रूसले चुनौती दिइरहेको उल्लेख पनि गरेका छन् ।
कुनै संघ वा व्यक्तिको नामै नलिई उनले अमेरिकाले आतंककारीहरू, आतंकवादी संगठन तथा विविध खालका आपराधिक सञ्जालबाट हिंसाको सामना गर्नुपरिरहेको र यो उसका लागि एक किसीमको चुनौती नै रहेको पनि बताए ।
राष्ट्रपति ट्रम्पले अमेरिकी मान्यता र सम्पत्तिलाई अरू प्रतिस्पर्धीहरूले भने चुनौती दिने कोसिस गरिरहेको उल्लेख गरे । उनले यी चुनौती दिएकाहरूको नाम उल्लेख नगरे पनि विशेषतः यसअघि अमेरिकाका मुख्य प्रतिस्पर्धीमा चीन र रूस रहेको बताएकाले तिनै देशको चुनौती हो भनिएको छ ।
उनले राष्ट्रिय स्वार्थको संरक्षण गर्ने र अमेरिकी प्रभाव र मान्यताहरूको हितका साथै अमेरिका पहिला भन्ने आफ्नो मान्यतालाई यस सुरक्षा रणनीतिले सघाउ पुर्याउने धारणा राखेको पनि बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्