वैकल्पिक लगानी कोष नियमावली मस्यौदा परिमार्जन गर्न सुझाव «

वैकल्पिक लगानी कोष नियमावली मस्यौदा परिमार्जन गर्न सुझाव

नेपाल धितोपत्र बोर्डले तयार गरेको वैकल्पिक लगानी कोष नियमावली २०७५ को मस्यौदा भेञ्चर क्यापिटलप्रति केन्द्रित भएको सरोकारवाहरूले बताएका छन् । कुनै एक क्षेत्रलाई मात्र नभई समग्र बजारलाई सहयोग गर्ने किसिमको व्यवस्था नियमावलीमा गर्न उनीहरूले बोर्डलाई सुझाव दिएका छन् ।
सरोकारवालाहरूले हतार नगरी परिपक्व मस्यौदा ल्याउनुपर्नेमा जोड दिएका छन् । बोर्डले भेञ्चर र क्यापिटल, प्राइभेट इक्विटी फन्ड, पूर्वाधार विकास कोष, हेज फन्ड, साना तथा मझौला कोष सञ्चालनका लागि आवश्यक वैकल्पिक लगानी कोष नियमावलीको मस्यौदा तयार पारेको हो ।
नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक नारायणप्रसाद पौडेलले मस्यौदामा नेपालीले विदेशमा समेत लगानी गर्न सक्ने भन्ने व्यवस्थाले अन्योलता बढाउने बताए । अहिलेको अवस्थामा विदेशमा नेपालीले लगानी गर्न नपाउने व्यवस्था रहेको उनले बताए । क्यापिटल एकाउण्ट कन्भर्टिबल हुने अवस्था नभए नेपालीले विदेशमा पनि लगानी गर्न सक्ने भनी गरिएको व्याख्यालाई परिमार्जन गर्नुपने पौडेलको भनाइ छ ।
अर्थविद् अनलराज भट्टराईले वैकल्पिक लगानी कोषको लगानीको दायरामा गरिएको व्यवस्था चुनौतीपूर्ण रहेको बताए । विदेशमा नेपालीले लगानी गर्न नपाउने अहिलेको अवस्थाका सम्बन्धमा सरकारले नै छलफल गरी नयाँ नतिजा दिएको खण्डमा यस्ता कोष सञ्चालनका लागि सहज हुने उनको तर्क छ ।
मर्चेन्ट बैंकर एसोसिएसनका अध्यक्ष ध्रुव तिमल्सिनाले धितोपत्रसम्बन्धी ऐनमा संगठित संस्था भनी गरिएको व्यवस्थालाई नियमावलीको मस्यौदाले प्रष्ट पार्न नसकेको बताए ।
नेपाल इन्भेस्टर्स फोरमका अध्यक्ष अम्बिकाप्रसाद पौडेलले वैकल्पिक लगानी कोषको आकार १५ करोडमा मात्र सीमित गर्न नहुने बताए । कानुनले समर्थन नगर्ने किसिमका विषयलाई मस्यौदामा राख्ने परिपाटीको अन्त्य गर्न उनले सुझाव दिए ।
कानुन व्यवसायी सेमन्त दाहालले एकाइ धनीलाई मात्र कोषका लगानीकर्ता मान्ने गरी तयारी गरिएको मस्यौदामा ऋणमा लगानी गर्नेलाई पनि समेट्न सुझाव दिए । एउटा फन्डले अरू विभिन्न फन्डमा लगानी गर्न पाउने कि नपाउने भन्ने विषय नियमावलीमा प्रष्ट हुनुपर्ने उनको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस्