भेरी–बबई डाइभर्सनले ५ सय युवालाई विदेशिनबाट रोक्यो «

भेरी–बबई डाइभर्सनले ५ सय युवालाई विदेशिनबाट रोक्यो

राष्ट्रिय गौरवको आयोजना भेरी–बबई डाइभर्सन आयोजनाले यस क्षेत्रका ५ सय बढी युवालाई विदेश जानबाट रोक्न सफल भएको छ । स्थानीयस्तरमा काम नपाएपछि कामको खोजीमा भारत र खाडी मुलुक जाने तयारीमा रहेका यस क्षेत्रका ५ सय युवाले भेरी–बबई डाइभर्सनमा राम्रो काम पाएपछि उनीहरू विदेश गएनन् ।
सो आयोजनाको सुरुंग खन्ने कार्यले गति लिएसँगै आयोजनामा सयौं नेपाली युवाले रोजगारी पाएका छन् । यस क्षेत्रका सुर्खेत, बर्दिया, जाजरकोट, दैलेख, अछाम र बाँकेका ५ सय बढी युवाले सो आयोजनामा रोजगारी पाएपछि उनीहरूले विदेश जाने योजना त्यागेको आयोजनाले जनाएको छ ।
गाउँघरमै रोजगारी पाउन थालेपछि कामका लागि हरेक वर्ष विदेशिने युवामध्ये यस वर्ष ५ सय बढीलाई यतै रोक्न सफल भएको भेरी–बबई डाइभर्सन आयोजनाका प्रमुख शिवकुमार बस्नेतले बताए । उनले आयोजनामा लागेका युवाहरूले मासिक १६ हजारदेखि ५० हजारसम्म कामअनुसार तलब पाइरहेको बताए ।
भारतका विभिन्न सहरमा गएर धक्का खानुभन्दा आफ्नै देशमा राम्रो पैसामा रोजगारी पाएपछि निकै सहज भएको प्रतिक्रिया सो आयोजनामा काम गर्ने युवाहरूको छ । मासिक २४ हजार रुपैयाँ पाउँदै आएका सुर्खेत लाटीकोइलीका नविन थापाले यस्ता आयोजना नेपालका सबै ठाउँमा बन्न थाले भने कुनै पनि नेपालीले रोजगारीका लागि विदेशिनु नपर्ने बताए ।
सो आयोजनाको सुरुङ पाइपका उद्योग र सुरुङ निर्माणलगायतमा काममा अधिकांश युवाले काम गरिरहेका छन् । आयोजनामा बिहान ८ बजेदेखि दिउँसो १२ बजेसम्म र दिउँसो २ बजेदेखि बेलुका ६ बजेसम्म काम सञ्चालन हुने गरेको छ । घण्टाको हिसाबले युवाहरूलाई राम्रो रकम दिइने गरेको आयोजनाले जनाएको छ ।
सो राष्ट्रिय गौरवको आयोजनामा ५ सय नेपालीले काम गरिरहेको आयोजना निर्माणको ठेक्का पाएको चाइना ओभरसिज इन्जिनियरिङ गु्रप (कोभेक) का प्रशासकीय प्रमुख ली छाङयोङले बताए ।
उनका अनुसार कामदारका लागि खान, बस्नको निःशुल्क व्यवस्था गरिएकाले पनि बचत राम्रो हुने गरेको छ ।
विदेश गएर दुःख पाउनुभन्दा राष्ट्रिय आयोजनाहरूमा काम गर्दा फाइदा भएको आयोजनामा काम गरिरहेका कामदारको भनाइ छ । मासिक १६ हजारदेखि ५० हजारसम्म तलब र ओभर टाइम गर्दा विदेशभन्दा नेपालमै बढी कमाइ हुने गरेको सो आयोजनामा काम गरिरहेका बर्दिया मैनापोखरका सन्जय थारुले बताए । भेरी–बबई आयोजनाबाहेक जिल्लामै सञ्चालित तथा जिल्लाबाहिर सञ्चालित सिँचाइ आयोजना, सडक निर्माणलगायतका निर्माणसम्बन्धी काममा सयौँ युवाले आफ्नो सीप र क्षमतालाई प्रयोग गरिरहेका छन् ।
विदेशमा गएर पनि धेरै कमाउन नसकिरहेको अवस्थामा देशमा बसेर ३०–४० हजार कमाउनुमै आफू सन्तुष्ट रहेको दैलेखमा सञ्चालित मध्यपहाडी राजमार्ग निर्माणमा साइट इन्चार्जका रूपमा काम गरिरहेका बर्दिया ठाकुरबाबा नगरपालिका–४ का देवेन्द्र जोशीले बताए ।
यस क्षेत्रका अधिकांश युवा बर्दियासँगै पश्चिम नेपालको बाँके, सुर्खेत, दैलेख, बुटवल, नारायणगढ र पूर्वी नेपालको गोरखा, नुवाकोट, सिन्धुली, रामेछापलगायतका ठाउँमा सञ्चालित निर्माण कार्यमा संलग्न रहेको जोशीले बताए ।

 

प्रतिक्रिया दिनुहोस्