Logo

सामुदायिक स्वास्थ्य इकाई बन्द

रुकुम-रुकुम पूर्वको एक सामुदायिक स्वास्थ्य इकाई बन्द भएको छ । सामुदायिक स्वास्थ्य इकाईमा काम गर्ने कर्मचारीलाई पारिश्रमिक उपलब्ध गराउन नसक्दा बन्द भएको हो ।
साविकको रुकुमकोट गाविस वडा नं ४ कुचिवाङ हाल भुमे गाउँपालिका वडा नं ८ भएको छ । उक्त ठाउँमा २०७३ सालमा स्थापना भई निरन्तर स्वस्थ्य सेवा दिँदै आएको सामुदायिक स्वास्थ्य इकाई अहिले आएर करिब २ महिनादेखि बन्द रहेको छ ।
जिल्ला जनस्वास्थ्य कार्यालय रुकुमकोटबाट उपलब्ध औषधी स्वास्थ्य इकाईमा भए पनि कर्मचारीलाई पारिश्रमिक उपलब्ध नगराएकै कारण स्वास्थ्य इकाई बन्द भएको स्थानीय दिनेश रोकाले बताए । उनका अनुसार स्वास्थ्य इकाईमा काम गर्ने कर्मचारीलाई पारिश्रमिक उपलब्ध गराएर सेवा सुचारु गर्ने वातावरण सृजना गर्न पटक पटक जनप्रतिनिधिहरुलाई आग्रह गरे पनि कुनै सुनुवाइ भएको छैन ।
भौगोलिक विकट र अहिलेसम्म यातायात नपुगेको उक्त ठाउँमा भएको स्वास्थ्य सेवा पनि बन्द हुदा यहाँका स्थानीय सामान्य बिरामी हुँदासमेत १ दिनको पैदल बाटो हिँडेर सदरमुकाम रुकुमकोट धाउनु परेको स्थानीय पार्वती बुढामगरले दुखेसो पोखिन् । “हामी २०७३ सालमा गाउँमै स्वास्थ्य इकाई स्थापना भएर सेवा पाउँदा निकै खुसी थियौं, तर अहिले सामान्य टाउको दुख्दा वा जरो आउँदा खाने सिटामोल किन्न समेत सदरमुकाम धाउनु पर्छ,” उनले भनिन् ।
साविकको रुकुमकोट गाविस वडा नम्बर ४ कुचिवाङ भुमे गाउँपालिकामा गाभिएसँगै आफूले पाउँदै आइरहेको पारिश्रमिक २०७४ साल श्रावण महिनादेखि नपाएकाले बाध्य भएर आफूले स्वास्थ्य इकाई बन्द गरेको अहेव मदन बुढामगरले बताए । “मुलुक संघीय संरचनामा जानुभन्दा अगाडि जिल्ला स्वास्थ्य कार्यालय रुकुम पश्चिमबाट मैले मासिक पारिश्रमिक १० हजार रुपैयाँ र कार्यालय सहयोगिले मासिक ८ हजारका दरले पारिश्रमिक पाइरहेका थियौं,” उनले भने, “तर अहिले विगत १ वर्षदेखि पाएका छैनौ, स्थानीय सरकारलाई पटक पटक जानकारी गराउँदा पनि कुनै चासो दिएको देखिएन ।”
उक्त सामुदायिक स्वास्थ्य इकाई बन्द हुँदा सिस्ने गाउँपालिकाका वडा न ५, ह्याप्ला, काफलडाँडा वडा नं ६ को झिङरी र भुमे गाउँपालिका वडा नं ८, मैहिवाङ, कुचिवाङ, झिम्का र पाछावाङका गरि ५ सय बढी घरपरिवार स्वास्थ्य सेवा लिन प्रभावित बनेका छन् । उता भुमे गाउँपालिकाले भने यो विषयमा गाउँ कार्यपालिकाको बैठकमा छलफल गरि उक्त स्वस्थ्य इकाईका कर्मचारी र कार्यालय सहयोगीलाई पारिश्रमिक दिने निर्णय भएको गाउँपालिका अध्यक्ष रामसुर बुढामगरले बताए । गाउँपालिका अध्यक्षले निर्णय भएको भने पनि अहेव बुढाले भने आफूलाई कुनै जानकारी नआएको प्रतिक्रिया दिए ।

प्रतिक्रिया दिनुहोस्