नेपालको प्रदर्शन सुधारियो

१८ औं एसियाली खेलकुद
जाकर्ता- अन्तर्राष्ट्रिय खेलकुद प्रतियोगितामा पदक जित्ने लक्ष्य सबै खेलाडीको हुन्छ । पदकको लक्ष्य बोकेर नै खेलाडीहरू मैदानमा प्रतिष्पर्धा गर्न ओर्लन्छन् ।
शनिबारबाट इण्डोनेसियामा सुरु भएको १८ औं एसियाली खेलमा सहभागी नेपाली खेलाडीको लक्ष्य भनेको पनि पदक जित्नु नै हो । तर एसियाली खेलको इतिहासमा खासै लायकको प्रदर्शन १७ औं संस्करणसम्म गर्न नसकेको नेपालले इण्डोनेसियाको १८ औं सस्करणबाट पनि पदकको त्यति आशा भने राखेको छैन । पदक जित्न नसके पनि दरिलो प्रदर्शन र विगतको नतिजामा सुधार गर्न सक्नु पनि ठूलो उपलब्धि हुने खेलाडी तथा प्रशिक्षकको भनाइ छ ।
आइतबार पुरुष ब्याडमिन्टन खेलमा पाकिस्तानसँग जित हात पारेपछि प्रशिक्षकले लक्ष्य पदक जित्ने नै भए पनि पदक नजिते पनि उत्कृष्ट प्रदर्शनलाई पनि राम्रो मान्नुपर्ने र यसले भविष्यको बाटो तय गर्ने बताए । ब्याडमिन्टनका प्रशिक्षक जयन्त कुमार श्रेष्ठले ब्याडमिन्टन पुरुष टिमतर्फ अघिल्लो चरणमा जान नसके पनि पाकिस्तानलाई हराउनुलाई सफलताको रुपमा लिनुपर्ने बताए ।
“पाकिस्तानसँग लामो समयपछि जित निकालेका छन् हाम्रा खेलाडीले । भारतमा भएको ११ औं सागमा पनि पाकिस्तानसँग पराजित भएको थियो नेपाल, तर एसियाडमा जित निकालेका छौ । हामी पदक जित्नका लागि अघिल्लो चरणमा जान असफल भए पनि पाकिस्तानसँगको जितलाई राम्रो नतिजाको रुपमा लिएका छौं,” उनले भने । पाकिस्तानलाई नेपालले ३ः१ले पराजित गरेको थियो ।
तेक्वान्दोमा सागमा कीर्तिमान कायम गरेका दीपक बिष्टको भनाइ पनि त्यस्तै छ । “लक्ष्य त सबैको पदक जित्नु नै हो । पदकमा पनि स्वर्ण पदक जित्नु सबैको लक्ष्य नै हुन्छ खेलाडी भएपछि । तर खेलमा हार–जित हुन्छ । राम्रो प्रदर्शन गरी हार्नु या अघिल्लो चरण प्रवेश गर्न नसक्नुलाई नराम्रो मान्नु हँुदैन,” विष्टले भने, “पदक नजितेपनि विगतको भन्दा प्रदर्शन राम्रो गर्न सक्नु, खेलमा सुधार ल्याउन सक्नु पनि ठूलो उपलब्धि हो ।”
नेपालले आइतबार तेक्वान्दोमा सेमिफाइनलमा पुग्ने अपसर गुमाएको छ । महिला टिम पुम्सेतर्फ ताइपेइसँग पराजित भएको छ । राउन्ड अफ सिक्सटिनमा उज्वेकिस्तानले नाम झिकेपछि नेपाली टिम सोझै क्वाटरफाइनलमा पुगेको थियो । क्वाटरफाइनलमा सिना मादेन, निता गुरुङ र पार्वती गुङको सामूहिक पुम्से प्रदर्शनमाथि ताइपेइका खेलाडीहरू तोलिबोभा मफतुनाहोन, किम मरिना र इस्मोरोदोभा सेमेराले लायकको प्रदर्शन देखाउँदा नेपाली टोली क्वाटरफाइनलबाट अघि बढ्न सकेन । नेपाली टोलीको अंक ७ दशमलव ४२ हुँदा ताइपेइले ८ दशमलव १९ अंकले जित निकालेको थियो ।
त्यस्तै आइतबार नै तेक्वान्दोको पुम्से व्यक्तिगत पुरुषतर्फ कमल श्रेष्ठ (७.५१०) र महिलातर्फ पार्वती गुरुङ (७.५४०) राउन्ड अफ सिक्सटिनबाटै बिदा भए । नेपालले पदकको अपेक्षा राख्ने खेलमध्ये तेक्वान्दो एक हो ।
आइतबार सम्पन्न अरु खेलमध्ये रेसलिङको पुरुषतर्फको मेन्स चान्गुकुआन विधामा बिजय सिन्जाली १४ औं स्थानमा आएका छन् भने महिला नानकुआनमा निमा घर्तिमगरले ११ औं स्थानमा चित्त बुझाएका छन् ।
एसियाली खेलमा पहिलो पटक सहभागिता गरेको फेन्सिङको प्रतिष्पर्धामा पनि नेपाली खेलाडीले राम्रो प्रदर्शन गर्न सकेनन् । सुटिङको एअर राइफल १० मिटर मिक्सडतर्फ नेपालले २२ औं स्थानमा चित्त बुझाएको छ ।
त्यस्तै टेनिसको मेन्स तथा विमेन्सको प्रारम्भिक चरण पनि नेपाली खेलाडीले पूरा गर्न सकेनन् । फुटबलमा पनि पाकिस्तानसँग २ः१ ले हार ब्यहोरेको छ नेपालले । समग्रमा आइतबार सम्पन्न खेललाई हेर्दा पदक नजिते पनि सुधारिएको प्रदर्शनमा नै नेपाली खेलाडीले चित्त बुझाएका छन् ।
मनोरञ्जन शर्मा