पहिरोको जोखिममा कर्णाली राजमार्ग «

पहिरोको जोखिममा कर्णाली राजमार्ग

दैलेख-वर्षायाम सुरु भएसँगै कर्णाली राजमार्गका विभिन्न ठाउँमा पहिरो जान थालेपछि यातायात सेवा अवरुद्ध हुँदै आएका छन् । सुर्खेतदेखि २२० किमि रहेको जुम्ला सडक खण्डका विभिन्न स्थानमा पहिरो जाँदा सवारी साधन तथा यात्रु अलपत्र पर्दै आएका हुन् ।
सडक डिभिजन कार्यालय सुर्खेत मातहतको सुर्खेतदेखि दैलेखको आठबिस नगरपालिकाको दही खोलासम्म हेर्ने जिम्मा भए पनि डिभिजनले खासै चासो नदिएको स्थानीयको आरोप छ । यस सडक खण्डअन्तर्गत २ वटा मेसिन भए पनि ठुलै पहिरो आएपछि मात्र प्रयोग हुदै आएको स्थानीय अर्जुन शाहीले बताए । ठाउँ ठाउँमा सानातिना पहिरो गएपछि सवारी साधान जाम भए पनि सम्बन्धित निकाएले चासो नदिएको उनको गुनासो छ ।
ठाउँठाउँको पहिरोले गर्दा २ दिन लाग्ने सडकमा १६ दिन लागेको बताउँछन् दैलेख चावि नगरपालिका–९ का सहचालक जनक खड्का । सुर्खेत सामान लिन जुम्लादेखि हिँडेको आज १६ दिन भयो अझै बाटोमै छौं उनले भने अझ कति दिन लाग्ने हो निश्चित छैन । खड्काजस्तै अर्का यात्री जुम्ला जिल्लाका का ५५ वर्षीय हरिबहादुर बुढा जुम्लादेखि नेपालगन्ज हिँडेको ६ दिन भयो तर उनी पनि बीच सडकमै छन् । जुम्लादेखि नेपालगन्ज जाँदै गरेका बुढा ६ दिनसम्म कर्णाली राजमार्ग अन्तर्गतको चामुण्डा विन्द्रासैनी नगरपालिका चिउरे खोलामै छन् । जुम्लामा खुद्रा तथा खाद्यान्नको व्यापार गरी बसेका बुढा पसलको सामान लिन जान लागेका थिए ।
उनीजस्तै कञ्चनपुरबाट कालिकोट हिडेका रतन शाही पनि चिउरेखोलाको जाममा ४ घण्टा रोकिए । उनलाई दैलेख आइपुग्नै ४ दिन लाग्यो । रतन शाहीमात्र होइन कोहलपुरबाट मुगु जान लागेका मुगुका बिर्खबहादुर शाही चिउरेखोलाको जाममा फसे । कालिकोटदेखि सुर्खेत जाँदै गरेका सवारी चालक केशव पुजालीले कर्णाली राजमार्गकै सडकमा १२ भन्दा बढी स्थानमा जाममा परेको बताए ।
मुगुका बिर्खबहादुर शाहीले प्रदेश सरकारले वर्षात्मा पनि निर्वाध रूपमा सवारी साधन सञ्चालनका लागि २० देखि ५० मिटरको दूरीमा जेसीभी र स्काभेटर राख्नु पर्ने धारणा राखे । “सडकको दुर्दसा यस्तो हुनुमा सडक विभागको कमजोरी हो, कर्णाली प्रदेश सरकारले पनि बेवास्ता गर्यो, यहाँ नत मान्छे बोक्ने गाडीलाई, मान्छेले बोक्नु प¥यो,” उनले भने
यी यात्रु र सवारी चालक प्रतिनिधि पात्रमात्र हुन् । कर्णाली राजमार्ग हुँदै दैलेख, कालिकोट, जुम्ला, बाजुरा, अछाम, हुम्ला, मुगु जिल्ला जाने यात्रुले सास्ती बेहोर्नु परेको छ । कर्णाली राजमार्ग अन्तर्गतको सांगेतडा, चिउरे खोला, पादुका बजार लगायतका दुई दर्जन बढी स्थानमा पहिरो गएको छ । बुधबार दैलेखको चामुण्डा विन्द्रासैनी नगरपालिकाको चिउरे खोलामा गएको पहिरोका कारण बिहान १० बजेदेखि दिउसो ४ बजेसम्म ६ घण्टासम्म भएको जाममा ३ सय सवारीका १ हजार ५ सय यात्रु अलपत्र परेका थिए ।
सडक विभागबाट खटिएका कामदार हर्क खड्काका अनुसार कर्णाली राजमार्गमा दुई दर्जन बढी स्थानमा पहिरो गएको बताए । दैलेखको आठबिस नगरपालिका–९ छेपाडीका गणेश सिजापतिका अनुसार कर्णालीका धेरै जिल्ला जोड्ने सडक कर्णाली राजमार्गमात्रै प्रमुख मार्ग भएको भन्दै प्रदेश सरकार र केन्द्र सरकारले पनि विशेष प्राथमिकतामा दिनुपर्ने धारणा राखे । यसभन्दा अगाडि कर्णाली राजमार्गलाई ‘मृत्यु मार्ग’ को रूपमा चिनिँदै आएको छ, अब मृत्युमार्गले चिनिँदै आएको राजमार्गमा यात्रुहलाई सहज रूपमा आवातजावत गराउन पहल गर्नुपर्छ ।
कर्णाली राजमार्गमा वर्षात्मा मात्र नभई हिउँदमा समेत यात्रुले सास्ती बेहोर्दै आएका छन् । राजमार्गमा खाल्डाखुल्डीले यात्रुलाई सास्ती बेहोर्नु परेको छ । सडकको अवस्था नाजुक हुनुमा सडक विभागको कमजोरी रहेको यात्रुहरू बताउछन् ।
महेन्द्र सापकोटा

प्रतिक्रिया दिनुहोस्