एनआरएनएद्वारा टिपिएस नवीकरण गराउन अनुरोध «

एनआरएनएद्वारा टिपिएस नवीकरण गराउन अनुरोध

अमेरिकन सरकारद्वारा प्रदान गरिएको अस्थायी सुरक्षित दर्जा (टिपिएस ) सुविधा नवीकरणका लागि एनआरएनए अमेरिकाले हालै त्यहाँको सरकारसँग अनुरोध गरेका छन् । राजधानी वासिङ्टन डिसीस्थित बिभिन्न कंग्रेसनल नेताहरु तथा होमल्याण्ड सिक्युरिटी तथा राज्य विभाग (स्टेट डिपार्टमेन्ट) अधिकारीहरुसँग भेटवार्ता गरी टिपिए सुविधाको म्याद बढाउन अनुरोध गरिएको हो ।अस्थायी सुरक्षित दर्जा (टिपिएस) को अवधि अर्को वर्ष जुन २४ तारिख २०१८ मा म्याद गुज्रिने भएकोले सो नवीकरण गर्न नेपाली समुदायले अनुरोध गरेको हो । भूकम्प तथा अन्य कारणबाट अमेरिका छिरेका तथा अमेरिकामा अस्थायी रूपले बसिरहेका नेपालीहरुको समस्या समाधान होस् भन्ने उद्देश्यले गैरआवासीय नेपाली संघ अमेरिकाको प्रतिनिधि मण्डलले भेट गरी नवीकरण तथा यसको दिर्घकालिन समाधानका लागि वार्ता तथा परामर्श गरेको हो ।
हालै ट्रम्प प्रशासनले जुलाई २०१९ देखि हाइटीको टेम्पोरेरी प्रोकेक्टेड स्टाटस (टिपिएस) समाप्त गर्ने घोषणा गरेको छ । यसले १० औँ हजार हइटीलाई अमेरिका छोड्नुपर्ने या लुकेर बस्नुपर्ने अवस्था हुनेछ । यदि जुन २४ देखि नवीकरण भएन भने जसले यो सुविधा उपयोग गरेका छन्, त्यसका लागि कठिन स्थिति सृजना हुन पनि सक्ने भएकोले एनआरएन अमेरिकाले यो कदम चालेको हो । संस्थाका अध्यक्ष डा. केशव पौडेलको नेतृत्वमा गएको एक टोलीले अमेरिकी कंग्रेसस्थित नेपाल ककसका प्रमुख जेरड पोलिस, नेपाल ककसका सदस्यद्वय स्याम ग्रेभ्स र सुजन डेल्बेने तथा न्युयोर्कका कंग्रेसम्यान ग्रेस मेङका प्रतिनिधीहरुसँग भेटी अस्थायी सुरक्षित दर्जा नविकरण गर्नका लागि आवश्यक छलफल गर्नुका साथै एक लिखित ज्ञापनपत्रसमेत बुझाएको थियो ।
नेपालका लागि अस्थायी रूपमा हाललाई कम्तिमा ३ वर्षको अस्थायी सुरक्षित दर्जा(टिपिएस) नवीकरण तथा विधेयकमार्फत यो समस्याको दिर्घकालिन समाधानका लागि आवश्यक पहल गर्न सबै कंग्रेसनल लिडरहरुका प्रतिनिधिहरुमार्फत् आवश्यक प्रकृया अगाडि बढाउनका लागि आग्रह गरिएको छ । यो समस्याको दिर्घकालिन समाधानका लागि आफूहरु चिन्तित रहेको अध्यक्ष पौडेलले जनाएका छन् । यसैगरी सोही टोलीले राज्य विभागस्थित नेपाल डेस्कका प्रतिनिधी एलेक्स लेफिक्टेसँग भेटी नेपालको वर्तमान अवस्थाका बारेमा अवगत गराउँदै टिपिएस नवीकरणका लागि सम्बन्धित पक्षसँग पहल गर्न आग्रह गरेको छ ।
एनआरएन अमेरिकाका संचार संयोजक बाल जोशीले संयोजन गरेका सबै बैठकहरुमा अध्यक्ष डा. केशव पौडेल, वरिष्ठ उपाध्यक्ष सुनिल साह, महासचिव बि आर लामा तथा समाजसेवी मोहन ज्ञवाली सहभागी रहेका थिए । टिपिएस नवीकरणका लागि एनआरएनए अमेरिकाले आगामी दिनहरुमा समेत अमेरिकाभरिका नेपाल संघसंस्थाहरुसँग सहकार्य गरी राज्य तथा सहरस्तरीय जनप्रतिनिधीमार्फत दबाब सृजना गर्ने कार्यक्रम रहेको छ ।

प्रतिक्रिया दिनुहोस्