जुम्लाका ४ स्थानीय तहमा प्राविधिक शिक्षा «

जुम्लाका ४ स्थानीय तहमा प्राविधिक शिक्षा

जुम्लाका आठ स्थानीय तहमध्ये यस वर्षबाट ४ स्थानीय तहले प्राविधिक शिक्षा सञ्चालन गर्दैछन् । प्राविधिक शिक्षा अन्तर्गत विभिन्न विषयमा यहाँका चार स्थानीय तहले अबको केहि दिनमा कक्षा सञ्चालन गर्ने भएका छन् । जुम्लाका तातोपानी, कनकासुन्दरी, पातारासी र गुठिचौर गाउँपालिकाले आवश्यक बजेट तथा पूर्वाधार निर्माणका लागि नीति कार्यक्रम तथा बजेटमा समेत विशेष प्राथमिकताका साथ प्राविधिक शिक्षालाई लिएका छन् ।
टिकाउ, बिकाउ र सिकाउ जनशक्ति उत्पादनका लागि प्राविधिक शिक्षा अपरिहार्य बनाउने सोचका साथ स्थानीय तहले प्राविधिक शिक्षा सञ्चालन गर्न लागेका हुन् । पछिल्लो समय प्राविधिक शिक्षातर्फ विद्यार्थीको बढ्दै गएको मोहलाई मध्यनजर गर्दै गाउँमै प्राविधिक शिक्षा सञ्चालन गरिएको पातारासी गाउँपालिका अध्यक्ष लक्षिमन बोहोराले बताए ।
उनले भने, “संघियताको महसुस गराउनु पनि गाउँमै प्राविधिक शिक्षाको परिकल्पना गरिएको हो । जिल्लाबाहिर जाँदा हुने थेग्न नसक्ने खर्च व्यवस्थापनका लागि पनि गाउँमै खोलिएको प्राविधिक शिक्षा निकै प्रभाकारी हुने विश्वासन जनप्रतिनिधिको छ ।”
“सिंहदरबार गाउँमा आइसकेपछि प्राविधिक शिक्षा पढ्न किन बाहिर जाने महँगो तिरेर ?” गुठिचौर गाउँपालिका अध्यक्ष हरि बहादुर भण्डारीले भने, “अब हाम्रा बालबालिका आफ्नै घरको खाएर प्राविधिक शिक्षा आर्जन गर्न पाउने व्यवस्था गरिएको छ ।” बाहिरको भन्दा निकै सस्तोमा प्राविधिक शिक्षा आर्जन गर्न पाउने उनको भनाइ छ ।

कुन तहमा के पढाइ ?
तातोपानी गाउँपालिकाको कालिका मावि ताम्तीमा बाली विज्ञान, सोहि गाउँपालिकाको हिम शखिर माविमा ओभरसियर पढाइ हँुदैछ । हिमशिखरमा सब ओभरसियर पढाइका लागि ३७ लाख छुट्याइएको गाउँपालिका अध्यक्ष नवराज न्यौपानले बताए । कनकासुन्दरी गाउँपालिकाको कनकासुन्दरी माविमा पशु विज्ञान सञ्चालन हुने गाउँपालिकाले जनाएको छ । त्यस्तै, पातारासी गाउँपालिकाको सरस्वती मावि रिनीमा पनि बाली विज्ञान पढाइ हुने भएको छ ।
साथै, गुठिचौर गाउँपालिकाको त्रिभुवन माविमा पनि बाली विज्ञान सञ्चालन हुने भएको छ । यी चारै स्थानीय तहलाई प्राविधिक शिक्षा सञ्चालनका लागि सम्बन्धनसमेत प्राप्त भएको छ । अन्य एक नगरपालिका र ३ गाउँपालिका पनि अर्को वर्षसम्म प्राविधिक शिक्षा गाउँमै सञ्चालन गर्ने कसरतमा जुटेका छन् ।

विद्यार्थीलाई राहात
गाउँमै रोजगारीदेखि प्राविधिक शिक्षा सञ्चालनको व्यवस्थाले यहाँका विद्यार्थीले राहत महसुस गरेका छन् । तातोपानीका सुरेश परियारले यो वर्ष एसईई पास गरेका छन् । प्राविधिक शिक्षा पढ्न बाहिर जाने तयारी गरेका उनले गाउँमै सिभिल ओभरसियर पढाइ हुने कुरो थाहा पाएपछि निकै खुसी लागेको बताए ।
उनले भने, “घरमै बसेर प्राविधिक शिक्षा पढ्न पाइने भएपछि किन बाहिर जाने ?” सस्तोमा गाउँमै पढ्न पाइने भएपछि विद्याार्थी खुसी भएका छन् । यो वर्ष जुम्लाका पातारासी, गुठिचौर, तातोपानी र कनकासुन्दरीका विद्यार्थीले बाहिर पढेभन्दा सस्तोमा पढ्न पाउनेछन् । बढीमा ४० सिटको अध्ययन हुने जनाइएको छ । प्राविधिकतर्फका १५, १८ महिने र ३ वर्षे कोर्षहरु सञ्चालन हुने भएका छन् ।

सरस्वती माविमा पढाइ सुरु
प्राविधिक शिक्षा सञ्चालन गर्न लागेका जुम्लाका ४ स्थानीय तहमध्ये पातारासी गाउँपालिकाले गएको बिहिबारबाट आईसीएजी कक्षा सञ्चालन गरेको छ । झण्डै ४० जना विद्यार्थी सिटका लागि भर्ना खोलिएको र आवेदन आउने क्रम जारी रहेको विद्यालयले जनाएको छ ।

 

सागर परियार

 

प्रतिक्रिया दिनुहोस्