तातोपानी कुण्ड डुबानको जोखिममा «

तातोपानी कुण्ड डुबानको जोखिममा

म्याग्दी-कालिगण्डकीले धार परिवर्तन गरेपछि म्याग्दीको अन्नपूर्ण गाउँपालिका–२ स्थित पर्यटकीयस्थल भुरुङ तातोपानी कुण्ड कटानको उच्चजोखिममा परेको छ ।
कालिगण्डकीमा आएको बाढीले शुक्रबार रातीदेखि बस्ती, कुण्ड र सडक कटान गर्न थालेको हो । कालिगण्डकीले कटान गरेर बेनी–जोमसोम सडकको भुरुङ तातोपानी खण्डमा करिब २० मिटर सडक बगाएपछि आवतजावत बन्द भएको छ । कालिगण्डकी किनारमा रहेको सर्वोदय माविको खेलमैदानको आधा भाग नदीले कटान गरेर बगाइसकेको वडाध्यक्ष ओमप्रकाश फगामीले बताए ।
“खेलमैदान परिसरमा रहेको भुरुङ तातोपानी मिट सप्लायर्स र बल्क उद्योगमा पूर्णरूपमा क्षति पु¥याएको छ,” वडाध्यक्ष फगामीले भने, “कालिगण्डकी किनारमा रहेको कुण्डतर्फ कालिगण्डकीको धार सोझिएको छ । बाढीले बगाएर ल्याएको ढुंगासहितको गेगर थुप्रिएपछि नदीको सतह साविकको भन्दा बढेको छ ।”
तातोपानीको कुण्डतर्फ नदीको धार सोझिएपछि कटानको जोखिम बढेको वडाध्यक्ष फगामीले बताए । प्राकृतिक रूपमा निस्कने तातोपानीलाई संकलन गरेर स्नानका लागि दुईवटा पोखरी बनाइएको छ । पोखरीमा स्नानका लागि वार्षिक हजारांै स्वदेशी तथा विदेशी पर्यटक आउने गर्छन् । कालिगण्डकीको कटानका कारण जोखिम बढेपछि भुरुङ तातोपानीस्थित सीमा प्रहरी चौकी क्षेत्रका बासिन्दाले सुरक्षित स्थानतर्फ सामान सार्न थालेका छन् । कालिगण्डकीले धार परिवर्तन गरेर बस्तीतर्फ सोझिएपछि सामान सार्न थालेको स्थानीय श्याम रानाले बताए । शनिबार बिहान कटान प्रभावित क्षेत्रको निरीक्षण गरेका अन्नपूर्ण गाउँपालिकाका अध्यक्ष डमबहादुर पुनले वर्षा रोकीएपछि बाढीको सतह घट्न थाले पनि सर्तकता अपनाउन अनुुरोध गरे । सडक अवरुद्ध हुँदा म्याग्दीको उत्तरी क्षेत्र, मुस्ताङका बासिन्दा, मुस्ताङ जाने आउने पर्यटक र तिर्थयात्री समस्यामा परेका छन् । बेनी–जोमसोम–कारोला सडक विस्तारका क्रममा जथाभावी रूपमा फालिएको ढुंगा माटोका कारण कालिगण्डकीमा साविकको भन्दा बढी कटानको समस्या आएको गाउँपालिका अध्यक्ष पुनले बताए ।
स्थानीय प्रशासन, प्रदेश र संघीय सरकारका सांसदमार्फत सडक आयोजनालाई ढुंगा माटोको सुरक्षित ब्यवस्थापनको माग गरिएको अध्यक्ष पुनले बताए । कालिगण्डकी कटानका कारण अन्नपूर्ण गाउँपालिका–४ कोप्चेपानीको धवलागिरी आधारभूत विद्यालयको छ कोठे र आमा समूहको सभा हलसहितको एक कोठे भवन बगाएको छ । सडक पाखो भत्काइएपछि अन्नपूर्ण गाउँपालिका–३ गुइँठेमा ८ र काभ्रेमा ३ घरपरिवार विस्थापित भएका छन् ।
सन्तोष गौतम

प्रतिक्रिया दिनुहोस्