काभ्रेमा ई–लाइब्रेरी

काभ्रेको कोशीदेखास्थित श्रीराम उच्च माध्यमकि विद्यालयमा रोटरी क्लब अफ काठमाडौं नर्थनले ई–लाइब्रेरी स्थापना गरेको छ । विद्यालयको भौतिक संरचना उपयोग गरि इन्टरनेटसहितको ‘पुस्तकालय तथा प्रविधि स्रोत केन्द्र’ नामक कम्युटर र ईलाइब्रेरी हालै एक कार्यक्रमका बीच हस्तान्तरण गरिएको हो ।
सञ्चालनको तयारीमा रहेको ईलाइब्रेरीको सहायताले विद्यार्थीहरुलाई राष्ट्रिय अन्तराष्ट्रिय स्तरका पत्रपत्रिका, पुस्तक तथा अनलाइन सामग्रीहरु कम्युटरका सहायताले खोजेर पढ्न सक्ने भएका छन् । क्लबले भौतिक रुपमा पढ्न सकिने पाठ्यपुस्तक समेत वितरण गरेको छ । दुई वर्षे परियोजना सन् २०१७ सेप्टेम्बर २५ देखि सुरु भएको ३५ हजार अमेरिकी डलरको सीजी १७४७१०८ नम्बरको सो परियोजना आगामी वर्षको सेप्टेम्बर २४ सम्म चल्नेछ । परियोजना अवधिभर दुई जना लाइब्रेरी संचालकलाई वार्षिक तलब परियोजनाले व्यहोर्ने व्यवस्था गरेको छ । राजधानीदेखि नजिक रहेर पनि आधुनिकताबाट टाढा रहेको अवस्थामा रोटरीको सहायताले विद्यार्थीहरुलाई आधुनिक ज्ञान हासिल गर्न सहयोग हुने भन्दै विद्यार्थी, शिक्षक तथा समुदायले खुशी व्यक्त गरेका छन् ।
नर्सरी देखि १२ कक्षासम्मका विद्यार्थीले सो इलाइब्रेरी प्रयोग गर्न सक्नेछन् । स्कुलमा जम्मा ३५० विद्यार्थी छन् । रोटरीको छ वटा प्राथमिकताका क्षेत्रमध्ये प्रमुख क्षेत्र साहित्य र शिक्षा अन्तर्गत सामूदायिक स्कुलमा अध्ययनरत विद्यार्थीहरुको पढाइको स्तर उकास्ने उद्देश्यले दुई वर्षे परियोजना रोटरी क्लब स्येवी अमेरिकासँगको सहकार्यमा रोटरी क्लव अब काठमाडौं नर्थले संचालन गरेको हो । “सहरमा मात्र हैन, गाउँघरका विद्यार्थीले पनि विश्वमा विकास भएका आधुनिक सूचना प्रविधिको उपयोग गर्न पाउनुपर्छ भन्नेमा रोटरीले विश्वभर जोड दिँदै आएको छ,” रोटरी क्लव अफ काठमडौं नर्थका अध्यक्ष बलराम राईले भने, “ईलाइब्रेरी स्थापना गरि विद्यार्थीको चेतनास्तर उकास्न हामीले श्रीराम स्कुललाई छनोट गरेका हौं ।” रोटरीले थप विद्यालयमा प्राथमिकताका आधारमा यस्ता कार्यक्रम गर्ने योजना बनाएको बताए ।