वामीको वैदेशिक राजगारी मोह «

वामीको वैदेशिक राजगारी मोह

गुल्मीमा साविकको वामी गाउँ विकास समितिबाट वैदेशिक रोजगारीमा जानेको संख्या उल्लेख्य छ, जसले मासिक ४ करोड रुपैयाँ रेमिट्यान्स भित्र्याउँदै आएको छ ।स्थलगत अध्ययन गर्दा साविकका एउटै वडाबाट वैदेशिक रोजगारीमा ४ सय जनाभन्दा बढी युवा पुगेका छन । उनीहरूबाट ती मुलुकमा हुने गरेको न्यूनतम आम्दानी तलब जोड्दा पनि झन्डै साढे ४ करोड रुपैयाँ आम्दानी एकै महिनामा हुने गरेको छ । यहाँको अन्तर्राष्ट्रिय सम्पर्क समितिले मात्रै विभिन्न मुलुकमा रहेका वामी–९ का युवाको संख्या ५ सय ४५ निकालेको छ ।
झन्डै २१ वर्षअघि जापानबाट सुरु भएको हो, वामी–९ का युवाहरूको वैदेशिक रोजगारीको यात्रा । टोड्केका बोमबहादुर रायमाझीका छोरा लेखबहादुर रायमाझी र वामीकै भेडुवाबाट काठमाडौं बसाइँ सरेका खिमबहादुर खरालका छोरा योगेन्द्र खराल १९ वर्षअघि एकैसाथ जापान पुगेका थिए ।
उनीहरू त्यहाँ पुगेपछि वामीबाट जापान जाने युवाहरूको लर्को लाग्न थाल्यो । हाल त्यहाँका २ सय जना महिला तथा पुरुष जापान पुगेको बताउँछन् वामी–९ अन्तर्राष्ट्रिय सम्पर्क समितिका केन्द्रीय अध्यक्ष दिलीप थापा ।
ती २ सय जनाबाट न्यूनतम मासिक १ लाखका दरले हिसाब गर्दा पनि त्यहाँ पुगेका युवाहरूले एकै महिनामा २ करोड कमाउने गरेका छन् । अस्ट्रेलियामा १० जना पुगेका छन् । उनीहरूबाट न्यूनतम १ लाखका दरले पनि मासिक १० लाख कमाइ हुने गरेको छ । युकेमा ५० जना छन् । उनीहरूबाट न्यूनतम डेढ लाखका दरले ७५ लाख एकै महिनामा कमाइ हुने गरेको स्पष्ट हुन्छ ।
अमेरिकामा १० जना छन् । उनीहरूबाट न्यूनतम १ लाखका दरले मासिक १० लाख कमाइ अनुमान गरिएको छ । न्युजिल्यान्डमा ३५ जना छन् । उनीहरूबाट पनि मासिक १ लाखका दरले न्यूनतम मासिक ३५ लाख आम्दानी हुने गरेको छ ।
मलेसियासहित खाडी मुलुकमा सय जना रहेको र उनीहरूबाट न्यूनतम मासिक २५ हजारका दरले २५ लाख कमाइको अनुमान गरिएको छ । भारतमा २ सय जनाबाट न्यूनतम मासिक १० हजारका दरले २० लाख कमाइ हुने अनुमान गरिएको छ । यो तथ्यांकबाट अन्य सहरमा घर–घडेरी खरिद नगर्ने हो भने साविकको वामी– ९ मा मात्रै मासिक ३ करोड ७५ लाख रुपयाँ रेमिट्यान्स भित्रिन सक्छ ।
स्वदेशमा शिक्षक, अन्य सरकारी र संघसंस्थामा भएका जागिरेसमेतको हिसाब गर्दा न्यूनतम मासिक ४ करोडभन्दा बढी नगद कमाइ हुने स्थलगत अध्ययनको तथ्यांकले देखाएको छ ।

खुसीसँगै चिन्ता पनि
बढ्दो वैदेशिक रोजगारीको खुसीसँगै वामीवासीहरूलाई बसाइँ सराइ बढ्दै जाँदा गाउँ रित्तिने हो कि भन्ने चिन्ता पनि पर्न थालेको छ । उनीहरूले गरेको कुल आम्दानीको २५ प्रतिशत पनि गाउँमा पठाउने गरेका छैनन् । विदेश पुगेर कमाइ गर्नासाथ विभिन्न सहरमा घर–घडेरी खरिद गर्न सुरु गरेका छन् र गाउँलाई बिर्संदै गरेका छन् ।
बढ्दो वैदेशिक रोजगारको यात्रासँगै गाउँका घरहरूमा ताला लाग्ने र लेउ लाग्ने क्रम जारी छ । यसप्रति उनीहरूका अभिभावक निकै चिन्तित रहेका छन् । न्युजिल्यान्डमा १० वर्षदेखि कार्यरत घनश्याम खरालको भेडुवा फाँटमा परिवारलाई वर्षभरि खान पुग्ने खेत थियो । टिनले छाएको चिटिक्कको मोटरबाटाको छेवैमा उनको घर थियो ।
अहिले त्यो घर एकादेशको कथाजस्तै बनेको छ । अर्काको जिम्मा दिएर छाडिएको उनीहरूको त्यो निर्जीव वस्तुले बनेको घर जीवित प्राणीजस्तै परिवारजनको विछोडको पीडाले मलिन छ । उनीहरू छँदा आँगनमा रहेको सुन्दर तुलसी रोप्ने मठ अहिले जीर्र्ण छ । अझै पूजाको आशामा मलिन छ । त्यसमा तुल्सीको बोट सुकेको छ । घरवरिपरि सुन्दर फूलहरू ओइलिएका छन् । अनेक झारपातले सजिएको करेसाबारीमा अहिले झार पलाएको छ । अब त्यो सुन्दर करेसाबारी सिस्नोघारीमा परिणत हुँदै गएको छ ।
उता बुटवलको शंकरनगरलाई भने उनको वैदेशिक रोजगारीको कमाइले सुनमा सुगन्ध थपिएझैं गरी सजाएको छ ।
न्युजील्यान्ड पुगेको केही वर्षपछि सपरिवार शंकरनगरमा सरेपछि उनीहरूको पुरानो घरमा ताला लागेको हो । उनका छिमेकी उनीहरूको अभाव खट्किएको भन्दै उनीहरूलाई देख्न पाए पनि कस्तो होला भनेर प्रतीक्षा गरिरहेका छन् । त्यस्तै उनका अर्का भाइ महाशर्मा खरालका परिवार युकेमा छन् ।
उनलाई पनि युकेको कमाइले भेडुवा फाँटको सुन्दर घर छाडेर सहर छिर्ने बनाएको छ । उनले स–परिवार लिएर युकेकै बासिन्दा हुने तयारी गरेका छन् । १३ वर्ष भयो उनी युके पुगेको, तर घर आउने, पुरानो घर सजाउने र अरू खेतबारी थप्ने तथा गाउँ फर्कने कुरा उनीहरूले सोचेका पनि छैनन् ।
उनीहरूसहित वामी–९ मा बसाइँ सरेर जाने १० घरधुरी परिवारका दाजुभाइको कथाव्यथा एउटै छ । विदेशमा जाने त्यस गाउँका ४ सयभन्दा बढी युवामध्ये विभिन्न ठाउँमा घडेरी किने रे भन्ने खबरले गाउँ रित्तिने क्रमले तीव्रता पाउने निश्चित छ ।

बसाइँसराइ मुख्य समस्या
२०६८ सालको जनगणनाअनुसार २ सय २० घरधुरी जनसंख्या रहेको त्यस वडामा अहिले करिब ३ सय घरधुरी भइसकेका छन् । त्यति बाक्लो बस्ती हुँदा पनि जम्मा दुईवटा प्रावि मात्र छन् । स्वाथ्यचौकी पनि छैनन्, भित्री मोटरबाटा पनि सबै ठाउँमा पुगेका छैनन् । वैदेशिक रोजगारीबाट त्यति धेरै रेमिट्यान्स भित्रिने अवस्था हुँदा पनि त्यो तितरवितर भएर गाउँको विकास हुन नसकेपछि वामी–९ का युवाले अन्तराष्ट्रिय सम्पर्क समिति गठन गरी गाउँको विकास गर्ने उद्घोष गरेका छन् ।
वामी–९ मा मासिक साढे ४ करोडका दरले वार्षिक ५० करोडभन्दा बढी रेमिट्यान्स भिœयाउन सके त्यहाँका युवाले भोलिको दिनमा युरोप अमेरिकामा पाउने सुख सुविधा यही प्राप्त गर्न सक्ने निश्चित छ । सिङ्गो वामी गाविसमा जापानमा मात्रै प्रत्यक्ष रोजगारीमा करिब ७ सय जना र उनीहरूका परिवारसहित १ हजार जना रहेको वामी–९, अन्तर्राष्ट्रिय सम्पर्क समितिका अध्यक्ष दिलीप थापाले जानकारी दिए ।

छोराहरूको योजना सहर सजाउने, बूढापाकाको गाउ“ बनाउने
वैदेशिक रोजगारीमा जाने वामीवासी युवा सहरिया सुख–सुविधामा रहने क्रम बढ्दै गएपछि उनका वृद्ध अभिभावकहरू निकै चिन्तित छन् ।
उनीहरू छोराहरूलाई कसरी गाउँमा आकर्षित गर्ने भन्ने विषयमा केन्द्रित भएका छन् । वामी–९, शेराका डिलाराम खरेललाई आफ्ना पिता देउपति खरालको प्रतिष्ठा धान्नका लागि छोराहरू गाउँमै बसे हुन्थ्यो भन्ने लागेको छ ।
स्वर्गीय पिता देउपति हिजो त्यस गाउँका प्रतिष्ठित समाजसेवी थिए । उनको प्रतिष्ठा छोरा डिलारामले धाने पनि छोराहरू बसाइँ सरेपछि नधान्ने हुन् कि भन्ने चिन्ता छ । उनका छोरा नारायण खराल अस्ट्रेलियामा छन् । गाउँकै घर सजाओस्, सहरमा बसाइँ–सराइ नगरोस् भन्ने कामना उनका पिताको छ । शेराकै जीवलाल खरालका छोरा रामु खराल पनि जापानमै छन् । साविकको वामी–७, ठूलाखर्कका वोमनाथ लामिछानेका छोरा टंक लामिछाने पनि जापनमा छन् । वामी–९ होटल लाइनका कृष्णप्रसाद काफ्लेका छोरा रामु काफ्ले जापान छन् । उनीहरू सबको सपना पनि छोराहरूले गाउँ नै सजाइदिऊन् र आफ्नो शिर ठाडो पारिदिऊन् भन्ने छ ।
गुल्मीको स्थानीय निकाय निर्धारण प्राविधिक सहयोग समितिले वामीलाई मुसिकोट नगरपालिकाको केन्द्र भइसकेपछि भने वृद्धहरूलाई छोराहरूको मन गाउँमै फर्कने आशा पलाएको छ ।
शेरा, छुर्किन र भेडुवा फाँटका अभिभावकहरूको ठुलो सपना यही छ कि वामीटक्सारभन्दा अझ सहरीकरण यसै स्थानमा गर्न सकियोस् । वामीको वडा नम्बर ९ शेरा, छिमेकी कुर्घा–९ र पारी बडागाउँ–९ का जनता २०४६ पछि जुन दलका नेताले जिते पनि पछाडि परेको त्यहाँका बूढापाकाहरूको गुनासो छ ।
यी तीनवटै वडाका वैदेशिक रोजगारीमा रहेका युवाहरू मात्रै जुट्ने हो भने पाखीडाँडा, शेरा छुर्किन र भेडुवालाई एउटै बजारका रूपमा विकास गर्न सकिने अवधारणा यहाँका समाजसेवीहरूले अगाडि सारेका छन् । ती तीनवटा समथर फाँट जोडेर सहरीकरण गर्नका लागि बढिघाट खोलामा आकाशे पुल माग गरेको धेरै वर्ष भइसक्यो भन्छन् शेराका समाजसेवी वेदप्रसाद खराल ।
नेपाली कांग्रेस वामीका पार्टी सचिव डिलाराम खराल कुनै टोललाई मात्र ईङ्गित नगरेर ती तीनवटै वडा पहिलेदेखि नै पछाडि परेकाले त्यहाँका सबै बासिन्दाहरूलाई समेटेर बजारीकण गर्नुपर्ने धारणा राख्छन् ।
वामी–९ भित्र माध्यमिक विद्यालयलाई आवश्यक पर्ने विद्यार्थी संख्या हुँदाहुँदै पनि यता भुवाचिदी बजार र उता वामी टक्सार बजारका विद्यालयमा एक–डेढ घण्टाको बाटो हिँडेर पढ्न जान बाध्य छन् । दुईवटा प्रावि मात्रै रहेको र जनज्योति प्राविलाई निमावि बनाउने माग गर्दै आए पनि त्यहाँका समाजसेवी सफल हुन सकेका छैनन् । बढिघाट खोलामा आकाशे पुल बनाउनेबित्तिकै त्यहाँ क्याम्पससमेत सञ्चालन हुने र वामीभन्दा ठूलो बजार बन्ने निश्चित देखिएको छ ।
आफ्ना अभिभावकको सपना पूरा गराइदिन वैदेशिक रोजगारीमा रहेका छोराछोरीकै हात बढी देखिन्छ ।
स्थानीय तहको अवधारणा आइसकेपछि अब आफ्नै गाउँमा विकास–निर्माणका कार्य तीव्र गतिमा हुनेमा सबैको आशा छ । विकास–निर्माणका काम हुने तथा आफ्ना आवश्यकताहरू यहीं परिपूर्ति हुने भए यस क्षेत्रबाट अन्यत्र बसाइँ सर्नुपर्ने अवस्था चिर्न सहज हुने विश्वास स्थानीय बासिन्दाहरूको छ ।

अनिश शर्मा गैरे

प्रतिक्रिया दिनुहोस्