अलैंचीको मूल्य घटे पनि खेती बढ्दै «

अलैंचीको मूल्य घटे पनि खेती बढ्दै

तेह्रथुम-तेह्रथुमको ग्रामीण भेगमा अलैंची खेती गर्ने किसानको संख्या बढ्दै गएको छ । किसानले परम्परागत अन्नबाली मासेर अलैंची खेती विस्तार गर्दै गएका हुन् । अन्नबालीबाट राम्रो आम्दानी लिन नसकेका किसान खेतीयोग्य जमिन मासेर अलैंची खेती गर्न अग्रसर भएका हुन् ।
चार वर्षअघि प्रतिमन १ लाख रुपैयाँमाथी पुगेको अलैंचीको मूल्य भने बर्सेनि घट्दै गएको छ । भारतीय बजारमा निकासीमा समस्या भएसँगै अलैंचीको मूल्यमा गिरावट आएको अलैंची व्यवसायीहरु बताउँछन् ।
मूल्यमा निरन्तर गिरावट आए पनि किसानले अलैंची खेतीलाई विस्तार गर्न छाडेका छैनन् । पछिल्लो समय जिल्लाको ग्रामीण क्षेत्रमा रहेका पाखोबारी, खोलाखोल्सी, खेतीयोग्य जमिनका साथै करेसाबारीमा पनि अलैंची विस्तार भएको छ । लालीगुराँस नगरपालिकाकी लिला लिम्बु भन्छिन्, “मूल्य कमै भए पनि अन्नबालीभन्दा राम्रो आम्दानी हुने भएकाले हामीले अलैंची खेती नै रोजेका हौं ।” गतवर्ष प्रतिमन ४० हजार रुपैयाँमा अलैंची बिक्री गरेका यहाँका किसानले यस बर्ष पनि खेतीलाई विस्तार गरिरहेका छन् । सेपिलो र पानीको स्रोत भएको जमिनमा राम्रो उत्पादन हुने भएकाले किसानको रोजाइमा अलैंची खेती पर्दै आएको व्यवसायीहरु बताउँछन् ।
अलैंची बिक्रीबाट लाखौं आम्दानी गर्दै आएका किसानमा निराशा छाए पनि खेती विस्तार भने बढेको जिल्ला कृषि विकास कार्यालय तेह्रथुमले जनाएको छ । अलैंची खेतीलाई बगानको रुपमा विकास गर्दै यहाँका किसानले नर्सरी बिक्रीबाटै बर्सेनि लाखौं आम्दानी गरेको बताउने गरेका छन् । यहाँका अधिकांश किसानले ५ रोपनीदेखि ५० रोपनीसम्म अलैंची खेती गर्दै आएका छन । वर्षात्को सिजन सुरु भएसँगै अलैंचीको नर्सरी खरिद तथा बिक्री गर्दै किसानले खेतीलाई विस्तार गर्दै आएको फेदाप गाउँपालिकाका गजाधर दुलालले बताए ।
जिल्लाको साविकका ईवा, ह्वाकु, संग्रान्ती, खाम्लालुङ, सम्दु, ईसिबु ओयाक्जुङ, जलजले, सिम्ले, मोराहाङ श्रीजुङ, पौठाक, आङबुङ, जिरीखिम्ती, सोल्मा, सुङनाम फुलेक दाँगपा, बसन्तपुर सुदाप आङदिमलगायतका गाविसमा बगानको रूपमा अलैंची खेती विस्तार भएको छ । तेह्रथुममा ७ सय २३ हेक्टरमा अलैंचीको खेती हुँदै आएको छ ।

प्रतिक्रिया दिनुहोस्