साइबर सुरक्षासम्बन्धी योजना बनाउँदै बिमा कम्पनीहरू «

साइबर सुरक्षासम्बन्धी योजना बनाउँदै बिमा कम्पनीहरू

निर्जीवन बिमा कम्पनीहरूले साइबर सुरक्षासम्बन्धी बिमा योजना सञ्चालनमा ल्याउने तयारी गरेका छन् । बैंकहरूले साइबर सुरक्षासम्बन्धी बिमा योजनाको माग गर्न थालेपछि कम्पनीहरू पनि यसतर्फ अग्रसर भएका हुन् । सूचना प्रविधिले विकासमा जति टेवा पुर्याएको छ, त्यति नै जोखिम पनि बढ्दै गएको छ । पछिल्लो समय साइबरसम्बन्धी अपराधका गतिविधि बढ्न थालेका छन् । गत कात्तिकमा एनआईसी एसिया बैंकमा भएको स्वीफ्ट ह्याक (अन्तर्राष्ट्रिय कारोबार गर्ने एक बैंकबाट अर्कोमा रकम स्थान्तरण गर्ने विद्युतीय प्रणाली वा सफ्टवेयरको चोरी) भएपछि नेपाली बैंकहरूले सतर्कता अपनाउन थालेका छन् । भविष्यमा हुन सक्ने यस्ता खालका घटनाबाट सुरक्षित रहन बैंकहरूले बिमालेख खरिद गर्न चासो देखाएकोे विमकहरू बताउँछन् ।
एनआईसी एसिया बैंकको घटनापछि बिमा कम्पनीहरूलाई पनि सतर्कता अपनाउन बिमा समितिले सुझाव दिएको छ । त्यस्तै, समयको मागसँगै प्रविधिमा देखिएका यस्ता खालका जोखिम रक्षावरणका लागी साइबर सुरक्षासम्बन्धी बिमा योजना निर्माण गर्नसमेत कम्पनीहरूलाई सुझाव दिइएको समितिका निर्देशक राजुरमण पौडेलले बताए । “हामीले कम्पनीलाई योजनाको खाका ल्याउनुहोस् भनेका छौं, कम्पनीहरूले ल्याएका योजना उचित लागेमा सञ्चालन गर्न अनुमति दिन्छौं,” उनले भने । चारैतिर बढ्दै गएको प्रविधिको जोखिमलाई न्यूनीकरण गर्न यो योजना अति आवश्यक रहेको उनले बताए ।
कम्पनीहरू पनि योजना निर्माणको प्रक्रियामा सक्रिय देखिएका छन् । तर, साइबरसम्बन्धी अपराध अति जोखिमपूर्ण भएकाले तत्कालै योजना सञ्चालनमा ल्याउन कठिन हुने शिखर इन्स्योरेन्स कम्पनीका प्रमुख कार्यकारी अधिकृत दिपप्रकाश पाण्डेले बताए । “यस्तो खालको अपराध मानिसबाटै हुन्छ । त्यसैले पनि यो अति जोखिमपूर्ण छ । तसर्थ हामी यसको विस्तृत अध्ययन गर्दैछौं । अध्ययनपछि हामी निकट भविष्यमा नै योजना निर्माण गर्नेछौं,” उनले भने ।
साइबर सुरक्षासम्बन्धी बिमा गर्न ब्रोकहरूले प्रस्ताव गरिरहेको लुम्बिनी जनरल इन्स्योरेन्सका नायव प्रमुख कार्यकारी अधिकृत विनोदकाजी श्रेष्ठले बताए । तर, अहिलेकै अवस्थामा बिमा योजना सञ्चालन गरिनु जोखिमपूर्ण हुने उनले बताए । “नेपालमा साइबरसम्बन्धी पर्याप्त ऐन कानुन छैनन् । यही अवस्थामा योजना जारी गर्न कठिन छ । तर, पनि आवश्यक सर्तहरू राखेर योजना जारी गर्न सकिन्छ,” उनले भने ।
अन्तर्राष्ट्रिय क्षेत्रमा साइबर सुरक्षासम्बन्धी बिमा योजना पहिलेदेखि नै सञ्चालनमा आए पनि नेपालमा भने हालसम्म कम्पनीहरूले यस्तो खालको योजना जारी गरेका छैनन् । साईबरसम्बन्धी अपराधको अध्ययन गर्न नेपालमा दक्ष प्राविधिक नभएकाले पनि कम्पनीहरूले योजना जारी गर्न हिचकिचाएका हुन् । तर, केही बिमा कम्पनीले बैंकहरूले जारी गर्ने क्रेडिट कार्डको भने बिमा गर्दै आएका छन् ।

प्रतिक्रिया दिनुहोस्