प्रदूषण मापदण्डै नभएको रनर मोटरसाइकल नेपालमा «

प्रदूषण मापदण्डै नभएको रनर मोटरसाइकल नेपालमा

•२०७३ देखि रनर मोटरसाइकल बिक्री भइरहेको 
•यस्ता सवारी भित्रिँदा गम्भीर वातावरणीय असर

मुलुकमा सवारीसाधन आयात गर्दा ‘नेपाल सवारी प्रदूषण मापदण्ड, २०६९’ (यूरो थ्री समानस्तर) पूरा गरेको हुनुपर्ने प्रावधान छ । तर, बंगलादेशको मोटरसाइकल रनरको भने कुनै प्रदूषणस्तर नै नभएको खुलेको छ । बंगलादेश सरकारले हालसम्म प्रदूषण मापदण्ड नै कायम नगरेकाले यसको गुणस्तरका सम्बन्धमा प्रश्न उठेको हो । प्रदूषण मापदण्ड नै नभएको देशमा बनेको मोटरसाइकल यूरो थ्री स्तरको मापदण्ड लागू भएको नेपालमा भित्र्याइ बिक्री गरेको तथ्य फेला परेको छ । भारतबाट आयात हुने सवारीसाधनले बीएस थ्री (यूरो–थ्रीसरह) प्रमाणित सर्टिफिकेट बुझाएपछि यातायात व्यवस्था विभागले प्रदूषणस्तर ठिक छ भनेर आयातको अनुमति दिन्छ ।
तर, बंगलादेशमा उत्पादित रनर मोटरसाइकल कम्पनीले आफ्नै स्ट्याण्डर्ड बुझाएकै भरमा यूरो–थ्री सरह छ भनेर आयात अनुमति पाएको छ । सवारीसाधनको प्रदूषणस्तर स्तरोन्नति गरी यूरो–फोर लागू गर्ने तयारी भइरहेका बेला यस्तो तथ्य बाहिर आएको हो । कारोबारलाई प्राप्त डकुमेन्टमा रनर मोटरसाइकल नेपाल भित्र्या उँदा बंगलादेशमा यूरो मापदण्ड नभएकाले रनर कम्पनीले नै पठाएको कागजातका आधारमा नेपाल सवारी प्रदूषण मापदण्ड २०६९ (यूरो–थ्री समानस्तर) भएको प्रमाणित गरी आयातको अनुमति दिइएको छ । यातायात व्यवस्था विभागका तत्कालिन प्राविधिक निर्देशक गोविन्दप्रसाद खरेलले रनर कम्पनीले उपलब्ध गराएको प्रदूषण परीक्षणकै आधारमा आयात अनुमति दिएको देखिन्छ । विभागले दिएको अनुमति पत्रमा ‘रनर अटोमोबाइल्स बंगलादेशले उत्पादन गरेका सवारी साधनहरू नेपाल सवारी प्रदूषण मापदण्ड, २०६९ (यूरो थ्री समानस्तर) भित्र रहेको हुँदा दर्ता एवं अन्य कारबाही गरि पाऊँ भनी पेश गरिएका निवेदन एवं काजगातहरू उपर कारबाही हुँदा देहायका उल्लेखित सवारी साधनहरू नेपाल सवारी प्रदूषण मापदण्ड २०६९ भित्र रहेको पाइएकाले भन्सार प्रज्ञापनपत्र लगायत अन्य कागजात जाँच गरी दर्ता गर्ने सम्बन्धमा २०७३ भदौ १९ को निर्णयअनुसार सबै कार्यालयहरूलाई अनुरोध गरिन्छ’ भन्ने उल्लेख गरिएको छ । 
सवारी प्रदूषण मापदण्ड नै नपुगेका सवारी आयात गर्न दिनु गम्भीर अपराध गरेजस्तै भएको वातावरण मन्त्रालयका एक अधिकारीले भने । “सम्बन्धित देशको तोकिएको निकायले प्रमाणित गरेको काजगात पेश गरेपछि मात्र सवारी दर्ता गर्न पाइन्छ,” ती अधिकारीले भने, “कम्पनीको कागजातका आधारमा मात्र सवारी दर्ता गर्न दिनु भनेको ठूलो बेइमानी हो ।” सवारी आयात गर्दा नेपाल सवारी प्रदूषण मापदण्ड २०६९ लागू भएपछि त्यसभन्दा कम स्तरको सवारी आयात गर्न नपाइने कानुनी व्यवस्था उल्लंघन गर्दै आयात भएको पाइएको हो । नेपालले एउटा मापदण्ड लागू गरेपछि त्योभन्दा कम हुने गरी सवारी आयात गर्न दिन नहुने वातावारणविद् भुषण तुलाधरले बताए । “प्रदूषण मापदण्ड देशले आवश्यकताअनुसार तोकेको हुन्छ । सवारी उत्पादकहरूलाई टाइप अप्रुभल र कन्फर्मिटी अफ प्रोडक्सन (सीओपी) दिइन्छ,” उनले भने, “भारतमा अटोमोटिभ रिसर्च एसोसिएसन अफ इन्डिया (एआरएआइ) सर्टिफाइ गरेपछि सवारी प्रदूषण प्रमाणित हुन्छ । तर बंगलादेशमा के व्यवस्था छ भन्ने थाहा भएन ।” तर, नेपालमा ल्याइने सवारी सम्बन्धित देशको आधिकारीक निकायले प्रमाणित गरेको र यूरो थ्री (नेपाल सवारी प्रदूषण मापदण्ड २०६९) सरह हुनुपर्ने उनको भनाइ छ । यस्ता सवारी भित्रिँदा गम्भीर वातावारणीय असर पर्ने तुलाधरले बताए । 

प्रतिक्रिया दिनुहोस्