नेपालले जलवायु परिवर्तनको क्षतिपूर्ति दाबी गर्ने «

नेपालले जलवायु परिवर्तनको क्षतिपूर्ति दाबी गर्ने

काठमाडौं-नेपालले अन्तर्राष्ट्रिय समुदायमा जलवायु परिवर्तनको क्षतिपूर्ति दाबी गर्ने भएको छ । विश्वव्यापी जलवायु परिवर्तनमा योगदान कम भए पनि त्यसको असरबाट प्रभावित मुलुकको अग्रस्थानमा परेकाले अन्तर्राष्ट्रिय फोरममार्फत नेपालले विश्व समुदायको ध्यानाकर्षण गराउने भएको छ ।
वन तथा वातावरणमन्त्री शक्तिबहादुर बस्नेतले विश्वव्यापी जलवायु परिवर्तनको असरबाट अतिप्रभावित मुलुकका नाताले त्यसको क्षतिपूर्ति दाबी गरिने बताए । नेपालका लागि बेलायती राजदूत रिचर्ड मोरिससँग बिहीबार मन्त्रालयमा भएको भेटमा मन्त्री बस्नेतले जलवायु परिवर्तनमा नेपालको कुल योगदान ०.०२७ प्रतिशत भए पनि प्रभावित मुलुकको अग्रपंक्तिमा नाम आउनु विडम्बनापूर्ण रहेको चर्चा गरेका थिए । उनले यसबारे विश्व समुदायले गम्भीर भएर सोच्नुपर्ने बताए ।
“ग्लोबल वार्मिङमा हाम्रो योगदान ज्यादै कम छ,” मन्त्री बस्नेतले भने, “तर, त्यसबाट प्रभावित मुलुकको सूचीमा नेपालको नाम अग्रस्थानमा छ ।” जलवायु परिवर्तनका कारण हरेक वर्ष नेपालका हिमालयमा हिउँको तह पातलिँदै जानुका साथै वर्षायाममा पहाडमा पहिरो तथा भू–क्षय र तराई क्षेत्रमा बाढीको प्रकोप बढ्दै गएको उनको भनाइ छ । बस्नेतले वन्जयन्तुको बासस्थान लोप हुँदा मानव वन्यजन्तु द्वन्द्व बढेको भन्दै अन्तर्राष्ट्रिय समुदायको ध्यानाकर्षण गराउन चाहेको बताए । “बेलायतले नेपालको विषयमा अन्तर्राष्ट्रिय फोरममा कुरा उठाइदियोस,” उनले भने ।
जलवायु परिवर्तनका कारण संसारभर मानिस, जनावर तथा वन्यजन्तुको जीवनशैली तथा आनिबानीमा आमूल परिवर्तन आइरहेको तथ्यलाई ध्यान दिँदै असर न्यूनीकरणका लागि गर्ने प्रयासको प्राथमिकता निर्धारण गरी योजनाबद्ध रूपमा काम गरिनुपर्नेमा बस्नेतले जोड दिए । जलवायु परिवर्तनको असर न्यूनीकरणका लागि नेपालले बृहत्तर वृक्षरोपण तथा वातावरण संरक्षणको दीर्घकालीन योजना निर्माण गरेर काम थालेको उनको भनाइ छ ।
राजदूत मोरिसले नेपालले वन्यजन्तु संरक्षणका क्षेत्रमा हात पारेको उपलब्धि विश्वकै लागि उदाहरणीय भएको चर्चा गरेका छन् । उनले वन्यजन्तु संरक्षणका क्षेत्रमा आफ्ना दुई छिमेकी भारत तथा चीनसँग सहकार्य गर्न नेपाललाई सुझाव दिएका छन् । वन्यजन्तुको अवैध कारोबार तथा निकासी रोक्न सबै मिलेर काम गर्नुपर्नेमा जोड दिँदै राजदूत मोरिसले आफ्नो सरकारले वन्यजन्तुको अवैध कारोबारमा प्रयोग भइरहेको आर्थिक स्रोतको खोजी गरिरहेको र नेपालमा पनि त्यस्तो रकम कहाँबाट भित्रिने गरेको छ भन्नेबारे तथ्य संकलन गर्न सुझाव दिएका छन् । त्यस अवसरमा राजदूत मोरिसले आगामी ११ र १२ अक्टुबरमा लन्डनमा हुने ‘वन्यजन्तुको गैरकानुनी व्यापारसम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलनमा नेपाली प्रतिनिधि मण्डलको नेतृत्व गरेर सहभागी भइदिन मन्त्री बस्नेतलाई निमन्त्रणासमेत दिएका छन् ।

प्रतिक्रिया दिनुहोस्