Logo

मोबाइल नेटवर्कमा पनि लोडसेडिङ

रुकुम-रुकुम पूर्वको सदरमुकाम रुकुमकोटमा रहेको नमस्तेको टावरमा बेला–बेला समस्या आउने गरेको छ । जिल्लाको सिस्ने गाउँपालिका–५ पोखरी डाडामा रहेको नेपाल टेलिकमको टावरमा समस्या आउँदा सदरमुकामकै ग्राहक मर्कामा परेका छन् ।
बिगत ४ वर्षदेखि उक्त टावरमा खराबी आउदा रुकुम पूर्व सदरमुकामसहित अन्य स्थानका बासिन्दाहरू सञ्चार क्षेत्रबाट प्रभावित बनेको स्थानीय मदन बिसीले बताए । ०७० सालमा उक्त टावर निर्माण भएको थियो । स्थानीयहरूका अनुसार निर्माण भएको करिब १ वर्षसम्म २४ घन्टासम्म राम्रोसँग चले पनि त्यसदेखि यता प्रभावकारी काम गरेको छैन । सोलारको ब्याट्रीमा आएको समस्या भन्दै अहिले दैनिक करिब १० घण्टासम्म मात्र टावर सञ्चालन हुँदै आएको छ भने बाँकी समय लोडसेडिङ हुँदै आएको छ ।
हिउँदमा उक्त टावर २४ सै घन्टा सञ्चालनमा आए पनि वर्षायाममा बर्सेनि यस्तै समस्या देखिने गरेको छ । घाम नलाग्ने र सोलारका ब्याट्री चार्ज नहुने भएकाले मुस्किलले दैनिक बिहान ८ बजेदेखि साँझ ६ बजेसम्म १० घण्टा टावर सञ्चालन हुने टावरको रेखदेख गर्दै आएका स्थानीय रामबहादुर सुनारले जानकारी दिए । उनका अनुसार २४ सै घण्टा टावर सञ्चालन गर्न र टावर तथा सोलारका पाता संरक्षणका लागि वरिपरिको स्थान घेराबार गर्न पटक–पटक नेपाल दूरसञ्चार केन्द्रीय कार्यालय काठमाडौंमा अनुरोध गरे पनि कुनै सुनुवाइ भएको छैन ।
“उक्त टावरलाई २४ सै घन्टा सञ्चालन गर्नको गाउँपालिकामार्फत विद्युत्को पहल गरे पनि विद्युत् अनियमितताका कारण पनि प्रभावकारी भएको छैन,” स्थानीय अर्जुन बुढाथोकीले भने, “करिब १० घन्टा मात्र टावर सञ्चालन हुदा स्थानीयलाई साँझको समयमा जति महत्वपूर्ण काम गरे पनि फोन र इन्टरनेट चलाउन निकै अप्ठ्यारो भएको छ ।” जिल्ला सदरमुकामकै टेलिफोन टावरको अवस्था यस्तो बिजोक हुनु दुखत कुरा भएको स्थानीय सञ्चारकर्मी सर्जना कार्की बताउँछिन । “हिजोआज वर्षातको समय भएका कारण कहाँ के भयो साँझ बिहान फोनमार्फत आफन्तहरूको जानकारी बुझ्नु पर्ने भए पनि टेलिफोन टावरमा भएको लोडसेडिङले समस्या बनाएको छ,” उनले भनिन्, “जिल्लामा प्रभावकारी सञ्चारको संरचना बनाउन आवश्यक छ ।”
रुकुम पूर्व नयाँ जिल्ला बने पनि हालसम्म दूरसञ्चार कार्यालय स्थापना भएको छैन । केही दिनअघि उद्योग वाणिज्य संघ रुकुमकोट जिल्ला समन्वय समितिमार्फत टेलिकमसहितका अन्य सरकारी कार्यालयहरू स्थापना तत्काल गर्न मागपत्रसमेत बुझाएको छ । यो टावरसँगै रुकुम पूर्वमा नेपाल टेलिकमका भुमे गाउँपालिका–४ सेपे, पुथाउत्तरगङ्गा १ हुकाम र पुथाउत्तरगंगाकै बिर्गुममा टावर छन् । यी सबै टावर सोलारबाट सञ्चालन हुँदै आइरहेका छन् ।

प्रतिक्रिया दिनुहोस्