कार्यदल बनाउने निर्णयको एनआरएनएद्वारा स्वागत «

कार्यदल बनाउने निर्णयको एनआरएनएद्वारा स्वागत

वैदेशिक रोजगार सञ्चय कोष गठनश्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले वैदेशिक रोजगार सञ्चय कोष गठनका लागि कार्यदल बनाउने निर्णयको गैरआवासीय नेपाली संघले स्वागत गरेको छ । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री गोकर्ण विष्टको सकारात्मक भूमिकाप्रति आभार प्रकट गर्दै गैरआवासीय नेपाली संघले वैदेशिक रोजगारीमा गएका कामदारको हक हितका लागि वैदेशिक रोजगार सञ्चय कोष स्थापना गर्न केही वर्षदेखि गरेको प्रयास सफल भएको जनाएको छ ।
गैरआवासीय नेपाली संघ र कर्मचारी सञ्चय कोषबीच वैदेशिक रोजगारमा रहेका कामदार कर्मचारीलाई कोषको दायरामा ल्याउने विषयमा २०७३ साल असार १० गते समझदारीपत्रमा हस्ताक्षर भएको थियो । सो समझदारीपत्रमा भएका सर्त तथा अवस्थालाई अक्षरशः पालन गर्न विगत दुई कार्यकालमा कार्यदल गठन भई आवश्यक काम कारवाही भइरहेको छ । साथै गैरआवासीय नेपाली संघको पहलमा कर्मचारी सञ्चय कोष, वैदेशिक रोजगार सञ्चय कोष सञ्चालन नियमावली, २०७३ को मस्यौदा तयार गरिएको थियो । गैरआवासीय नेपाली संघले पटक–पटक गरेको पहल अनुरूप आएको मन्त्रालयको कार्यदल गठन गर्ने निर्णयबाट निकै उत्साह मिलेको संघले जनाएको छ ।
हजारे अभियानका नाममा गैरआवासीय नेपाली संघले प्रस्ताव गरेको अभियानलाई श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले तदारुकताका साथ निकट भविष्यमा कार्यान्वयनमा ल्याउने अपेक्षा पनि संघले गरेका छ । यस कदमले वैदेशिक रोजगारीमा गएका नेपाली कामदारको सामाजिक सुरक्षाको प्रत्याभूति गर्नुका साथै कामदारको बचतको बानी बसाल्नेछ भन्दै संघले यस कोषमा गरिएको बचत मार्फत कामदारले भविष्यमा कुनै पनि प्रकारको आर्थिक संकटको सामना गर्नुपर्ने छैन र साथै देशले पनि यसबाट संकलित रकमलाई जलविद्युत्, कृषि लगायतका अन्य विकासका क्षेत्रमा लगानी गर्न सक्ने पनि बताएको छ ।
विदेशी नियोगमार्फत विदेशमा पुनः श्रमस्वीकृति कार्यान्वयनमा लाने, श्रम सीप बैंक स्थापना गर्ने, विदेशस्थित नियोगबाट मागपत्रको अनुगमन गर्ने र अनलाइन प्रणाली मार्फत विभिन्न निकायलाई जोडी कामदार र सरकारी निकायबीच समन्वय गराउने तर्फ सकारात्मक पहल भएकोमा संघले सरकारप्रति आभार प्रकट गरेको छ ।
छोटो समयमा नै वैदेशिक रोजगारको क्षेत्रको सुधारका लागि नेपाल सरकारबाट पछिल्लो समयमा भएका विभिन्न महत्वपूर्ण निर्णयले विदेशमा रहेका नेपाली कामदारलाई निकै उत्साह मिलेको भन्दै गैरआवासीय नेपाली संघले यसप्रकारको महत्वपूर्ण कदमहरूको सधैं स्वागत गर्ने तथा आवश्यक क्षेत्रहरूमा सहयोग र सहकार्यका लागि प्रतिबद्धता पनि प्रकट गरेको छ ।

प्रतिक्रिया दिनुहोस्