धानको समर्थन मूल्यले अवैध निर्यातको जोखिम «

धानको समर्थन मूल्यले अवैध निर्यातको जोखिम

प्रशासन लगाएर अवैध धान निर्यात रोकिन्छः मन्त्रालय

सरकारले निर्धारण गरेको धानको न्यूनतम समर्थन छिमेकी मुलुक भारतभन्दा प्रतिक्विन्टल ४ सय ६० रुपैयाँसम्म सस्तो रहेको पाइएको छ । नेपालमै पहिलो पटक तोकिएको धानको समर्थन मूल्य खुला सिमाना रहेको भारतसँग मूल्यअन्तर हुँदा धानको अवैध निर्यात जोखिम देखिएको हो ।
मन्त्रिपरिषद्ले गरेको निर्णयअनुसार मूल्य मध्यम धानको भारतभन्दा प्रतिक्विन्टल ३ सय ७२ रुपैयाँ ५७ पैसा सस्तो रहेको छ भने मोटा धानको मूल्य प्रतिक्विन्टल ४ सय ६९ रुपैयाँ २२ पैसा सस्तो हो । “पहिलोपटक धानको समर्थन मूल्य तोकिनु निकै सह्रानीय छ, तर भारतीय मूल्यसँग समान नहुनुले खाद्यान्न बजारमा असन्तुलन आउने जोखिम देखिन्छ,” पूर्व कृषिसचिव उत्तमकुमार भट्टराई भन्छन्, “खुला सीमामात्र हैन हाम्रो सामाजिक आर्थिक सम्बन्धका कारण पनि थोरै मुनाफा कमाउनेहरू हावी हुने सम्भावना रहन्छ, यसो हुँदा अनौपचारिक रूपमा नेपालको धान भारत जाने र महंगोमा उताबाट चामल भित्र्या उने प्रवृत्तिलाई टेवा पुग्छ ।” सरकारले भारतसँग मूल्य सन्तुलन कायम गर्नुपर्ने र अनौपचारिक तथा अवैध आयात निर्यातलाई कडाइ गरेमा मात्र व्यापार घाटा सन्तुलन गर्न सकिने उनको सुझाव छ ।
गतसाता बसेको मन्त्रिपरिषद् वैठकले वर्षे धानको न्यूनतम समर्थन मूल्य मोटा धानको २ हजार ३ सय ३१ रुपैयाँ २२ पैसा र मध्यम धानको मूल्य २ हजार ४ सय ६० रुपैयाँ ५७ पैसा तोकेको हो । कृषि तथा पशुपंक्षी विकास मन्त्रालयको सिफारिसअनुसारको मूल्यमा सरोकारवाला मन्त्रालयको सहमति जनाइ उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले मन्त्रीपरिषदमा पेश गरेको थियो । विगतका वर्षहरूमा पनि समर्थन मूल्य तोक्नका लागि कृषि मन्त्रालयले पटकपटक मूल्य सिफारिस गर्दै आए पनि तत्कालीन वाणिज्य तथा आपूर्ति मन्त्रालय र अर्थ मन्त्रालयको सहमति जुट्न नसक्दा मन्त्रिपरिषद्मा पेशसमेत हुन सकेको थिएन । पहिलो पटक धानको समर्थन मूल्य तोकिँदा कृषकमा उत्साह थपिएको छ । “किसानको लागि यो निकै महत्वपूर्ण र खुसीको खबर हो, कार्यान्वयनमा भने सरकार गम्भीर बन्नुपर्छ,” राष्ट्रिय कृषक समूह महासंघका अध्यक्ष उद्धव अधिकारीले भने ।
भारतमा मोदी सरकारले यो वर्ष धानको मूल्य सबैभन्दा बढी प्रतिक्वीन्टल २ सय रुपैयाँ बढाएको छ । अघिल्लो वर्ष प्रतिक्विन्टल भारु १ हजार ५ सय ५० रुपैयाँँ रहेको सामान्य धानको मूल्यमा प्रतिक्विन्टल २ सयले वृद्धि गरि यो वर्ष भारु १ हजार ७ सय ५० अर्थात् नेपाली २ हजार ८ सय रुपैयाँ पु-याएको छ । त्यसैगरी ‘ए’ ग्रेड धानमा यसअघि १ हजार ५ सय ९० रुपैयाँ रहेकोमा १ सय ८० रुपैयाँ प्रतिक्विन्टल बढाएर १ हजार ७ सय ७० अर्थात नेपाली २ हजार ८ सय ३२ पु-याइएको छ । भारत सरकारले धानलगायत कपास, मुंग दाल, सूर्यमुखी तेल, बदाम, सोयाविन, रहर दाललगायतका दर्जनौं कृषि उपजको समर्थन मूल्य तोक्दै आएको छ भने सोहीअनुसार खरिद गरेर रासन कार्डमार्फत वितरण गर्ने प्रणाली लागू गरिरहेको छ ।
उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले भने समर्थन मूल्यअनुसार धान खरिद गर्न तयारी गरिरहेको र हुन सक्ने अवैध निर्यात प्रसासन लगाएर भए पनि रोक्ने बताएको छ । मन्त्रालले सहसचिव नवराज ढकालको संयोकत्वमा धान खरिद तथा व्यवस्थापनका विषयमा मोडालिटी तयार गर्न समिति गठन गरिएको छ । “हामीले बाली भित्र्या उने समयमा खरिद गर्न आवश्यक सबै तयारी तथा मोडालिटिको काम गरिहरेका छौं,” उनले भने, “भारत र यहाँको मूल्य अन्तरका कारण हुन सक्ने सम्भावित अवैध व्यापार रोक्न गृह मन्त्रालयसँगको सहकार्यमा हामीले कदम चाल्नेछौं ।” उनले खरिद गरिने धान राख्नका लागि खाद्य संस्थान र नेशनल टे«डिङका गोदाम विस्तार गरिने र आवश्यक परे गोदाम भाडामा लिएर भए पनि किसानको धान तोकिएको मूल्यमा खरिद गरिने बताए ।

“पहिलोपटक धानको समर्थन मूल्य तोकिनु निकै सह्रानीय छ, तर भारतीय मूल्यसँग समान नहुँनुले खाद्यान्न बजारमा असन्तुलन आउने जोखिम देखिन्छ । त्यसैले अवैध आयात–निर्यातमा कडाइ गर्नुपर्छ ।
उत्तमकुमार भट्टराई, पूर्व कृषिसचिव

बाली भित्र्या उने समयमा खरिद गर्न आवश्यक सबै तयारी तथा मोडालिटिको काम गरिहरेका छौं, भारत र यहाँको मूल्यअन्तरका कारण हुनसक्ने अवैध व्यापार रोक्न गृह मन्त्रालयसँग सहकार्य गर्नेछौं,”
नवराज ढकाल
सहसचिवः उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय

प्रतिक्रिया दिनुहोस्