Logo

संखुवासभाका ४ नगरद्वारा ५० बेडको आइसोलेसन निर्माण प्रक्रिया सुरु

संखुवासभा जिल्लाका ४ नगरपालिकाले ५० बेडको आइसोलेसन कक्ष बनाउने तैयारी गरेका छन् । संखुवासभामा पछिल्लो समय कोरोना फैलने क्रम तीव्र भएको भन्दै ५ सदस्यीय आईसोलेसन कक्ष निर्माण समिति गठन गरी तत्कालै आइसोलेसन निर्माणको प्रारम्भ गर्ने निर्णय गरिएको चैनपुर नगरपालिकाका प्रमुख भरतकुमार खत्रीले जानकारी दिए ।
संखुवासभाका ४ नगरपालिकाको अगुवाईमा चैनपुर नगरपालिकाको वडा नं. ६ मा रहेका २ वटा पार्टीका भवनहरूमा ५० बेडको आइसोलेसन कक्ष निर्माण गर्ने निर्णय गरिएको चैनपुर नगरप्रमुख खत्रीले बताए ।
उनले प्रमुख जिल्ला अधिकारी जीवनप्रसाद आचार्यसहित आयोजित सर्वपक्षीय सर्वदलीय भेलाले प्राथमिक स्वास्थ्य केन्द्र चैनपुरका मेडिकल अधिकृत रुपेश कर्णको संयोजकत्वमा ५ सदस्यीय आइसोलेसन कक्ष निर्माण समिति गठन गरी निर्माण सुरु गरिएको जानकारी दिए ।
समितिका सदस्यहरूमा नेकपाका तर्फबाट उमेशकुमार डाँगी, नेपाली कांग्रेसका तर्फबाट ज्ञानबहादुर कार्की, इलाका प्रहरी कार्यालय चैनपुरका प्रमुख उपेन्द्र खरेल र सदस्य सचिव चैनपुर नगर स्वास्थ्य शाखा प्रमुख नरबहादुर श्रेष्ठ रहेको जानकारी दिए ।
बैठकमा पाँचखपन नगरपालिकाका नगर प्रमुख विपिनकुमार राई, धर्मदेवी नगरपालिकाका नगर प्रमुख रमेश जिमी र मादी नगरपालिकाका नगर प्रमुख विदुरकुमार सुब्बाले आइसोलेसन निर्माणमा ४ वटा नगरपालिकाले संयुक्त रुपमा लगानी गरिने जानकारी दिए ।
जिल्ला सदरमुकाम खाँदबारीमा आइसोलेसन निर्माणमा अवरोध र ढिलासुस्ती रहेकाले थप संक्रमितलाई राख्न चैनपुर स्थित नेकपाको नवनिर्मित मदन आश्रित भवन र नेपाली कांग्रेसको बीपी गणेशमान स्मृति भवनमा ५० बेडको आइसोलेसन निर्माण सुरु गरिएको बताए । चैनपुर नगरपालीकामा बुधबार सर्वदलीय सर्वपक्षीय बैठकले कोरोना संक्रमित भई मृत्यु भएका नागरिकको शव सुरक्षित व्यवस्थापनका लागि पिलुवा अरुण दोभानस्थित घाटलाई नै व्यवस्थित गरिने निर्णय भएको समेत जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्