‘असफल’ अर्थमन्त्री खतिवडा बाहिरिने «

‘असफल’ अर्थमन्त्री खतिवडा बाहिरिने

अढाई वर्षपछि अर्थमन्त्रीको कुर्सीबाट डा. युवराज खतिवडा बाहिरिने भएका छन् । प्रधानमन्त्री केपी शर्मा ओलीले रुचाए पनि पार्टीभित्रको राजनीतिक सन्तुलन मिलाउन नसक्दा ओलीले खतिवडा जोगाउन सकेनन् । बिहीबार बसेको नेकपा सचिवालय बैठकले बर्दियाबाट संसदीय निर्वाचनमा पराजीत वामदेव गौतमलाई राष्ट्रियसभा सदस्यमा पठाउने निर्णय गरेसँगै खतिवडाको ‘च्याप्टर क्लोज’ भएको हो । सचिवालय बैठकले यस्तो निर्णय गरे पनि राष्ट्रियसभामा रिक्त सदस्य पदमा मन्त्रिपरिषद्ले निर्णय गरेर राष्ट्रपतिसमक्ष पठाउनुपर्ने हुन्छ । संविधानअनुसार राष्ट्रिय जीवनमा ख्याती कमाएका र समाजमा योगदान पु-याएकामध्येबाट तीन जनालाई मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपतिले राष्ट्रियसभामा मनोनयन गर्ने व्यवस्था छ र
खतिवडा पछिल्लो ६ महिनायता संसद् सदस्यसमेत थिएनन् । संसद सदस्य नभएको व्यक्ति ६ महिनासम्म मन्त्री बन्नसक्ने तर त्यस अवधिमा संघीय संसद्को सदस्यता प्राप्त गर्न नसके स्वतः पदमुक्त हुने प्रावधान छ । यसरी २ वर्ष राष्ट्रियसभा सदस्य रहेर तथा ६ महिना संवैधानिक छिद्रबाट मन्त्री भएका खतिवडाको पार्टीभित्र चर्को आलोचना भए पनि प्रधानमन्त्रीले भने विश्वास गर्दै आएका थिए । आफ्ना अर्का विश्वासपात्र मन्त्री गोकुल बाँस्कोटा ७० करोड भ्रष्टाचारसम्बन्धी एक मुद्दामा फसेसँगै दिएको राजीनामा स्वीकृत गरी प्रधानमन्त्री ओलीले सञ्चार तथा सूचना प्रविधिजस्तो महत्वपूर्ण मन्त्रालयको जिम्मेवारी पनि खतिवडालाई नै सुम्पेका थिए ।
पहिलोपटक अर्थमन्त्रीबाट बिदा भएको भोलिपल्टै राष्ट्रपतिबाट अर्थमन्त्रीको शपथ लिएर छ महिनाका लागि खतिवडा दोस्रो पटक अर्थमन्त्री बनेको खतिवडाको कार्यकाल शनिबार सकिँदैछ । पार्टीभित्रको आन्तरिक विवाद र गुटभित्रै पनि खतिवडाको विपक्षमा माहोल खडा भएपछि प्रधानमन्त्री केपी शर्मा उनलाई निरन्तरता नदिनेगरी राष्ट्रियसभामा वामदेव गौतमलाई लैजाने पक्षमा लचिलो भएका छन् । नेकपा सचिवालय वैठकपछि प्रवक्ता नारायणकाजी श्रेष्ठले गौतमलाई राष्ट्रियसभामा लैजाने पुरानो निर्णय कार्यान्वयनका लागि पुनः निर्णय गरिएको जानकारी दिए । नेकपाका अर्का अध्यक्ष पुष्पकमल दाहालदेखि वरिष्ठ नेताहरू झलनाथ खनाल, माधवकुमार नेपालमात्र नभइ ओलीकै पक्षका महासचिव विष्णु पौडेलसमेत खतिवडाको निरन्तरताको पक्षमा थिएनन् ।
संवैधानिक रुपमा भदौ २० गतेसम्म अर्थमन्त्री कायम रहने खतिवडाको बहिर्गमनको चर्चासँगै अब नयाँ अर्थमन्त्री कसलाई बनाउने भन्ने सत्तारुढ पार्टी भित्र जोडघटाउ सुरु भइसकेको छ । अर्थमन्त्रीमा पूर्व अर्थमन्त्रीद्वय सुरेन्द्र पाण्डे र विष्णु पौडेलदेखि पूर्व माओवादी समूहका जनार्दन शर्मासम्मको चर्चा छ । गौतमले पनि अर्थमन्त्रीमै दावी गरिरहेका छन् भने उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेल, परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीलगायतले पनि अर्थमा जाने चाहना व्यक्त गरेका छन् । राष्ट्रपतिबाट राष्ट्रियसभामा मनोनित डा. विमला पौड्यालको पनि अर्थमन्त्रीमा चर्चा छ ।
खतिवडाले भने पार्टीको आन्तरिक जोडघटाउमा आफूलाई मुछेर बदनाम गर्न खोजेको भन्दै करिब एक महिनाअघि नै प्रधानमन्त्रीलाई राजीनामा बुझाएका थिए । तर, प्रधानमन्त्रीले कोरोनाको महामारी र पार्टी भित्रको किचलोलाई देखाउदै यस्तो असामान्य अवस्थामा बाहिरिन उचित नहुने भन्दै अर्थमन्त्री खतिवडाको राजीनामा स्वीकृत नगरेको स्रोत बताउँछ । खतिवडा २०७४ फागुन १४ गते प्रधानमन्त्री ओलीले मन्त्रिपरिषद् विस्तार गर्दा पहिलो रोजाइमा परेका व्यक्ति हुन् । त्यतिबेला उनको नियुक्तिलाई मुलुकले परिपक्व अर्थमन्त्री पाएको भन्दै सर्वत्र प्रशंशा गरिए पनि आत्मकेन्द्रित तथा संकीर्ण स्वभाव एवं आलोचकहरूप्रति असहिष्णु व्यवहारका कारण छोटो समयमै उनको आलोचना सुरु भएको थियो ।
दोस्रो पटक अर्थमन्त्रीको नियुक्ति लिएपछि उनले भनेका थिए, “२४ घण्टा क्वारेन्टाइनमा बसेर थप नयाँ ऊर्जाका साथ फर्किएको छु ।” उनले मुलुकको गरिबी, अभाव, अशिक्षा र अन्यायको विरुद्धमा लडिरहेको विकासे योद्धा भएको दावी गर्दै ति समस्या हल नहुँदासम्म लडिरहने बताएका थिए । कहिले पनि प्रत्यक्ष पार्टी राजनीति नगरेको र लामो समयदेखि सत्ताकै वरीपरि रहेका खतिवडा वाम गठबन्धनभित्र भाग्यमानी अर्थमन्त्रीका रुपमा चिनिन्छन् । उनै खतिवडाले ५ वर्षका लगि निर्वाचित ओली सरकारको तीन बजेट सार्वजनिक गर्ने अवसरमा पनि पाए ।
आफनो कार्यकालमा पटक पटक खतिवडा आलोचनाका शिकार हुदै आए । खासगरि सेयर बजारका सन्दर्भमा उनी सधै नकारात्मक रहे भने कसैका कुरा सुन्न नचाहाने ब्यक्तिगत छविका कारण पहिलो कार्यकालमा श्वेतपत्र, अनि त्यसपछि आफैले ल्याएको बजेट कार्यान्वयन र निजीक्षेत्रसँगको दूरीका कारण उनी आलोचित बने ।
“सबैभन्दा ठुलो कुरा अर्थमन्त्रीज्यूले निजी क्षेत्रलाई विश्वासमा लिन सक्नु भएन,” अर्थशास्त्री डा. शंकर शर्मा भन्छन्, “धरालत कमजोर भए पनि यसलाई केही सुधार गर्न भने खोज्नु भएको हो तर परिणाम उल्टो आयो ।” विकास साझेदारका प्रिय भनिएका मन्त्री खतिवडा मुलुकको अर्थतन्त्रको धरातल बिर्सेर विश्व बैंकको डुईङ बिजनेश इन्डेक्समा समेत नेपालको सूचक राम्रो हुँदाहुँदै पनि कमजोर बनाउन खोजिएको भन्दै सच्याउन दबाब दिए । “अर्थतन्त्रको धरातल कमजोर भएको देशमा अर्थतन्त्र बुझेको ब्यक्तिले धेरै सुधार गर्न सक्छ भन्ने आशा थियो,” अर्थशास्त्री डा. चन्द्रमणि अधिकारी भन्छन् “तर उहाँ सरकारको कमी कमजोरी ढाकछोप गर्नतिर लाग्नु भयो न त कसैको कुरा सुन्न चाहानु भयो न आलोचना सुन्ने धैर्यता राख्नु भयो ।”
खतिवडा आफैले ल्याएका दुबै बजेट कार्यान्वयन गर्न नसकेर अर्थमन्त्रीका रुपमा असफल सावित भएका छन् । पहिलो बजेट समृद्धिको आधार वर्ष तयार गर्नेगरी ल्याएका उनले आफनो अढाई वर्षको समयमा अर्थतन्त्रले लय समाउन कुने ठोस काम गर्न नसकेको अर्का अर्थशास्त्री डा. डिल्लीराज खनाल बताउँछन् ।

प्रतिक्रिया दिनुहोस्