खोटाङका सबै हवाई सेवा अवरुद्ध «

खोटाङका सबै हवाई सेवा अवरुद्ध

खोटाङका तीनवटै विमानस्थल अवरुद्ध भएपछि यात्रुलाई सास्ती भएको छ । दुई विमानस्थलमा कालोपत्रेको काम र एउटामा पहिरोले क्षति पुराएपछि लामो समयदेखि हवाई सेवा अवरुद्ध भएको हो ।
सबै हवाईसेवा अवरुद्धपछि जिल्ला अस्पताल खोटाङबाट अन्यत्र पठाइएका बिरामीलाई धेरै समस्या भएको छ । जिल्लावासीले चर्को मूल्यमा हेलिकप्टर चार्टर गरेर पठाइएका बिरामीलाई अन्यत्र लाने गरेका छन् । जिल्लाको पुरानो लामीडाँडा विमानस्थल २०७४ साल वैशाखदेखि उडान तथा अवतरण भएको छैन । वि.सं. २०२८ बाट सञ्चालनमा आएको सो धावन मार्गमा कालोपत्रेको काम थालेपछि अवरुद्ध भयो ।
नेपाल नागरिक उड्डयान प्राधिकरणको ६ करोड ७६ लाख ९३ हजार रुपैयाँ लगानीमा कालोपत्रे थालिएकोमा आधा सकिएको स्टेसन म्यानेजर रमेश श्रेष्ठले बताए । वर्ष दिनमा सक्नेगरी काम थालिएकोमा अहिले ग्याबिङ वाल भर्ने, धावन मार्गमा ग्राबेलिङ गर्ने र आसपासमा नाली बनाउने काम भएको छ । व्यस्त रहने लामीडाँडा विमानस्थलमा हवाईसेवा अवरुद्धपछि अस्पतालले अन्यत्र पठाइएका बिरामीलाई समस्या परेको छ । विमानस्थल कालोपत्रेको जिम्मा वाइएनएस, एसएपी र सूर्य कन्ट्रक्सन प्रालिले साझेदारीमा लिएको हो ।
दक्षिणी क्षेत्रको थामखर्क विमानस्थलमा उडान तथा अवतरण अवरुद्ध भएको दुई वर्ष बितिसकेको छ । कच्ची अवस्थामै उडान सुरु गरेको १८ वर्षपछि कालोपत्रे सुरु गरिएको विमानस्थल रौता कन्ट्रक्सन प्रालिले जिम्मा लिएको छ । विसं २०७३ माघदेखि सुरु गरेर २०७५ साल असार मसान्तसम्ममा सम्पन्न गर्ने गरी सम्झौता गरिएकोमा विमानस्थलको काम अहिले ७५ प्रतिशत मात्र सकिएको नेपाल नागरिक उड्डयान प्राधिकरणका इन्जिनियर रत्न श्रेष्ठले जानकारी दिए । प्राधिकरणको ९ करोड ३८ लाख ६८ हजार ७ सय रुपैयाँको लागतमा सो विमानस्थलको धावनमार्ग कालोपत्र सुरु गरिएको हो ।
जिल्लावासीको चन्दा सङ्कलनबाट बनाइएको सदरमुकाम दिक्तेलबाट नजिक पर्ने मनमाया राई खानीडाँडा विमानस्थल गत जेठबाट अवरुद्ध छ । जेठ १ गते दिउँसो परेको भारी वर्षापछि धावनमार्गमाथिबाट बगेको भलबाढीले पहिरो जाँदा विमानस्थल अवरुद्ध भएको हो । भलबाढीले धावनमार्गमुनि बनाइएको ढल थुनियो । माथिबाट बगेको बाढीले दक्षिणी भाग भत्किएको निर्माण उपभोक्ता समितिका अध्यक्ष दुर्गाप्रसाद घिमिरेले बताए ।
विमानस्थलसँगै जिल्लाका ग्रामीण सडकसमेत वर्षायाममा अवरुद्ध हुँदा बिरामीलाई डोकोमा बोकेर स्वास्थ्य संस्था पुराउनुपर्ने जिल्लावासीको बाध्यता छ ।

 

प्रतिक्रिया दिनुहोस्