लकहिड मार्टिनले सुपरसोनिक विमान निर्माण गर्ने

एफ–१६ जस्तो सुपरसोनिक लडाकु विमान निर्माण गर्दै आएको कम्पनी लकहिड मार्टिनले आवाजको गतिभन्दा तीव्र गतिमा उडान भर्ने नागरिक प्रयोजनको विमान निर्माण गर्ने भएको छ ।कसरी आवाजभन्दा तीव्र गतिमा उडान भर्ने, व्यापारिक प्रयोजनको विमानको ढाँचा तयार पार्ने र उत्पादन गर्ने भन्ने विषयको अनुसन्धानका लागि कम्पनीले सुपरसोनिक एरिअनसँग सम्झदारीमा पुगेको यी कम्पनीहरूले जारी गरेको संयुक्त विज्ञप्तिमा उल्लेख गरिएको छ ।
यो सम्झौताले एरिअनलाई अर्को हेभीवेट साझेदारी बनाएको छ । यसले पहिले पनि विमान निर्माता कम्पनी एयरबससँग बिजनेस जेटको ढाँचाका लागि काम गरेको थियो ।
लकहिड मार्टिनले आवाज कम आउने सुपरसोनिक जेटको विकासका लागि नासासँग मिलेर पनि काम गरिरहेको थियो ।
“सुपरसोनिकको मामिलामा लकहिड मार्टिनको क्षमता चिरपरिचत रहँदै आएको छ । यो वास्तवमै चिरपरिचित छ,” एरिअनका अर्बपति र अध्यक्ष रोबर्ट बासले बताए । “सक्षम नागरिक प्रयोजनको सुपरसोनिक एयरक्राफ्टको दीर्घकालीन विकासका लागि हामीले लकहिड मार्टिनसँग प्रतिबद्धता जाहेर गरेका छौं,” उनको भनाइ थियो ।
यो विमानको पहिलो उडानको योजना २०२३ का लागि तय भएको छ । बिजनेस जेट सञ्चालक फ्लेक्सजेटले २०१५ मै २० वटा एएस२को अर्डर गरेको थियो ।
एरिअन एएस२ १२ यात्रु बोक्न सक्ने विमान हो । यसको अधिकतम गति म्याक १.४ छ । यो जेटले न्युयोर्कबाट लन्डनमा ४ घन्टाको हाराहारीमा यात्रु ओसार्न सक्छ । यो हालको अन्य यात्रु विमानले लिने समयको तुलनामा ३ घण्टा कम हो ।
व्यापारिक प्रयोजनको सुपरसोनिक उडानको २००३ मा अन्त्य भएको थियो । दुर्घटना भएको र मागमा पनि गिरावट आएकाले उक्त समयमा कंकर्ड विमानले विश्राम लिए पनि व्यापारिक प्रयोजनको सुपरसोनिक उडानको अन्त्य भएको हो ।
सुपरसोनिक यात्रु भ्रमण पुनः ल्याउन प्रयास गर्नेमा एरिअन एक्लो होइन । यो महिनाको सुरुमा जापान एयरलायन्सले डेनभरमा रहेको बुम सुपरसोनिकका लागि १ करोड डलरको प्रतिबद्धता व्यक्त गरेको थियो र २० वटा स्टार्ट अप विमानको खरिद गर्ने विकल्प पनि आफूसँग भएको बताएको थियो । भर्जिन गु्रुपका संस्थापक रिचार्ड ब्रान्सनले पनि गत वर्ष आफ्नो कम्पनीले पनि बुमको सुरुका १० विमान किन्ने विकल्प रहेको जनाएका थिए ।
बुमका संस्थापक ब्लेक स्कोलले म्याक २.२ वा प्रतिघण्टा १ हजार ४ सय ५० माइलभन्दा बढीको दूरी यात्रा गर्न सक्ने एयरक्राफ्टको विकास गरिरहेको बताएका छन् । यो गतिमा उडान भर्दा सनफ्रान्सिस्कोबाट टोकियो यात्राका लागि साढे ५ घण्टाको समय मात्रै लाग्छ ।