सङ्क्रमणकालीन स्वतन्त्रतामा पोतिएको मोसो «

सङ्क्रमणकालीन स्वतन्त्रतामा पोतिएको मोसो

खान, बस्न र सुत्न त जेलका मानिसलाई पनि दिइन्छ तर त्यहाँको अभाव हो— स्वतन्त्रता । कर्मचारीतन्त्र, व्यक्तिको आनीबानीका कारण बोल्न नसक्ने र कुनै पार्टीगत शक्तिलाई भिरेर हिँड्न नसक्ने वा नचाहनेमाथि हस्पिटलदेखि हरेक संवेदनशील कार्यमा समेत हैरानी हुन्छ, पीडा हुन्छ, बेवास्ता गरिन्छ । पार्टीको काखी च्याप्न नसक्नेका लागि न्याय छैन, रोजगारी पाइँदैन, मानसम्मान छैन, न त योग्यताको कतैबाट सम्बोधन हुन्छ । जागिर खानु छ, बढुवा हुनु छ, या त कुनै पैसावाल अवसरलाई हात पार्नु छ भने सोधिन्छ, “तपार्इं कुन पार्टीको मान्छे ?” यी तीता सत्यप्रति जतिसुकै परिवर्तनका आवाज बुलन्द बन्दै आएका भए पनि ती बिलौना खोलाका गीत बनिरहेको सत्य नितान्त आजका हुन् ।
देशको सही नेतृत्व छानिनुको साटो वंशज स्वार्थ र पहँचवालाकै हालीमुहालीका कारण निरीह वर्ग पछाडि धकेलिँदै छ । न्यायालयदेखि हरेक पुस्तकालयसम्म कर्मचारीतन्त्र, पार्टीगत नातावाद, दादावाद, उपल्ला ओहदाका कर्मचारीका दबाबमूलक आदेशले बिनाहिचकिचाहट चाकडीबाजको मैदान पाउन थाल्यो । कतै एकताको सहकार्य त कतै विमतिको प्रभावले ग्रामीण परिवेशको मानवीय भावमा नकारात्मकता उब्जाउनु राम्रो कुरा नहोला । पैसाको चलखेलसँग कैयौँ सेवामूलक कार्यक्रम चल्छन्, जनताका पसिनामा खेलबाड हुन्छ, सोझा र निरीहलाई चुसिरहिन्छ । यी सबै विचारमा आजको तितापिरा वास्तविकता अवश्य छन् । बालहकमा समेत दण्डनीयता छ, सौतेनी पीडाले बालहकमा निर्मम अत्याचार छन्— के यो सत्य ओकलिएका छन् त । द्वन्द्वपीडितका पीडाको आँसुको मूल्यलाई, गंगामायाको अनशनलाई कति सम्बोधन गरिएका छन् ? त्यहाँ वाक् स्वतन्त्रता निमोठिएका छन् । नारी अस्मिता कुण्ठित छ– प्रथाले, समाजले, परम्पराले । विकट क्षेत्रका यी र यस्ता वेदनालाई सञ्चारमाध्यमका पर्दाले मात्र यदाकदा रङ्गाएको होला तर न्यायिक संवेदना कति जाँगरिलो होला त ।
सरकारी काममा हैरानी र बेचैनीका कारण भ्रष्टाचार हुन्छन् र आज अझ मौलाएका तीता सत्य छन् । शैक्षिक सक्षमता होस्–नहोस् दादावाद चल्छ, पार्टीवादी स्वार्थसँगै नातावाद, कृपावादले पद, पैसा र प्रतिष्ठाको चङ्गुलमा निरीहले सधैँ जलिरहँदा स्वतन्त्रतामा कालो मोसो दलिएको छ । बोल्न चाहेर पनि बोल्ने हो भने अप्ठ्यारो पर्ला कि भन्ने डरसँग कर्मचारीको सरुवा, बढुवा, जागिर स्थापनाका खेल चल्छन् । पार्टीलाई गाली गर्ने परम्परा जति भइरहेका छन् सबै अनुशासनहीन व्यवहारका बेथितिले जन्माएको स्वार्थी प्रवृत्ति शिवाय अरू हुनै सक्दैन । हरेक विकासका बजेटमा माथिल्लो तहदेखि तलैसम्म सेटिङ चल्छ, कति प्रतिशत विकासका लागि खर्चिएला— त्यो अध्ययनको विषय हो । देशलाई भ्रष्टाचारले कालो मोसो दलिरहेको छ । हुँदा छँदाको जागिर छोडेर खुलेआम लाखौँ खर्च गरेर नेतृत्वको ढोल पिटिइरहँदा आज जनतामा विकासमा विकृति बढ्ला भन्ने भय कहाँ कम छ र ! संघीय शासनसँग यो मूकपीडाको सुधारप्रति जनताको आशा र अपेक्षा छ । जनताको पसिनाको कदर नहुँदा प्रतिभा पलायन भएका छन् । देशका खेतमा काँस फुलेको छ । देश परनिर्भरताको पराकाष्ठामा बाँच्दै गर्दा सक्षम, सबल र शिक्षित दक्ष व्यक्तिले विकसित मुलुकलाई अझ विकसित तुल्याइरहनुपरेको छ ।
बीसौँ शताब्दीतिर नारी स्वतन्त्रताको सम्मानमा घन्किएको बिगुल; समावेशी बगैँचामा बहुजातीय, बहुभाषिक, बहुसांस्कृतिक सहिष्णु सद्भाव सबै क्षेत्र र विषयवृत्तमा स्वतन्त्रताकै चाहना बुलन्द हुँदा रहेछन् । स्वतन्त्रताको बाहुलीमा हक–अधिकारले फस्टाउँदा मानिसमा भलै भौतिक सम्पन्नता नहोस् तर मनोवैज्ञानिक आनन्द मिल्छ । हाम्रो संस्कार, परम्परा अनि प्राचीन इतिहासको रामराज्यदेखि पृथ्वीनारायणले समेत एकतासँग राज्य एकीकरणको अर्जुनदृष्टिमा स्वतन्त्रतालाई जोड दिएका हुन् । संघीय व्यवस्थाभित्र हरेक नागरिक हक र अधिकारले समावेशी परिवेशमा स्वतन्त्रताकै विषय सारलाई शिरोधार्य गर्न चाहेको महसुस हुन्छ । हरेक प्रतिभाले स्वतन्त्रतामै जाग्न पाउँछन् । अवसरको ढोका स्वतन्त्रताबाटै उघ्रिन्छ । अर्बौं डलरमा किन्न नसकिने खुसीको प्राप्ति नै स्वतन्त्रताले दिने उपलब्धि रहेछ । स्वेच्छाले राष्ट्रसेवा गर्नेहरूका लागि खुलेर आफ्नो पौरख र पुरुषार्थ प्रदर्शन गर्ने सबल मार्ग प्रशस्त गराउँछ । बजारमा प्रतिस्पर्धा बढ्छ ।
शासक वर्गमा सत्ता र भ्रष्टाचारको अखडालाई सहज बनाइदिएका पक्षमा कानुनको गाँठो भने कडा हुनैपर्छ । हाम्रो जस्तो मुलुकमा असचेतता र अशिक्षाका कारण अल्पसङ्ख्यकका समस्या ओझेलमा पर्ने डर हुने हुनाले व्यक्तिगत समस्यामा जान संघीय शासन दह्रो बन्नुपर्छ । गरिबी, महँगीको मार, बेरोजगारीजस्ता समस्याले त आज स्वतन्त्रता नै बाँदरको हातमा नरिवल भएको अनुभूति गरेका पीडादायी यथार्थ छँदै छन् । सुविधाभोगी मपाइँत्व बढ्दा राष्ट्रहितको नाममा व्यक्तिगत स्वार्थले सीमा मिचे पनि शक्तिलाई स्विकार्नैपर्ने विडम्बनाले राज्य व्यवस्थापनको स्वतन्त्रतालाई धक्का पुर्याउँछ । राजनीतिक अस्थिरता, अशान्तिपूर्ण आन्दोलन, चक्काजाम, विरोधले भौतिक संरचनामा क्षति पुर्याइएका घातक कार्यले हुन् या आन्दोलन नगरे कुरै सुनुवाइ नहुने समस्यालाई नियाल्दा जनताको सुनुवाइ हुने विभाग नै खडा गरी न्यायोचित संयोजन गर्नुपर्ने अवस्थामा सचेतनाको आवश्यकता छ । दादावाद बढे समाजको आदर्शतामा घात पुग्न जान्छ । सात्विक, निष्पक्ष सेवा गर्नेमा उत्साह मर्छ । आर्थिक तथा सामाजिक–सांस्कृतिक रूपान्तरणमा विकृत पक्षले डेरा नजमाओस् भन्नका खातिर समन्वयकारी मध्यमार्गमा अब त जनताले आन्तरिक स्वरोजगारमा आफ्नो सीप र क्षमतालाई निर्वाध पोख्ने अवसर पाउनुपर्छ । यसर्थ वैयक्तिक, राजनीतिक, धार्मिक–सांस्कृतिक, पारिवारिक, नागरिक स्वतन्त्रताजस्ता व्यापक परिधिमा मानवीय सुख, अमन–चैनका पक्ष गाँसिएका हुन्छन् ।
संसारमा आझै कठोर शासनको जलनमा जनता आजित छन् । म्यानमारको स्वतन्त्र शासनका निम्ति आङ सान सुकीको प्रशंसनीय प्रयास जारी छ । प्रेस स्वतन्त्रताका कुरा, मानवीय हक र विविध अधिकार प्राप्तिका पक्षमा स्वतन्त्रताकै लडाइँ भइरहेका छन् । प्राविधिक विकासका अपेक्षा र पैसाको सर्वोपरीमा अन्धो बन्दै जाँदा आत्मघाती हमला मात्रै होइन, कैयौँ निर्दोष मानवमाथि निर्दयी प्रहार भइरहेका छन् । नेल्सन मन्डेलाले दक्षिण अफ्रिकालाई स्वतन्त्रता दिलाएको धेरै भएकै छैन । अब्राहम लिङ्कनले करिब ४० लाख दासदासीलाई दासत्वको जन्जिरबाट मुक्ति दिलाएर स्वतन्त्रताको सुगन्ध छरे । महात्मा गान्धीले अहिंसा र सत्मार्गको आडमा रहेर अङ्ग्रेजको उपनिवेशबाट भारतमा स्वतन्त्रताको बिगुल घन्काए ।
निर्दोष सोझा जनताले निशानामा परेर जीवनलाई बिनाकारण मृत्युसँग मोल्नुपरेका पीडाको हृदयविदारक दृश्य कति त्रासदीपूर्ण हुन्छ । कठोर शासन व्यवस्थाबाट उम्केर स्वतन्त्रता प्राप्तिका निम्ति विश्वका मानव अधिकारकर्मी, स्वतन्त्रताप्रेमी तथा यस विषयमा सरोकार राख्ने अनेकौँ संघ–संस्था चिन्तित छन् । साहित्यले स्वतन्त्रतालाई बोल्छ, निःस्वार्थ मानवीय सेवाले शान्तिप्रेमी मनलाई पगाल्छ अनि जन्मन्छ— त्यहाँ साँचो स्वतन्त्रता । आज पनि मानव समुदायले आफ्नो हक–अधिकारका निम्ति खुल्न नपाएका विश्व–समाचार हेर्दा संसारको स्वतन्त्रता र सहअस्तित्वको प्राप्तिका तुलनामा नेपाल धेरै अघि रहेको आशामा मूक पीडा रहिरहनु दुःखपूर्ण विषय हो । अतः अब सङ्क्रमणको सङ्कट चिरेर संविधानको पोयो नभुले जन आकाङ्क्षाका स्वतन्त्र स्वर्णिम स्वप्नाले साकार हुन पाउने वातावरणमा राज्यले सोच्न सिक्नैपर्छ । अलिकति आशा छ, संघीय लोकतान्त्रिक गणतन्त्रात्मक व्यवस्थाको माध्यमद्वारा दिगो शान्ति, सुशासन, विकास र समृद्धिको आकाङ्क्षा पूरा गर्ने महायज्ञमा रेखी हालिएको अनुभूत छ । संघीय शासनका लागि यी आशा र अभिलाषाका परिशिष्टमा रहेका मागको सम्बोधनका लागि निर्वाचित नेतृत्वका लागि विशेष मौका हुन् । अब क्षमतावान्ले प्रमाणपत्रलाई सिरानी लगाएर सुत्नु नपरोस् । कुना–कन्दरा चियाएर अलिकति विकासको बास्ना छर्नु संघीय शासनको सुनौलो अवसर त्यहाँ छ । आगतको घडीले यिनै सपनालाई काँधमा राखेर हिँड्ने ठूलो आशा छ— स्वतन्त्रतासँगै ।

प्रतिक्रिया दिनुहोस्