नेपाल बन्दको आंशिक प्रभाव «

नेपाल बन्दको आंशिक प्रभाव

नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले आह्वान गरेको नेपाल बन्दको प्रभाव सोमबार आंशिक रुपमा परेको छ । केन्द्रीय प्रवक्ता खड्गबहादुर विश्वकर्मा सहितका नेता-कार्यकर्ता पक्राउको विरोधमा नेकपाले मंगलबार देशभर बन्दको आह्वान गरेको थियो ।
बन्दका क्रममा शैक्षिक संस्था प्रभावित बने भने यातायात र कलकारखाना आंशिक रुपमा खुलेका थिए । राजधानीमा भने बन्दको प्रभाव सामान्य रहेको प्रहरीले जनाएको छ । केही स्थानमा बम विस्फोटको योजना बनाएपनि समयमै सुरक्षाकर्मीले डिस्पोज गरेका कारण मानवीय क्षती हुन नपाएको प्रहरीले जनाएको छ । सतुंगलमा विस्फोटको ठूलो योजना बनाएपनि सुरक्षाकर्मीको सावधानीले बिस्फोटन हुन पाएन । उता सातवटै प्रदेश अन्तर्गतका विभिन्न जिल्लामा पनि विप्लवका कार्यकर्ताले सुतली बम राखेर जनजीवन आतंकित पार्न खोजेको स्थानीय प्रशासनहरुले जनाएका छन् । केही यातायातका साधनमा पनि वन्द कर्ताले तोडफोड गरेका छन् । तर वम विस्फोटबाट मानवीय र भौतिक क्षती हुन नपाएको गृह मन्त्रालयले जनाएकोे छ । गत साता नेकपाका नेता विश्वकर्मा सहित ३ जना जबर्जस्ती चन्दा असुली अभियोगमा काठमाडौंबाट पक्राउ परेका थिए । अदालतबाट म्याद थप गरेर आरोपितमाथि प्रहरीले अनुसन्धान गरिरहेको छ । नेकपाले भने नेता-कार्यकर्ता रिहाई नगरे कडा संघर्षमा उत्रने चेतावनी दिएको छ । उसको चेतावनी अन्तर्गत नै मंगलबार नेपाल बन्द आह्वान गरेको हो ।

बन्द गराउँदै हिँड्ने पक्राउ
कैलालीमा नेत्र विक्रम चन्द नेतृत्वको नेकपा माओवादीका कार्यकर्ता छविलाल ओलीलाई बन्द गराउँदै हिँडेको अवस्थामा सख्खड बजारबाट प्रहरीले पक्राउ गरेको छ । सो पार्टीका घोडाघोडी नगर प्रमुख ओलीलाई सख्खड बजारमा बन्द गराउँदै हिँडिरहेको अवस्थामा पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक विनोद घिमिरेले बताए । उक्त पार्टीले आह्वान गरेको बन्दका कारण आज कैलालीमा यातायात, उद्योग व्यवसाय र शैक्षिक संस्था ठप्प रही जनजीवन प्रभावित बनेको छ ।

दुई ट्रकमा आगलागी
उता, पूर्वी नवलपरासीको गैँडाकोटमा रोकिराखिएकोे दुई ट्रकमा आगलागी भएको छ ।
भृकुटीचोकमा रोकिराखिएको ना २ ख ८४८७ र ना २ ख २५४८ नं का ट्रकमा आगलागी भएको जिल्ला प्रहरी कार्यालय नवलपरासी (बर्दघाट सुस्तापूर्व) ले जनाएको छ ।
आगो किन र कसले लगाएको हो भन्नेबारे केही खुलेको छैन । आगलागीबाट ट्रकमा सामान्य क्षति पुगेको प्रहरीले जनाएको छ । कपिलवस्तुको चन्द्रौटाबाट पराल बोकेर हेटौँडातर्फ जाने क्रममा गैँडाकोटमा रोकिराखिएको अवस्थामा ती ट्रकमा आगो लागेको थियो ।

 

प्रतिक्रिया दिनुहोस्