बाल–ज्येष्ठ अधिकार र विकासको सम्बन्ध «

बाल–ज्येष्ठ अधिकार र विकासको सम्बन्ध

अमेरिका र अस्ट्रेलियामा नेपाली महिलाले प्रहरी हिरासतमा बिताएका छन् । कुनै चोरी, ठगी, अपराध गरेर उनीहरू प्रहरी कठघरामा पुगेका होइनन् । नेपालमा सामान्य लाग्ने आफ्नै छोराछोरीलाई हप्काए, पिटे, तर्साए, एक्लै छोडेबापत नेपाली महिलाले यस्तो नौलो अनुभव गर्न पाएका हुन् ।
जहाँ बालबालिका र ज्येष्ठ नागरिकको सम्मान र उनीहरूको अधिकारको पूर्णतः संरक्षण गरिन्छ, त्यो समाज सुसभ्य समाज हो । विकासको आधार र पूर्वसर्त पनि त्यही नै हो । समाजमा अनुशासन कायम नभएसम्म जति साधनस्रोत बगाए पनि विकास हुँदै हुँदैन । अनुशासन नभएको समाजमा विकासका लागि नीति बनाउनु र बजेट खन्याउनु भनेको गँगटाले प्वाल पारेको पोखरीमा पानी खन्याएजस्तै मात्र हुन्छ ।
विकसित देशमा पुगेका नेपालीले अनुभव गरेका छन् कि त्यहाँ सार्वजनिक यातायातमा अरू यात्री उभिरहँदा पनि ज्येष्ठ नागरिक लेखेको सिट खाली नै हुन्छ । बाटो काट्न अलमल परेका विदेशी ज्येष्ठ नागरिकलाई त्यहाँ जोकोहीले सहयोग गर्छन् । स्कुलबस रोकिएको ५० मिटर टाढै अन्य सवारी रोकिएर स्कुले विद्यार्थीलाई गाडीबाट ओर्लिएर गन्तव्य जान सहयोग पुराउँछन् । त्यसैले ती समाज सुसभ्य, अनुशासित र विकसित भएका हुन् ।

केही वर्षअघिसम्म अपांगता भएका व्यक्तिलाई दया मात्र व्यक्त गरिन्थ्यो भने अहिले सम्मान पनि दिने प्रचलन सुरु भएको छ । तर, बालबालिका र ज्येष्ठ नागरिकलाई गरिने दुव्र्यवहारमा कुनै सुधार आएको छैन ।

नेपालमा सामाजिक संरक्षण र सामाजिक सुरक्षा चर्को आवाज निकाल्न सक्ने र बलिया पाखुरा सुर्कन सक्नेलाई दिइएको छ । यहाँ सार्वजनिक सेवाहरूमा महिला, दलित, आदिवासीलाई प्राथमिकता र संरक्षण दिइन्छ । केही वर्षअघिसम्म अपांगता भएका व्यक्तिलाई दया मात्र व्यक्त गरिन्थ्यो भने अहिले सम्मान पनि दिने प्रचलन सुरु भएको छ । तर, बालबालिका र ज्येष्ठ नागरिकलाई गरिने दुव्र्यवहारमा कुनै सुधार आएको छैन ।
बालबालिकालाई हप्काउनु, तर्साउनु र पिट्नु शिक्षक र अभिभावकको अधिकार मानिन्छ । शिक्षकको हकमा केही हदसम्म अहिले सुधारको संकेत देखिए पनि अभिभावकले भने आफ्ना छोराछोरी आफूले जे गरे पनि पाइन्छ भन्ने बुझाइमा कुनै कमी आएको छैन । सार्वजनिक सेवा लिँदा वा दिँदा वयक्कहरूले हेप्ने र चर्को बोलेर बालबालिकालाई वयक्सहरूले चाहेको कुरा गर्न लगाउने गरेको देखिन्छ ।
बाबुआमाले फेरि–फेरि पोसाक लगाउने तर छोराछोरी स्कुल जाँदा सधैं फाटेको जुत्ता लगाएर गएको धेरै देखिन्छ । अभिभावकको आम्दानी खर्च गर्ने हक परिवारका सबै सदस्यको बराबरी हो भन्ने बुझाइ यहाँ छैन । जसले आय गर्छ, उसले मनलाग्दी खर्च गर्ने र परिवारका अन्य सदस्यलाई उसले अड्कलेर दिने प्रचलन छ । अभिभावकले भविष्यका लागि भन्दै सम्पत्ति जोड्छन् तर बालबालिकाको उपभोगका लागि पैसा छैन भन्छन् । यदि आम्दानी कमजोर छ भने सबै सदस्यका लागि न्यून खर्च गरिनुपर्छ ।
आफ्नो जीविकोपार्जनका लागि आफैं आम्दानी गर्न नसक्ने १८ वर्षमुनिका बालबालिका र ६५ वर्षमाथिका ज्येष्ठ नागरिकको संरक्षणको जिम्मेवारी सरकार वा परिवार वा दुवैको हो । बालबालिका र ज्येष्ठ नागरिकले अनावश्यक कुरा माग गर्छन्, त्यसैले उनीहरूको माग पूरा गर्नु जरुरी छैन भन्ने बुझाइ रहेको छ । ज्येष्ठ नागरिकलाई आफ्ना अनुभव सुनाउने र मनोरञ्जन गर्ने इच्छा हुन्छ । यसलाई वयक्कहरूले गनगन गरेको र दुःख दिएको अर्थ लगाउँछन् ।
बालबालिका टिभी, मोबाइल हेरेर बिग्रे भन्ने गुनासो धेरै अभिभावकले गर्छन् । उनीहरूको चाहना आफूहरू २० घण्टासम्म टिभी र मोबाइलमा झुन्डिए पनि बालबालिका मूर्तिजस्तो बसिराखून् वा पढिराखून् भन्ने हुन्छ । घरमा अरूले मोबाइल, टिभी नहेर्ने हो भने बालबालिकाको त्यो माग नै हुँदैन । बालबालिका अरूसँग खेल्न र बोल्न मन पराउँछन् । खेल्न र बोल्न अभिभावकले समय नदिएपछि टिभी, मोबाइल हेर्नुको विकल्प उनीहरूसँग हुँदैन ।
ज्येष्ठ नागरिकलाई बसस्टपमा देखेमा सार्वजनिक यातायातले नचढाउने, चढाए पनि हप्काएर पछि पठाउने र झर्ने बेला अत्याउने गर्छन् । बालबालिका र ज्येष्ठ नागरिकलाई सार्वजनिक बसमा यात्रा गर्न एकदमै कठिन हुन्छ । भीडभाडमा उनीहरू थिच्चिन्छन्, सिलिङमा हातले समाउन सक्दैनन्, ब्रेक लगाउँदा र मोड्दा शरीर धान्न सक्दैनन् । सिट खाली भए पनि भाडा तिर्नबाट बच्न अभिभावकले बालबालिकालाई उभ्याउने गर्छन् । यदि कुनै अभिभावक भाडा तिरेर सिटमा राख्न तयार भए पनि अन्य यात्री र बसका स्टाफले बच्चालाई बस्न दिंदैनन् ।
कार्यालय जाने र घर फर्कने समयमा ७५ प्रतिशतले विद्यार्थी परिचयपत्र देखाएर बसभाडा छुट लिएको देखिन्छ । रोजगारी गर्ने ४५ वर्षसम्मका युवायुवतीले सक्कली वा नक्कली विद्यार्थी परिचयपत्रका आधारमा भाडा छुट लिने गर्छन् । तर, जुन बालक आर्थिक अभावका कारण स्कुलसम्म भर्ना हुन सकेन, उसले पूरै भाडा तिर्नुपर्छ । १८ वर्षमुनि र ६५ वर्ष माथिका सबैलाई सहुलियत दिनु र बाँकीलाई पूरा शुल्क लिनु न्यायोचित हुन्छ ।
स्कुलको संकेतसहित प्रतिकिमि १५ भनेर गति सीमा लेखिएको साना सडकमा चालकहरूले अन्धाधुन्दा चर्को र लामो हर्न बजाउँदै गति ४० देखि ६० किमि कायम गरेर कुद्छन् । बस्तीहरूको बीचका साना सडक, जहाँ बालबालिका र ज्येष्ठ नागरिक आफ्नो घर नजिक घुमफिर गरिरहेका हुन्छन्, त्यहाँ आवाज र हर्नबाटै उनीहरू तर्सिने र श्रवण शक्तिमा असर पर्ने गरी दुईपाङ्ग्रे र चारपाङ्ग्रे गाडी गुडाउने गरिन्छ, जबकि त्यो सडकमा गति सीमा २० र हर्न निषेधको संकेत राखिएको हुन्छ ।
संयुक्त राष्ट्रसंघले सन् १९८९ मा बालबालिकासम्बन्धी महासन्धि पारित गरेपछि नेपालले २०४८ सालमै बालबालिकासम्बन्धी ऐन जारी गर्यो । त्यस्तै, ज्येष्ठ नागरिक सम्बन्धी ऐन पनि २०६३ सालमै जारी भयो । यी ऐन कार्यान्वयनको अवस्था शून्यजस्तै छ । सार्वजनिक यातायातमा ज्येष्ठ नागरिक सिट भनेर लेख्न लगाइन्छ तर त्यसको पालना नगर्ने बसलाई सरकारले कुनै कारबाही गर्ने गरेको छैन ।
संरक्षण, सुरक्षा र हेरचाह उमेरको वा शारीरिक अवस्थाका कारण अशक्त व्यक्तिले पाउनुपर्छ । यहाँ अधिकार मागेर होइन, खोसेर लिनुपर्छ भन्ने मान्यताका आधारमा जो बलियो छ र जसलाई संरक्षणको आवश्यकता नै छैन, उसले अन्यको अधिकार खोस्नलाई आफ्नो अधिकार बढाउन सफल भएको छ । बालबालिका भोलिका कर्णधार भनेर होइन कि आज बालबालिका हुँदा पाउनुपर्ने नैसर्गिक अधिकार उनीहरूले उपभोग गर्न पाउनुपर्छ । ज्येष्ठ नागरिकले हिजो समाजका लागि योगदान गरेका थिए भनेर होइन कि आज ज्येष्ठ नागरिक हुँदा पाउनुपर्ने नैसर्गिक अधिकार निर्बाध उपभोग गर्न पाउनुपर्छ ।

प्रतिक्रिया दिनुहोस्