होटलको क्षमता विस्तार «

होटलको क्षमता विस्तार

नेपालले सन् २०२० लाई नेपाल भ्रमण वर्ष मनाएर एकै वर्ष २० लाख पर्यटक ल्याउने योजना सार्वजनिक गरेको छ । सरकारको यो योजनालाई महत्वकांक्षी भनिए पनि असम्भव भन्ने टिप्पणी कतैबाट भएको छैन । सन् २०११ मा मनाइएको पर्यटन वर्षमा लिइएको १० लाख पर्यटक भित्र्याउने लक्ष्य ६ वर्षपछि चालू वर्षमा मात्र प्राप्त हुन गइरहेकाले अबको तीन वर्षमै दोब्बर पर्यटक भित्र्याउन नेपाललाई सजिलो भने पक्कै छैन । तर, लक्ष्य जस्तोसुकै लिइए पनि भ्रमण वर्ष नै मनाउने भएपछि यसका लागि सरकारले अहिलेदेखि नै तयार गर्नु जरुरी भने छ ।
नेपालका पर्यटन क्षेत्रको विकास र विस्तारका लागि अपार सम्भावना भए पनि पूर्वाधारको सीमितता सधैं बाधक बन्ने गरेको छ । पर्यटकका लागि घुम्ने ठाउँ प्रशस्तै भए पनि नेपाल आउने एयरलाइन्सको महँगो भाडा तथा बस्ने होटलको अभावलाई मुख्य समस्याका रूपमा लिने गरिन्छ । भैरहवा र पोखरा विमानस्थल निर्माणको चरणमा रहेको तथा दोस्रो अन्तर्राष्ट्रिय विमानस्थल पनि निर्माणको तयारी भइरहेसँगै राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगमसहित निजी क्षेत्रको हिमालय एयरलाइन्सले समेत जहाज थप्ने तयारी गरिरहेकाले अबका दिनमा यो समस्या लामो रहँदैन भन्ने अनुमान गर्न सकिन्छ । तर, पर्यटकका लागि उपयुक्त होटलको समस्यालाई भने साधारण रूपमा लिन सकिँदैन । यसमा भने सरकारले गम्भीर रूपमा लिएर समाधानका लागि पहल गर्नुपर्छ ।
नेपाल राष्ट्र बैंकले हालै गरेको एक अध्ययनले नेपालमा हाल सञ्चानलमा रहेका तारे तथा पर्यटकस्तरीय होटलले मात्र वार्षिक २५ लाख पर्यटक धान्ने देखाएको छ । सर्वेक्षणअनुसार हाल पर्यटकस्तरका होटलसहित तारे होटलहरूमा दैनिक ६९ हजार ३ सय ३५ रुम उपलब्ध रहेको र यसले वार्षिक २५ लाख पर्यटक धान्न सक्ने देखिएको छ । यस्तै, आर्थिक वर्ष २०७३-७४ मा मात्रै ६ हजार १ सय ८८ वटा रुम थपिएको छ । काठमाडौं बाहिरका अधिकांश होटल तथा लजहरू आन्तरिक पर्यटकले धानिँदै आएको समेत सर्वेक्षणमा उल्लेख गरिएको छ । सर्वेक्षणअनुसार पछिल्लो वर्ष मात्रै होटलमा लगानी ९.९७ प्रतिशतले बढेको छ । यसरी हेर्दा नेपालमा होटल क्षेत्रमा थपिएको लगानी उत्साहजनक छ र यसले सरकारी लक्ष्यअनुसार पर्यटक आए भने पनि उनीहरूलाई सेवा दिन सक्षम छन् भन्ने देखाएको छ । यसलाई सकारात्मक उपलब्धि मान्नैपर्छ । राजनीतिक संक्रमणकालले लगानीमैत्री वातावरण भएन भनिरहेका बेला पनि हासिल भएको यो उपलब्धिलाई अझ फराकिलो बनाउनु भने उत्तिकै जरुरी छ ।
पछिल्ला वर्षहरूमा नेपालमा पर्यटकको बसाइ अवधि घटेको छ भने यसले होटलको सोही कोठा संख्यामा बढी पर्यटक बस्न सक्ने भएकाले यसलाई भने सकारात्मक मान्न सकिँदैन । पर्यटक भित्र्याएर मात्र पुग्दैन, उनीहरूको बसाइ अवधि लम्ब्याउन सके मात्र उपलब्धि मान्न सकिन्छ भने अर्कातर्फ नेपालका होटलहरूको अकुपेन्सी २ सिजनका तीन-तीन महिनामात्र उच्च रहने भएकाले आधा वर्ष पर्यटकको कुराइमै बित्ने गरेको छ । यसर्थ, होटलको बाह्रै महिना अकुपेन्सी उच्च रहे मात्र २५ लाख पर्यटकलाई सेवा दिन होटल सक्षम भएकाले अझै पनि सिजनमा होटल अभाव हुन सक्छ । यसर्थ, अबका दिनमा होटलमा लगानी अझै बढाउनु जरुरी छ र यसका लागि राज्यले सार्वजनिक निजी साझेदारीका आधारमा होटलका लागि जग्गा लिजमा दिने, पुराना भवन र सम्पदाहरू पनि संरक्षणसहित होटलका रूपमा विकास गर्नेजस्ता नीति ल्याउनु जरुरी छ ।

प्रतिक्रिया दिनुहोस्