साना सवारी हटाइ ठूला बस सञ्चालनमा «
Logo

साना सवारी हटाइ ठूला बस सञ्चालनमा

काठमाडौं-एसियाली विकास बैंक (एडीबी)को सहयोगमा काठमाडौं उपत्यकाका रुटमा सञ्चालित माइक्रो र टेम्पो विस्थापन गरेर ठूला बस सेवा सुरु भएको छ । एडीबीको सहयोगमा सरकारी प्रयासमा खुलेको ‘दिगो सार्वजनिक यातायात कम्पनी’ले मंगलबारदेखि नयाँ बसपार्क, गोल्कोपाखा, जमल, कमलपोखरी, ज्ञानेश्वर, मैतिदेवी, पुरानो बानेश्वर, सिनामंगल, कोटेश्वरसम्मको रुटमा १७ बटा ठूला बस चलाउन थालेको छ ।
एडीबीले पहिचान गरेको यी वैज्ञानिक यी बसहरू सोही रुट हुँदै मैतिदेवीबाट डिल्लीबजार रत्नपार्क हुँदै फर्किनेछन् । बस सेवको उद्घाटन यातायातमन्त्री रघुवीर महासेठले सोमबार गरेका थिए । मंगलबारबाट नियमित सेवा सुरु भएको छ । यसअघि यो रुटलाई आधार बनाएर ३५ वटा टेम्पो र २६ वटा माइक्रोबस सञ्चालनमा थिए । अब तीनलाई अन्य टर्सरी रुटमा सारिएको छ । मंगलबारबाट सञ्चालनमा आएका सबै बस अपांगमैत्री छन् ।
नयाँ बसहरूमा जीपीएस सिस्टम जडान गरिएको छ । बसमा डिटिजल कार्डबाट पनि भाडा तिर्ने व्यवस्था, विद्युतीय टिकेट प्रिन्ट, बसभित्र सुरक्षाका लागि सीसीटीभी क्यामेरालगायत विशेषता रहेका छन् । बसमा निशुल्क वाईफाई, एलइडी टीभी, रुटको नक्सालगायतका सुविधा र ह्वीलचेयर राख्ने स्पेशसमेत छ ।
सरकारको जमानीमा नगर विकास कोषको सहुलियत ऋण सहयोगमा साना सवारी साधन हटाएर २६ सिट क्षमताका बस चलाइएको हो । सरकारले उपत्यकामा ‘मास ट्रान्स्पोर्टेसन’ प्रणाली लागू गर्न पहिलो चरणमा सामाखुसी यातायात र सफा टेम्पो परिवहन संघसँग सम्झौता गरेको थियो ।
दुवै यातायात व्यवसायी समितिमा आबद्ध व्यवसायीले ठूला बस खरिद गरेर ‘दिगो सार्वजनिक यातायात कम्पनी’ दर्ता गराएका थिए । सुरुमा यो रुटमा व्यवसायी माइक्रो र टेम्पो हटाउन तयार भएका थिएनन् ।
सरकारले प्रोत्साहनका रुपमा सहुलियत ऋण र १५ प्रतिशत अनुदान उपलब्ध गराउने भएपछि उनीहरू कम्पनीमा जान सहमत भएका थिए । यो परियोजनामा ८० प्रतिशत लगानी ५ प्रतिशतको सहुलियत ब्याजदरमा उपलब्ध गराइएको छ । व्यवसायीले ५ प्रतिशत नगद लगानी गरेका छन् ।
काठमाडौं दिगो सहरी यातायात परियोजनाअन्तर्गत उपत्यकामा प्राइमरी, सेकेन्डरी र टर्सरी गरी ३ वटा वर्गमा ६६ वटा रुट कायम हुनेछ । प्राइमरीमा ८० सिट क्षमताका बस सञ्चालन हुने ८ रुट, सेकेन्डरीमा ४० देखि ६० सिट क्षमताका सवारी गुड्ने १६ रुट र टर्सरीमा साना सवारी गुड्ने गरी ४२ रुट निर्धारण गरिने यातायात व्यवस्था विभागले जनाएको छ । एस ५ रुट सेकेन्डरी वर्गको हो । नयाँ बसपार्क–रित्नपार्क–सिनामंगल रुटमा हाल सञ्चालनमा रहेको माइक्रो तथा ट्याम्पोलाई टर्सरी रुटमा बस सञ्चालनमा आएका छन् ।
यो योजना कार्यान्वयनमा आएपछि उपत्यकामा ३ हजारभन्दा कम सार्वजनिक यातायातका साधन गुड्ने छन् । सबै नयाँ रुट कार्यान्वयन गर्न भने सरकारलाई वर्षौं लाग्ने देखिन्छ । योजना बनाएको दुई वर्षमा कार्यान्वयन गरी सक्ने बताएको भए पनि पहिलो रुट परिक्षणका रुपमा कार्यान्वयन गर्न पनि दुई वर्षभन्दा बढी समय लागेको छ ।

 

प्रतिक्रिया दिनुहोस्