लोकप्रिय ‘पावर सेगमेन्ट’

मोटरसाइकलका पारखीहरूले धेरै इन्जिन क्षमताका र स्पोर्टी लुक्सका मोटरसाइकल रोज्ने गरेका छन् । तर, नेपालमा धेरै सीसी इन्जिन क्षमताका मोटरसाइकल चलाउनका लागि उपयुक्त बाटो नभएकाले कम क्षमतामै स्पोर्टी लुक्सका मोटरसाइकल रोज्नेहरूको संख्या ठूलो छ । नेपाली बजारमा मोटरसाइकल उपलब्ध गराउने सबैजसो कम्पनीसँग १ सय ५० देखि १ सय ६० सीसी रेन्जका मोटरसाइकल छन् । यसले पनि पुष्टि हुन्छ कि नेपाली बजारमा सबैभन्दा धेरै बिक्री हुने सेगमेन्टमा १ सय ५० सीसी सेगमेन्टका मोटरसाइकल नै पर्छन् ।
यो सेगमेन्टलाई ‘पावर सेगमेन्ट’ समेत भन्ने गरिएको छ । पावर सेगमेन्टका १ सय ५० देखि १ सय ६० सीसीसम्मका मोटरसाइकल नेपाली उपभोक्ता माझ लोकप्रिय रहेको देखिन्छ । युवादेखि उमेर ढल्किन थालेका अधबैंसेसम्मले यो सेगमेन्टका मोटरसाइकल मन पराउने विक्रेताहरू बताउँछन् । मूल्यका हिसाबले औसत र माइलेज पनि राम्रो भएकाले लोकप्रिय भएको व्यवसायीहरूको भनाइ छ ।
सबैजसो मोटरसाइकल विक्रेताहरूले यो सेगमेन्टका मोटरसाइल नेपाली बजारमा भित्र्याएका छन् । बजाजको पल्सर १५०, भी१५, एभेन्जर र डिस्कभर, यामाहाको एफजेड–एस, एसजेडएस र आर–१५, होन्डाको युनिकर्न, हर्नेट, सीबी ट्रिगर, हिरोको एचिभर, एक्सट्रिम स्पोर्टस्, टीभीएसको अपाचे, सुजुकीको जीएस, जिक्सर र जीएसएक्स लगायत मोटरसाइकल नेपाली बजारमा लोकप्रिय रहेका छन् । अन्य विभिन्न कम्पनीका मोटरसाइकल पनि १ सय ५० सीसी सेगमेन्टमा उपलब्ध रहेका छन् ।
“नेपालीमा १५०–६० सीसी सेगमेन्टका मोटरसाइकल लोकप्रिय हुनुको कारण यो मध्यम रेन्जको मोटरसाइकल खाल्डाखुल्डी बाटोमा खासै समस्या नआउने र माइलेज समेत दिनुलाई मान्न सकिन्छ,” यामाहाको नेपालका लागि आधिकारिक विक्रेता एमएडब्लू इन्टरप्राइजेजका मार्केटिङ म्यानेजर विनोद महर्जनले भने, “यो सेगमेन्टका मोटरसाइकल स्पोर्टी लुक्समा भएकाले युवा पुस्ताको रोजाइमा पर्ने गरेको छ ।”
त्यसमा पनि यामाहाका मोटरसाइकल हिमाल, पहाड तथा तराई सबै भूगोलमा सहज रूपमा गुडाउन सकिने गरी निर्माण गरिएकाले पछिल्लो समय १ सय ५० सीसी सेगमेन्टमा यामाहाका मोटरसाइकल निकै लोकप्रिय हुँदै गएको महर्जनको भनाइ छ । यामाहाका मोटरसाइकल लोकप्रिय हुनुको कारण कम्पनीले प्रतिपादन गरेको नवीनतम प्रविधि पनि भएको उनले बताए ।
नेपालमा वार्षिक २ लाखभन्दा बढी मोटरसाइकल आयात हुने गरेकोमा करिब एक तिहाई पावर सेगमेन्टका आयात हुने गरेको व्यवसायीहरूको भनाइ छ । विदेशमा १५० सीसी सेगमेन्टका मोटरसाइकल हाइवेमा चलाउन नपाइने भए पनि नेपालमा यो सेगमेन्टका मोटरसाइकल ज्यादै लाकप्रिय छन् ।
धेरै सीसीका मोटरसाइकल चलाउनका लागि नेपालमा उपयुक्त बाटो नभएकाले पनि यो सेगमेन्टका मोटरसाइकल युवाहरूको रोजाइमा परेको बजाजकी मार्केटिङ प्रमुख पुनम सिंहको भनाइ छ । पछिल्लो समय सहरमा मात्र नभई ग्रामीण इलाकामा समेत सडक विस्तार व्यापक रूपमा भइरहेकाले त्यहाँ बस्ने उपभोक्ताले समेत १५० सीसी रेन्जका मोटरसाइकल रोज्ने गरेका छन् । युवा पुस्तामा मात्र नभई अफिसियल प्रयोगकर्ताहरूले समेत सोही रेन्जका मोटरसाइकल रोज्ने गरेको पाइन्छ ।
बजारमा बिक्री हुने अन्य सेगमेन्टको तुलनामा १५० सीसी सेगमेन्टकै डोमिनेशन रहेको बजाज मोटरसाइकलकी मोर्केटिङ प्रमुख सिंहले बताइन् । “१५० सीसी भन्दा माथिको मोटरसाइकल हेवी हुने भएकाले चलाउन पनि गाह्रो हुने र माइलज समेत कम दिने हुँदा मध्यम स्तरको मोटरसाइकलमा सबैको आँखा लागेको हो,” उनले भनिन्, “त्यसैले बजार १५० सीसी सेगमेन्टका मोटरसाइकलले लिड गरेको हो ।” बजाजका १ सय ५० सीसी रेन्जमा सबैभन्दा धेरै पल्सर बिक्री हुने गरेको र यो सेगमेन्टमा बजाजका धेरै भेरियन्टसमेत रहेको छ । मध्यम वर्गीय उपभोक्ताहरूले यो सेगमेन्टका मोटसाइकल चढ्नुलाई ‘स्टाटस सिम्बोल’को रूपमा समेत हेरिने गरेको छ । सय सीसीसमम्मका मोटरसाइकल चढ्दै आएका युवा तथा अधबैंसेहरूले १५० सीसी सेगमेन्टकै मोटरसाइकल रोज्ने गरेका छन् । पहिले मोटरसाइकल चढ्दै आएका मानिसलाई १५० सीसी सेगमेन्टको मोटरसाइकल किन्नु खासै महँगो समेत नहुने भएकाले यै सेगमेन्ट रोज्ने गरेका हुन् ।
१५० सीसी सेगमेन्टका मोटरसाइकल स्टाइलिस र केही स्पोर्टी हुने भएकाले यो सेगमेन्टका मोटरसाइकल युवासहित अन्य उमेर समूहका मानिसको रोजाइमा पर्न सफल भएको हो । यस्ता मोटरसाइकलमा डिजिटल, अटो अनअफ, डिसब्रेक लगायत थुप्रै सुविधा हुने भएकाले युवामाझ यो सेगमेन्टका मोटरसाइकल लोकप्रिय भएको हो । यो सेगमेन्टका मोटरसाइकलले कुल व्यापारको २५ देखि ३० प्रतिशत हिस्सा ओगट्ने गरेको छ ।