भूकम्पले भत्किएका ८ हजार घर निर्माण «

भूकम्पले भत्किएका ८ हजार घर निर्माण

सिन्धुली-सिन्धुलीमा भूकम्पले भत्किएका घर धमाधम निर्माण हुँदैछन् । अहिले जिल्लाका अधिकांश भूकम्प प्रभावित घर बनाउने काममा व्यस्त देखिएका छन् ।
जिल्ला आयोजना कार्यान्वयन इकाई अनुदान व्यवस्थापन तथा स्थानीय पूर्वाधारको कार्यालका अनुसार भूकम्पले भत्किएका ८ हजारभन्दा बढी घरको पुनर्निर्माण सम्पन्न भएको छ । भूकम्प गएको ४ वर्षमा हालसम्म जिल्लाका ८ हजार ७३९ घरको निर्माणकार्य सम्पन्न भएको जनाएको छ ।
त्यस्तै भूकम्पका कारण क्षति भएका २४ हजारभन्दा बढी घर भने निर्माणको चरणमा रहेका छन् । हालसम्म जिल्लामा भूकम्पले भत्किएका २४ हजार ३ सय घरको पुनर्निर्माण सुरु भएको कार्यालयले जनाएको छ । जिल्लामा अहिले बन्दै गरेका अधिकांश घरको डीपीसी तह सकिएका छन् । २३ हजार ५०७ भूकम्प पीडितले भने दोस्रो किस्ता लिई घरको छानो हालिसकेका छन् ।
यस्तै जिल्लाका २३ हजार ४०७ लाभग्राहीले दोस्रो किस्तावापतको अनुदानसमेत लिइसकेका छन् भने दोस्रो किस्ता लिई काम सम्पन्न गरिसकेका प्रभावितमध्ये ८ हजार ८८० जनाले तेस्रो किस्तावापतको अनुदानका लागि निवदेन दिएका छन् । भूकम्पका कारण जिल्लाको ३६ हजार ९३५ भूकम्प पीडित लाभग्राही सूचीमा छन् । जसमा ३३ हजार ९९ लाभग्राहीले अनुदान सम्भौता गरी पहिलो किस्ता लिएका छन् ।
घाम, पानी, हावाहुरीका कारण कष्टकर दैनिकी बिताएका प्रभावित अब भने दसंै अगावै घर निर्माण गरिसक्ने लक्ष्यका साथ धमाधम घर बनाउँदैछन् । अहिले भूकम्प प्रभावितले निजी आवास पुनर्निर्माणलाई प्राथमिकताका साथ अघि बढाइरहेको जिल्ला आयोजना कार्यान्वयन इर्काइ अनुदान व्यवस्थापन तथा स्थानीय पूर्वाधार प्रमुख श्यामसुन्दर मिश्रले बताए । उनले भने, “जिल्लाको पुनर्निर्माण सन्तोषजनक रहे पनि सोचे जति काम हुन सकेको छैन ।” जिल्लाका ग्रामीण बस्तीमा अझै पनि पुनर्निर्माणले गति लिन नसेकेको उनको भनाइ छ ।
युवा जनशक्ति रोजगारी तथा अध्ययनका लागि विदेश तथा शहर केन्द्रित हुँदा गाउँमा काम गर्ने जनशक्ति अभाव भएका कारण सोचेजति पुनर्निर्माणको काम हुन नसकेको हो । गोलञ्जोर गाँउपालिका–५ का अर्पना रम्तेलले भूकम्पप्रतिरोधी घर बनाउन दक्ष डकर्मी अभावमा पालो पर्खिएर बस्दा अहिलेसम्म घर बनाउन नसकिएको बताइन् । पहिलो किस्तावापतको अनुदान लिएर डीपीसिसम्मको काम सकिएको २ महिना हुदाँसम्म डकर्मी अभावका कारण काम अगाडि बढाउन नसकिएको उनको भनाइ छ ।
त्यस्तै सोही गाँउपालिका–३ का पदमबहादुर राना मगर पनि अहिलेसम्म अस्थायी टहरामै बसिरहेका छन् । उनको पनि डीपीसी तहसम्मको काम सकिएको १ महिना भयो । तर ठेकेदारले तपार्इंको पालो यो पछि भन्दाभन्दै वर्षा पनि सकिन लागेको उनले गुनासो गरे । उनले भने, “गाँउमा अरु डकर्मी भइदिएको भए पालो कुरेर बस्नु पर्ने थिएन ।”
जिल्लामा भूकम्प पश्चात विभिन्न सरकारी तथा गैरसरकारी कार्यालयले सिकर्मी, डकर्मीको तालिम दिएका थिए । तर ती तालिम लिएका सिकर्मी, डकर्मी के गरिरहेका छन् भन्ने कुनै निकायले चाँसो नदिँदा भूकम्पपीडित अस्थायी टहरामै बस्न बाध्य छन् ।
यता जिल्ला कार्यान्वयन इकाई अनुदान व्यवस्थापन तथा स्थानीय पूर्वाधार कार्यालयले भने भूकम्पपछि जिल्लामा ४ हजारको हाराहारीमा डकर्मी उत्पादन भएको जनाएको छ । विभिन्न सरकारी तथा गैरसरकारी कार्यालयले दिएको तालिमबाट ९५० महिला डकर्मी र अन्य पुरुष डकर्मी उत्पादन भएको कार्यालय प्रमुख मिश्रले बताए ।
कृञ्जला पुलामी

प्रतिक्रिया दिनुहोस्