वैदेशिक रोजगारीमा ठगीका घटना बढ्दै «

वैदेशिक रोजगारीमा ठगीका घटना बढ्दै

सरकार र व्यवसायीले वैदेशिक रोजगारीलाई सुरक्षित, व्यवस्थित र मर्यादित बनाउने भन्दै बर्सेनि आप्रवासन दिवस मनाउने गरेको भए पनि यस क्षेत्रमा ठगीका घटना भने बढ्दै गएका छन् ।सरकार, व्यवसायी र अधिकारकर्मीले विश्व आप्रवासन दिवस मनाइरहँदा वैदेशिक रोजगारीका क्रममा विभिन्न कारणले ठगीमा परेका युवाको संख्या र ठगिएको रकम बढ्दै गएको छ । वैदेशिक रोजगार विभागमा व्यक्तिगत र संस्थागत ठगीका उजुरी जुन गतिमा दर्ता हुने गरेका छन्, त्यसको तुलनामा ठगी रकम भराउने सरकारी प्रयास भएको देखिएको छैन । वैदेशिक रोजगारीबाट जति रेमिट्यान्स भित्रने गरेको छ, त्यसको अनुपातमा सरकारले वैदेशिक रोजगारीका लागि जाने कामदारको सुरक्षाका लागि खर्च गर्न नसक्दा वैदेशिक रोजगार विकृति बन्दै गइरहेको अधिकारकर्मीले बताए । सरकार, व्यवसायी र अधिकारकर्मीले वैदेशिक रोजगारीमा जाने कामदारलाई सचेत नभएको भन्दै दोष दिने गरिएको भए पनि युवाको उजुरी सुनुवाइ हुन सकेको छैन । वैदेशिक रोजगार व्यवसायी संघका अध्यक्ष रोहन गुरुङले राजधानीमा आयोजित कार्यक्रममा सरकारी निकायले कामदारको हितमा सही निर्णय गर्न नसक्दा विभिन्न बहानामा नेपाली युवा ठगिँदै गएको बताए ।
दुई वर्षभित्रै वैदेशिक रोजगारीका क्रममा भएको लेनदेनमा १ अर्ब ४५ करोड रुपैयाँभन्दा बढी ठगी भएको दाबीसहितको उजुरी परेको छ । यसरी परेको उजुरीको कारबाहीमा २६ करोड ४० लाख ९५ हजार बिगो भराइएको छ । आर्थिक वर्ष २०७२-७३ को तुलनामा २०७३-२०७४ मा रकम हिनामिनासहित उजुरी गर्ने युवाको संख्या २११ जनाले बढेको देखिन्छ भने दाबी रकम पनि ६ करोड २७ लाख ४५ हजार ३०२ वृद्धि भएको छ ।
अघिल्लो आर्थिक वर्षमा ६९ करोड ५० लाख ९६ हजार ५०२ रुपियाँ रकम दाबीसहित २ हजार १७२ जनाले वैदेशिक रोजगार विभागमा उजुरी दिएका दिए । यसरी नै गत आवमा ७५ करोड ७८ लाख ४१ हजार ८ सय ४ रुपैयाँ दाबीसहित २ हजार ३८३ उजुरी दर्ता गरेको वैदेशिक रोजगार विभाग उजुरी तथा अनुसन्धान शाखाको तथ्यांकमा उल्लेख छ । यो तथ्यांक संस्थागत (म्यानपावर एजेन्सी) र व्यक्तिगत रूपमा वैदेशिक रोजगारको नाममा रकम लेनदेन विवादपछि पीडित पक्षले विभागमा दर्ता गराएको संख्या हो ।
वैदेशिक रोजगारीबाट जुन तुलनामा रेमिट्यान्स भित्रने गरेको सो अनुपातमा सरकारले वैदेशिक रोजगारीका लागि जाने कामदारको सुरक्षाका लागि खर्च गर्न नसक्दा वैदेशिक रोजगार विकृति बन्दै गएको छ । वैदेशिक रोजगार क्षेत्रको सुधारमा सरकार, व्यवसायी एक अर्काको गल्ती देखाएर मात्र बसिरहेको सुरक्षित आप्रवासन सञ्जालका अध्यक्ष सिद्धीचरण बराल बताए । वैदेशिक रोजगारीका गएका कामदार विदेशमा भन्दा स्वदेशमा नै ठगीमा पर्ने क्रम बढ्दै गएको तथ्यांकले देखाएको छ । विगत २ वर्षमा मात्र वैदेशिक रोजगारीका क्रममा भएको लेनदेनका क्रममा १ अर्ब ४५ करोड रुपैयाँभन्दा बढी दाबीसहितको उजुरी परेको छ । यसरी नै भिसा, स्वास्थ्य परीक्षण र विभिन्न सेवा शुल्कको रकम बढेर २० हजारभन्दा बढी पुगेको छ । सरकारले फ्रि भिसा फि टिकटको लोकप्रिय नाराको घोषणा गरेपछि युवा ठगिने क्रम झन् बढेको देखिन्छ । सरकार र व्यवसायीले वैदेशिक रोजगारीलाई सुरक्षित बनाउने भनेर नारा तय गरेको एक दशकमा मात्र ६ हजारभन्दा बढी कामदारले विदेशमा रोजगारीका क्रममा ज्यान गुमाएका छन् भने हजारौ अंगभंग भएका छन् । सोमबार सरकारसहित विभिन्न निकायले सुरक्षित आप्रवासनका नामका विभिन्न कार्यक्रम मनाइरहँदा कसैले पनि वैदेशिक रोजगारीका क्रममा स्वदेशमा ठगीमा परेका युवाका बारेमा बहस गरेनन् ।
सरकारले सार्वजानिक गरेको फ्रि भिसा फ्रि टिकट लागू गरेपछि कामदार ढगिने र हिनामिना भएको रमकसमेत बढेको छ । १० वर्षको अवधीमा विदेश जाने कामदार स्वदेशमा नै वैधानिक रुपमा नै ठगिने क्रम बढेको बढ्दै भएको छ ।

प्रतिक्रिया दिनुहोस्