लघुवित्त संस्थालाई ग्रामीण क्षेत्रमा जान सुझाव

अर्थमन्त्री डा. युवराज खतिवडाले लघुवित्त संस्थाहरूमा देखिएका समस्यालाई समयमै सुधार गरी सामाजिक जिम्मेवारीभित्र रहेर काम गर्न आग्रह गरेका छन् । उनले लघुवित्त संस्थाहरू ग्रामीण क्षेत्र र वित्तीय पहुँच नपुगेको वर्गमा जानुपर्नेमा जोड दिए ।
स्वावलम्बन विकास केन्द्रको २७ औं वार्षिकोत्सव समारोहलाई सम्बोधन गर्दै अर्थमन्त्री डा. खतिवडाले हालै विश्व बैंकले समेत नेपालको गरिवी न्यूनीकरणमा देखिएको विकासमा खुसी व्यक्त गरेको बताए । उनले सामाजिक–आर्थिक रूपान्तरण उद्यमशीलता तथा प्रविधिको विकास बिना सम्भव नभएकाले लघुवित्त संस्थाहरू त्यसतर्फ केन्द्रित हुनुपर्नेमा जोड दिए ।
कार्यक्रममा केन्द्रका अध्यक्ष शंकरमान श्रेष्ठले हालका दिनमा लघुवित्त संस्थाहरूको अस्वस्थ प्रतिस्पर्धाका कारण लघुवित्तको मूल मर्म र उद्देश्य भुल्दै गएको बताए । उनले केन्द्रले अबका दिनमा विकराल बन्दै गएको बेरोजगारी समस्यालाई उद्यमशीलताको माध्यमबाट समाधानको प्रयास गर्ने बताए ।
त्यसक्रममा अर्थमन्त्री डा. खतिवडाले केन्द्र तथा ग्रामीण ट्रष्ट, बंगलादेशले संयुक्त रूपमा आयोजना गरेको ग्रामीण वित्तीय पद्दती विषयक अन्तर्राष्ट्रिय कार्यक्रमको अवसरमा प्रकाशित अंग्रेजी प्रतिवेदन पनि विमोचन गरेका थिए ।