पार्टी एकता टुंगिएपछि मात्रै सरकार निर्माण

नेकपा माओवादी केन्द्रले नेकपा एमालेसँग पार्टी एकताको टुंगो लागेपछि मात्रै सरकार गठन हुनुपर्नेमा जोड दिएको छ । सोमबार पार्टी मुख्यालय पेरिसडाँडामा बसेको केन्द्रीय कार्यालयको बैठकले पहिले पार्टी एकताको विषयमा टुंगो लगाउनुपर्ने र त्यसपछि मात्रै सरकार गठन प्रक्रिया थाल्नुपर्ने निष्कर्ष निकालेको हो ।
मंसिर १० र २१ गते भएको प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनपछि पार्टी एकता गर्ने गरी गठबन्धन बनाएर एमाले र माओवादी केन्द्र निर्वाचनमा होमिएका थिए । निर्वाचनबाट बहुमत प्राप्त गरेका दुई पार्टी अहिले एकीकरण र सरकार निर्माणको तयारीमा लागेका छन् । यही बेला निर्वाचनको समीक्षा र आगामी रणनीति तय गर्न बसेको माओवादी बैठकले पार्टी एकता र सरकार निर्माण सँगसँगै गर्नुपर्ने बताए । केही एमाले नेताहरूले सरकार निर्माणपछि मात्रै पार्टी एकतामा जानुपर्ने बताइरहेका बेला माओवादीले भने दुवै काम सँगसँगै गर्नुपर्नेमा जोड दिएको हो ।
बैठकले बाम गठबन्धन बनाएर चुनावमा होमिँदा परिणाम सकारात्मक आएको भन्दै पार्टी एकता र गठबन्धनलाई जनताले अनुमोदन गरेको निष्कर्ष निकालेको छ । “जनताले बाम गठबन्धन र पार्टी एकतालाई अनुमोदन गरिसकेका छन्,” बैठकपछि प्रवक्ता पम्फा भुसालले भनिन्, “पार्टी एकता र सरकार गठन सँगसँगै अगाडि बढ्छ, अब पार्टी एकता कसैले रोकेर रोकिँदैन ।”
आजको बैठकमा पार्टी एकताको टुंगो लगाएर मात्रै सरकार गठनलाई प्राथमिकता दिनुपर्ने निष्कर्ष निकालेको एक नेताले बताए । उनले भने, “यसको मतलब सरकार गठनअघि नै एकता प्रक्रिया टुंगोमा पुर्याउने भन्ने होइन । एकताको प्रारुप, भागवण्डा मिलाउन मापदण्ड तय गरेर अघि बढ्ने भन्ने हो ।”
ती नेताले निर्वाचनअघि पार्टी एकता गर्ने भनेर अघि बढेकाले पनि आम मतदातालाई विश्वस्त पार्ने गरी एकताका लागि अघि बढ्नुपर्ने बैठकमा आवाज उठेको जानकारी दिए ।
बैठकमा आलोपालो प्रणालीका आधारमा सरकारको नेतृत्व र पार्टी नेतृत्व लिनुपर्ने आवाजसमेत उठेको छ । सरकारको नेतृत्व एमाले अध्यक्ष केपी शर्मा ओलीले गर्दा पार्टीको नेतृत्व माओवादी अध्यक्ष पुष्पकमल दाहालले पाउने गरी अघि बढ्नुपर्ने सुझाव आएको बताइएको छ । “सरकारको नेतृत्व र पार्टी नेतृत्व आलोपालो सिस्टममा गर्नुपर्ने हाम्रो धारणा हो । ओली प्रधानमन्त्री हुँदा दाहाल पार्टी अध्यक्ष र दाहाल प्रधानमन्त्री हुँदा ओली पार्टी अध्यक्ष हुने गरी सहमति गर्नु पर्ने अवाज उठेको छ,” ती नेताले भने ।
दुई पार्टीबीच यसअघि नै सरकारको नेतृत्व पालो–पालो गर्ने गरी भद्र सहमति भइसकेको बताइएको छ । केही एमाले नेताले पार्टी र सरकारको नेतृत्व एकै व्यक्तिले गर्ने भनेर दिएको अभिव्यक्ति गठबन्धनको मर्म विपरित भएको माओवादीको निष्कर्ष छ । त्यस्ता खालका अभिव्यक्ति अनुसारका काम भएमा कुनै पनि हालतमा स्विकार नसकिने माओवादीको ठहर छ ।
बामदेव र नारायणकाजी हराउनेलाई कारबाही हुने
बैठकले एमाले उपाध्यक्ष बामदेव गौतम र माओवादी नेता नारायणकाजी श्रेष्ठ पराजित हुनुपर्ने कारण खोज्ने भएको छ । अन्तर्घात गरेर गठबन्धनका मुख्य दुई नेतालाई हराइएको निष्कर्षसहित छानविन समिति गठन गर्नुपर्ने ठहर बैठकको छ । बैठकमा अध्यक्ष दाहालले गठबन्धनका प्रभावशाली नेता श्रेष्ठ र गौतम पराजित हुनु दुःखद भएको र दुबै नेतासहित अरु महत्वपूर्ण नेतालाई कसरी सँगै लैजाने भन्नेबारे गृहकार्य चलिरहेको बताएका थिए । गौतम बर्दिया–१ र श्रेष्ठ गोरखा २ बाट पराजित भएका थिए ।
कसरी आयो समानुपातिकमा कम मत ?
प्रत्यक्षतर्फ दोस्रो बनेको माओवादी केन्द्र समानुपातिक तर्फ भने तेस्रोमा खुम्चियो । समानुपातिकमा तेस्रो स्थानमा आउनुको कारणबारे पनि बैठकमा छलफल भएको छ । ६० स्थानमा उम्मेदवार नहुनु र समानुपातिक तर्फको व्यवस्थित प्रचार नभएका कारणले मत कम आएको ठहर भएको प्रवक्ता भुसालले जानकारी दिइन् ।
राष्ट्रिय सभा गठनको विवाद सहमतिमै अन्त्य
बैठकले राष्ट्रिय सभा गठनसम्बन्धी देखिएको विवादको समाधान राजनीतिक सहमतिमा खोज्नुपर्ने निष्कर्ष निकालेको छ । “राष्ट्रिय सभा गठनसम्बन्धी विवाद राजनीतिक विषय हो । यसलाई राजनीतिक सहमतिकै आधारमा समाधान गर्ने र शीर्ष नेताहरू बसेर सहमति खोज्नुपर्ने निष्कर्ष निकालेका छौं,” बैठकपछि प्रवक्ता पम्फा भुसालले भनिन् ।
प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचन सम्पन्न भएकोमा खुसी व्यक्त गर्दै बैठकले निर्वाचन आयोग, राजनीतिक दल, सुरक्षा अंग, राष्ट्रसेवक कर्मचारी, नेपाल सरकार, कूटनीतिक नियोग र सम्पूर्ण मतदातामा धन्यवाद समेत दिएको छ ।