चिया खेतीको व्यावसायिक परीक्षण

बाग्लुङ-बाग्लुङमा चिया खेतीको व्यावसायिक परीक्षण सुरु भएको छ । कृषि अनुसन्धान केन्द्रको प्राविधिक अनुसन्धानले यहाँको वातावरण उपयुक्त भएको सुझाएपछि चिया खेती सुरु गरिएको हो ।
परीक्षणका रूपमा बाग्लुङ नगरपालिका–८ सिगानामा १२ रोपनी क्षेत्रफल जमिनमा चियाका विरुवा रोपिएको छ । बागलुङ नगरपालिकाको ५० प्रतिशत अनुदानमा बौडेचौरमा चियाका १० हजार बिरुवा रोपिएको नगरपालिकाका आर्थिक विकास समितिका संयोजक जीवन आचार्यले बताए । “कृषिमार्फत नै नगरपालिकालाई समृद्ध बनाउने योजनाअनुसार सिगानामा चिया खेतीको परीक्षण सुरु गरिएको हो,” आचार्यले भने, “स्थानीय सम्भाव्यता हेरेर अन्य वडामा पनि व्यावसायिक कृषि प्रवद्र्धनका कार्यक्रम सुरु गरेका छौं ।” अहिले पाइलट प्रोजेक्टको रूपमा लगाइएको चिया खेतीलाई व्यवस्थितरुपमा विस्तार गरी आगामी वर्ष एक लाख बिरुवा लगाउने लक्ष्य लिइएको बाक्ष्लुङ नगरपालिका–८ का वडाअध्यक्ष राजन जिसीले बताए ।
कृषि विकास कार्यालय बाग्लुङका कृषि प्रसार अधिकृत विप्लव अधिकारीले पछिल्लो समय जिल्लामा चिया खेतीप्रति किसानको आकर्षण बढ्दै गएको बताए । “किसानमा चियाका बारेमा आकर्षण बढ्दै गएको छ,” अधिकारीले भने, “केही समय पहिलेसम्म चियाकाबारे ध्यान नै नदिने किसानले अहिले निकै चासो दिन थालेका छन् ।” किसानको चासोपछि कृषि अनुसन्धान परिषद्बाट प्राविधिक झिकाएर चिया खेतीका लागि माटो तथा हावापानी परीक्षण गराएको उनले बताए । बाग्लुङ नगर क्षेत्रको १६ सय ५० देखि २२ सय मिटरको उचाइमा चिया खेती लगाउन प्राविधिक टोलीले सुझाव दिएको छ । अध्ययनअनुसार नगर क्षेत्रकै ११ सयदेखि १४ सय मिटरसम्मको भाग सुन्तला खेतीका लाग उपयुक्त देखिएको छ ।
परम्परागत रूपमा सुन्तला खेती गरिँदै आएको सिगानामा अध्ययन टोली पुगेर सुन्तला खेतीका लागि समेत उपयुक्त वातावरण भएको भनेपछि किसान थप हौसिएका छन् । प्राविधिक टोलीले नै वडाको तल्लो भाग सुन्तला खेतीका लागि उपयुक्त भनेपछि आफूले व्यावसायिक रूपमै सुन्तला खेतीमा लाग्ने सोच बनाएको स्थानीय हरिलाल कार्कीले बताए । “जग्गा जमिन प्रसस्तै छ, यतिकै खेर गैरहेको छ, अव सुन्तला खेती गर्ने योजना बनाएको छु,” कार्कीले भने । उनले यसै वर्ष ३ सय सुन्तलाका विरुवा रोपेको जानकारी दिए । आगामी वर्ष थप ५ सय विरुवा रोप्ने योजना उनले बनाएका छन् ।
कृषकले लगाएको चिया तथा सुन्तलाको विरुवाले चार वर्षपछि उत्पादन दिन थाल्ने कृषि विकास कार्यालयले जनाएको छ । सिनागनाको परीक्षण सफल नभएमा कृषकले गुमाउनु परेको खेतीपातीको उब्जनी मूल्यांकन गरी ५० प्रतिशत रकम नगरपालिकाले उपलब्ध गराउने सहमतिसमेत भएको छ ।
त्रिलोचन रिजाल