सामसङले यो वर्ष ३९ अर्ब डलर गुमायो

सोल-यो वर्ष सामसङ विश्वकै सर्वाधिक खराब भूमिका निर्वाहा गर्ने प्रविधि फर्म भएको छ । स्मार्टफोनमा बढेको प्रतिस्पर्धादेखि सेमिकन्डक्टरको बजारमा देखिएको खराबीका कारण सेयर मूल्यमा अर्बौ डलर गुमाएपछि सामसङ सर्वाधिक खराब भूमिका निर्वाहा गर्ने प्रविधि कम्पनी भएको हो ।
यो वर्ष दक्षिण कोरियाली कम्पनीको सेयर मूल्यमा ११ प्रतिशतको गिरावट आएको छ । यो अमेरिकी र अन्य एसियाली प्रविधि कम्पनीको धितोपत्र भन्दा बढी हो । यो वर्षको हालसम्मको अवधिमा सामसङको बजार पुँजीकणमा ३९.४ अर्ब डलर घटेको छ । गत वर्ष सामसङको सेयरमा ४१ प्रतिशतले वृद्धि भएको थियो ।
पछिल्लो समयमा सेमिकन्डक्डर विभागको व्यवसाय सामसङको सर्वाधिक ठूलो व्यवसाय भएको छ । यो वर्षको दोस्रो त्रैमासिक अवधिमा सामसङको समग्र बिक्रीमा यो विभागको ३७ प्रतिशत र नाफाको ७८ प्रतिशत कायम भएको छ ।
स्मार्टफोनको मन्द कारोबारलाई सेमिकन्डक्टरको सफलताले पूर्ति गरेको छ ।
सामसङको दोस्रो त्रैमासको आम्दानीले १ वर्षभन्दा बढीको अवधिमा मन्द त्रैमासिक नाफा वृद्धि भएको देखाएको छ । यसमा विशेषगरी स्मार्टफोनको बिक्रीमा आएको कमीको ठूलो भूमिका रहेको छ । मोबाइल विभागको आम्दानी जुन सम्मको त्रैमासिक अवधिमा वार्षिक मापनका आधारमा २२ प्रतिशलते गिरावट आएको छ । ग्यालेक्सी एस–९ को बिक्री अपेक्षा भन्दा कम भएकाले समग्र मोबाइल विभागको आम्दानी ओरालो लागेको हो ।
हालैमात्र सार्वजनिक भएको १ हजार डलरको नोट–९ स्मार्टफोनले बिक्रीलाई केही भरथेग गर्न सक्ने अपेक्षा फर्मले लिएको छ । तर पछिल्लो समयमा ह्यान्डसेटको बजार ओरालो लागेको छ भने प्रतिस्पर्धा पनि तीव्र भएको छ ।
दोस्रो त्रैमासिक अवधिमा विश्वव्यापी स्मार्टफोनको ढुवानी वार्षिक मापनका आधारमा १.८ प्रतिशतले ओरालो लागेको आईडीसीको तथ्यांकले देखाएको छ । र पहिलो पटक एप्पललाई पछि पार्दै हुवावे विश्वकै दोस्रो बढी बिक्री हुने स्मार्टफोन कम्पनी भएको छ र सामसङको हाराहारीमा पुग्न लागेको छ ।
सामसङले महत्वपूर्ण मानिएको ठूला बजारहरु भारत र चीनमा तीव्र प्रतिस्पर्धाको सामना गरिरहेको छ । चीनमा हुवावे सर्वाधिक बिक्री हुने स्मार्टफोन भएको छ । यसपछि ओपो, भिभो र शाओमी रहेका छन् । यी सबै चिनियाँ कम्पनीहरु हुन् । कैयौ वर्षसम्म देशकै शीर्ष पाँच ठूला कम्पनीमा दरिदै आएको सामसङले हाल आएर भने आफ्नो हिस्सा गुमाएको छ ।
भारतमा विगतमा शीर्ष स्थानमा रहदै आएको सामसङले चिनियाँ स्मार्टफोन निर्माता शाओमीबाट कडा टक्करको सामना गरिरहेको छ । हाल यो सामसङकै हाराहारीमा रहेको अनुसन्धानमुलक फर्म कानालिसले जनाएको छ ।