थप ९५ विद्यालयमा प्राविधिक शिक्षा «

थप ९५ विद्यालयमा प्राविधिक शिक्षा

८ जिल्लामा पोलिटेक्निकल इन्स्टिच्युट

सरकारले प्राविधिक शिक्षाको पहुँच नपुगेका दुर्गम, विपन्न, पिछडिएका एवं लोपोन्मुख वर्गलाई लक्षित गरी ९५ वटा सामुदायिक विद्यालयमा प्राविधिक शिक्षा विस्तार गर्ने निर्णय गरेको छ ।
शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलको अध्यक्षतामा सोमबार बसेको प्राविधिक शिक्षा तथा व्यवसायिक तालिम परिषद्को बैठकले यस्तो निर्णय गरेको हो । सरकारले सबै स्थानीय तहमा प्राविधिक शिक्षा पु-याउने कार्ययोजनाअनुरूप सोमबार १२ जिल्लाका ९५ सामुदायिक विद्यालयमा प्राविधिक शिक्षा विस्तार गर्ने निर्णय गरेको छ । बाँकी ३२ विद्यालयमा भने ३ महिनाअघि नै सञ्चालन गर्ने निर्णय गरेको थियो । यसका लागि आवश्यक पर्ने २० करोड रुपैयाँसमेत विनियोजन गरेको प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद्का सदस्यसचिव पुष्परमण वाग्लेले बताए ।
सरकारले यो वर्ष सोमबार निर्णय गरेको ९५ र तीन महिनाअघिको गरेर १ सय २७ सामुदायिक विद्यालयमा टीएसएलसी र डिप्लोमा तहको प्राविधिक तथा व्यावसायिक शिक्षा शुरु गरेको छ । सरकारले चालू आर्थिक वर्षमा प्रविधिक शिक्षा तथा व्यावसायिक तालिमको समतामूलक पहुँच विस्तार गर्ने विभिन्न कार्यक्रम सञ्चालन गर्ने लक्ष्यसहित सामुदायिक विद्यालयमा १८ महिने टीएसएलसी र ३ वर्षे डिप्लोमा कार्यक्रम सञ्चालन गर्ने निर्णय गरेको हो । यसका लागि प्रतिविद्यालय १० लाख रुपैयाँका दरले बजेट दिने निर्णयसमेत गरेको सदस्यसचिव वाग्लेले जानकारी दिए । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री पोखरेलको अध्यक्षतामा सोमबार बसेको परिषद् बैठकको यो निर्णयसँगै अब प्राविधिक शिक्षा सञ्चालन गर्ने सामुदायिक विद्यालयको संख्या ३ सय १२ पुगेको छ । यसैगरी सो बैठकले विभिन्न ८ जिल्लामा प्रतिजिल्ला १÷१ वटा पोलिटेक्निकल इन्स्टिच्युट खोल्नेसमेत निर्णय गरेको गरेको छ । यी पोलिटेक्निक इन्स्टिच्युट महोत्तरीको बर्दिवास, चितवनको माडी, स्याङ्जाको वालिङ्, रुकुमको चौरजहारी, सल्यानको खलङ्गा, बझाङको अटला, अर्घाखाँचीको चिवेक र दाङको घोराही रहेका छन् । यस्तै, ओखलढुंगाको सामूदायिक अस्पतालमा नर्सिङ विषय पठनपाठनका लागि अध्ययन गर्न कार्यटोली गठन गर्नेसमेत निर्णय भएको वाग्लेले जानकारी दिए । बैठकले कुनै पनि निजी शैक्षिक संस्थालाई दिने सम्बन्धनमा निर्णय नगरेको सदस्य सचिब वाग्लेले जानकारी दिए । परिषद्अन्तर्गत हाल स–साना छोटा अवधिका ८ सय तालिम सञ्चालनसमेत भइरहेका छन् । “हामी गरिखाने, भूगोल र माटो सुहाउँदो शिक्षालाई समुदायस्तरमा पुर्याउने अभियानमा छौँ ,” सदस्य सचिव वाग्लेले भने “सबै स्थानीय तहमा प्राविधिक शिक्षा पुर्याउन कार्ययोजना तयार गरी कार्यान्वयनमा उतारिएको छ ।”
सरकारले प्राविधिक शिक्षाको पहुँच विस्तार गर्ने योजना ल्याए पनि समग्र शिक्षा क्षेत्रमा छुट्याउँदै आएको बजेटमध्ये ४.५ प्रतिशतमात्र प्राविधिक शिक्षाका लागि विनियोजन गरेको छ । सरकारले आन्तरिक श्रम बजारको माग पूरा गर्ने र रोजगारीदर वृद्धि गर्ने जनाउँदै चालू आर्थिक वर्षमा विभिन्न कार्यक्रम सञ्चालन गरेको छ । यसका लागि बजेट भने न्यून विनियोजन गर्ने गरेका कारण लक्ष्य प्राप्तिमा चुनौती देखिएको छ ।
सीटीईभीटीबाट उत्पादित जनशक्तिको रोजगारीको दरलाई हेर्ने हो भने इन्जिनियरिङ, स्वास्थ्य र कृषि क्षेत्रमा फरक–फरक रहे पनि ७३ प्रतिशतभन्दा उच्च रहेको छ । सो संस्थाबाट उत्पादित जनशक्तिमध्ये इन्जिनियरिङ क्षेत्रमा ८२, कृषि क्षेत्रमा ७४ र स्वास्थ्य क्षेत्रमा ७३ प्रतिशत रहेको छ । हालसम्म सीटीईभीटीले डिप्लोमा तहमा ४३ हजार ७९६, प्राविधिक एसईई तहमा १ लाख ६४ हजार ५२३, सीप परीक्षण २ लाख ९२ हजार २४३, प्रशिक्षक प्रशिक्षण २७ हजार र व्यावसायिक तालिमबाट लाभान्वित ३ लाख जनशक्ति उत्पादन गरिसकेको छ ।

प्रतिक्रिया दिनुहोस्