वैदेशिक लगानी साना उद्योगमा केन्द्रित

नेपालमा आउने प्रत्यक्ष वैदेशिक लगानी (एफडीआई) साना तथा मझौला उद्योगमा केन्द्रित भएको छ । तुलनात्मक रूपमा ठूला उद्योगमाभन्दा कम जोखिम हुने भएकाले लगानीकर्ताहरू साना तथा मझौला उद्योगतर्फ केन्द्रित भएका हुन् । १० करोड रुपैयाँभन्दा धेरै चुक्ता पुँजी लगानीमा आउने उद्योगलाई सरकारले ठूला उद्योगको सूचीमा राखेको छ ।
उद्योग विभागका अनुसार गत आर्थिक वर्षमा दर्ता भएका ५ सय ८ उद्योगमध्ये साना २ सय ३०, मझौला ८१ र ठूला ९७ उद्योग छन् । अघिल्लो आर्थिक वर्ष (०७२-७३) मा दर्ता भएका ४ सय १० उद्योगमध्ये २ सय ६१ साना र ७२ मझौला उद्योग छन् भने ७७ ठूला उद्योग थिए । उद्योग विभागमा दर्ता भएका यी उद्योगहरू सञ्चालनमा आएको अवस्थमा अघिल्लो वर्ष १८ हजार ९ र गत वर्ष २६ हजारले प्रत्यक्ष रोजगारी पाउने विभागको अनुमान छ । विभागका महानिर्देशक शंकर अर्यालले नेपालमा ठूला उद्योमाभन्दा साना तथा मझौला उद्योगबाट लगानीको प्रतिफल छिटो पाउन सकिने भएकोले लगानीतकर्ताहरू जोड यता रहेको बताए । “उद्योगको प्रकृतिअनुसार ठूला उद्योगमा लगानीको रकम ठूलो रहे पनि दर्ता संख्याका आधार साना तथा मझौला उद्योग धेरै छन्,” उनले भने । वैदेशिक लगानी आउँदा २ अर्ब रुपैयाँभन्दा कम लगानी भएमा उद्योग विभाग, २ देखि १० अर्ब रुपैयाँ औद्योगिक प्रवद्र्धन बोर्ड र १० अर्बभन्दा माथिको लगानी भने लगानी बोर्डमार्फत आउँछ ।
गत आर्थिक वर्षमा विभागमार्फत झन्डै १६ अर्ब रुपैयाँ बराबरको विदेशी लगानीको प्रतिबद्धता आएको थियो । अघिल्लो आर्थिक वर्षमा १५ अर्ब १३ करोड रुपैयाँको वैदेशिक लगानीको प्रतिबद्धता आएको थियो । आर्थिक वर्ष २०७१-७२ मा ६७ अर्ब रुपैयाँको एफडीआई आएकोमा २०७२÷७३ मा आउँदा ७८ प्रतिशत घटेको विभागले जनाएको छ । कहिले भूकम्प, नाकाबन्दी, राजनीतिक अस्थिरता जस्ता समस्याले एफडीआई प्रभावित भएको छ । प्राकृतिक विपद तथा राजनीतिक अस्थिरताले साना तथा मझौला उद्योगको तुलनामा ठूला उद्योगमा धेरै लगानी छ । ठूला कम्पनीहरू लगानीका लागि उदार भएर नेपाल आउन सकेका छैनन् । “वैदेशिक लगानीका लागि नीतिगत सुधार, राजनीतिक अस्थिरता कारण भए पनि निजी क्षेत्र आफैंमा प्रस्तिपर्धी हुन नसक्नु पनि हो,” महानिर्देशक अर्याल भन्छन् ।
पछिल्लो पाँच वर्षयता नेपाल आउने एफडीआई साना तथा मझौला उद्योगमा दर्ता भइ उत्पादनमूलकभन्दा सेवाक्षेत्रतर्फ केन्द्रित भएको छ । लगानी, रोजगारी र उद्योग संख्याका आधारमा विदेशी लगानी उत्पादनमूलक क्षेत्रको तुलनामा सेवा क्षेत्रतर्फ भएको तथ्यांक छ । सरकारले कृषि तथा वन्यजन्तु, निर्माण, उर्जामूलक, उत्पादनमूलक, खनिज, सेवा र पर्यटन गरी सात विधाका उद्योगमा प्रत्यक्ष वैदेशिक लगानी भित्र्याउँदै आएको छ । नेपालमा अष्ट्रेलिया, बंगलादेश, बेल्जियम, ग्रिस, क्यानडा, फ्रान्स, पाकिस्तान, पोल्याण्डलगायतका ४३ देशबाट गत वर्ष एफडीआईका लागि प्रतिवद्धता आएको छ । उद्योग दर्ताका आधार चीन, भारत, अमेरिका, जापान वेलायत अगाडि छन् ।