अन्तरदेशीय युवा साझेदारी क्रियाकलापको खोजी

इलाम- बंगलादेश र इलामका युवाहरूले संयुक्त रूपमा युवाको क्षेत्रमा साझेदारी गर्न सक्ने विषयको खोजी गरिएको छ । अन्तर्राष्ट्रिय युवा दिवसको अवसरमा आयोजित भर्चुअल अन्तक्र्रिया कार्यक्रममा इलाम र बंगलादेशका युवाहरूले साझेदारी रूपमा गर्न सक्ने क्रियाकलापहरूको खोजी गरिएको हो । अमेरिकन कर्नर इलामले आयोजना गरेको कार्यक्रममा इलामका ३ वटा युवा संघ–संस्थाहरूका प्रतिनिधिहरू र बंगलादेशका ५ वटा संस्थाका प्रतिनिधिहरूको सहभागिता थियो । समृद्ध पहाड युकेका सुदीप श्रेष्ठले कार्यक्रममा आफ्नो युवाको क्षेत्रमा गरिरहेको कामको अनुभव बताउँदै बंगलादेश र इलामको भौगोलिक, आर्थिक, सामाजिक, राजनीतिक अवस्थाको अध्ययन गरी आगामी दिनमा युवा लक्षित कार्यक्रममार्फत अनुभव आदान प्रदान गर्ने विश्वास व्यक्त गरे । विपत नियन्त्रण र विपतपछिको सहजिकरणको क्षेत्रमा अमेरिकन कर्नरमार्फत नै सञ्चालन गरिरहेको कार्यक्रमका विषयमा युवा अधिकारकर्मी कुमार श्रेष्ठ र दीपा कार्कीले सहभागीहरूलाई जानकारी गराएका थिए । युवा रेडक्रस सर्कलका तर्फबाट निलम राईले इलाममा भइरहेको कार्यक्रमको जानकारी गराएकी थिइन् ।
बंगलादेशको तर्फबाट फर्जना रहमानले त्यहाँका ५ वटा युवा संस्थाहरूको सहजीकरण गरेकी थिइन् । बंगलादेशमा यूएनले दिगो विकास लक्ष २०३० लाई आधार बनाएर युवाको क्षेत्रमा काम भइरहेको उनले जानकारी दिइन् । अमेरिकन कर्नरका संयोजक हेमसागर पौडेलले इलाममा अमेरिकन कर्नरको विकास र यसका कार्यक्रमका विषयमा सहभागीलाई जानकारी गराएका थिए ।