आर्थिक समृद्धि र विकास नै मुलुकको मुख्य एजेन्डाः पूर्वप्रधानमन्त्री ओली

पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले अब मुलुकको मुख्य एजेन्डा नै आर्थिक समृद्धि र विकास हुने बताएका छन् । नेपाल घरेलु तथा साना उद्योग महासंघको पदाधिकारी एवं कार्यसमितिको टोलीसँग ओली निवास बालकोटमा आइतबार कुरा गर्दै ओलीले स्वदेशमै रोजगारी सिर्जना गर्न युवा वर्गलाई आकर्षित गर्न साना उद्योगहरूमा जोड दिनुपर्ने बताएका हुन् ।
लगानीमैत्री वातावरण तयार पारी मुलुकको आर्थिक विकासलाई अगाडि बढाउँंदै लैजाने भन्दै उनले स्वदेशमै धेरै रोजगारीको सिर्जना गरेर युवाहरूको विदेश पलायनलाई रोक्न पर्ने उनको भनाइ छ । सियो धागोदेखि चामल, तरकारी, फलफूलमा समेत विदेशीको भर पर्नुपर्ने अवस्थाबाट देशलाई मुक्त गराई देशलाई आत्मनिर्भर बनाउनुपर्ने आवश्यकता रहेको व्यवसायीमाझ बताएका छन् । “कुनै समय हाम्रो अर्थतन्त्र पूरै आत्मनिर्भर थियो । कुनै पनि वस्तु आयात गर्नुपर्दैनथ्यो । तर, त्यो अहिले सबै आयातमुखी सजिलो बाटोतर्फ जाँदा अहिले चरम परनिर्भरताको अवस्था सिर्जना भयो,” ओलीले भने, “केही वर्षअघिसम्म मुलुक लत्ताकपडा, खाद्यान्नमा आत्मनिर्भर थियो, विस्तारै परनिर्भरता बढ्दै गएको चर्चा गर्दै अहिले सियो, धागोसमेत बन्दैन, परनिर्भता बढ्दै गइरहेको छ ।” परनिर्भरताको अवस्थालाई अन्त्य गर्न घरेलु तथा साना उद्योगबाट मात्र सम्भव रहेको उनले दाबी गरे । उनले मुलुकलाई आत्मनिर्भर हुने गरी पर्याप्त मात्रामा गुणस्तरीय वस्तुको उत्पादन गर्न व्यवसायीलाई सुझाव दिए । स्वदेशमा नै उत्पादित कच्चा पदार्थमा आधारित उत्पादनलाई जोड दिन जस्तोसुकै सहयोग गर्न तयार रहेको जानकारी गराए ।
नेपालको आर्थिक रूपान्तरणको आधार स्तम्भ लघु घरेलु तथा साना उद्योगहरू नीतिगत प्रष्टताको अभावमा फष्टाउन नसकेको नेपाल घरेलु तथा साना उद्योग महासंघका अध्यक्ष श्यामप्रसाद गिरीले बताए । लघु घरेलु तथा साना उद्योगको विकासमार्फत नेपालको आर्थिक रुपान्तरण हासिल गर्न सकिने भन्दै उनले साना उद्योगहरूलाई प्रविधि प्रयोग र क्षमताका हिसाबले प्रतिस्पर्धी, पुस्ता हस्तान्तरण र युवा वैज्ञानिक र अनुसन्धानकर्ताहरूको आवश्यकता रहेको बताएका छन् । उनले प्रदेश सरकार र स्थानीय सरकारले पनि समुन्नतिका लागि स्थानीय कला, संस्कृतिको सम्बद्र्धन र संरक्षण गर्दै स्थानीयस्तरमा पाइने कच्चा पदार्थमा आधारित लघु, घरेलु तथा साना उद्योगको विकास र प्रवद्र्धनका लागि सक्दो सहयोग पुर्याउने प्रतिबद्धता व्यक्त गरे ।
महासंघका पूर्वअध्यक्ष लता प्याकुरेल, सुरेश प्रधान, उपाध्यक्षहरू सूर्य कँडेल, मोहन कटुवाल, महासचिव डम्बर रेग्मीलगायतको सहभागिता रहेको प्रतिनिधिमण्डलले पूर्वप्रधानमन्त्री ओलीलाई बधाई ज्ञापन गर्दै प्रतिनिधि र प्रदेश सभाको निर्वाचनमा संयुक्त बाम गठबन्धनले पूर्ण बहुमत ल्याएसँंगै संक्रमणकालको अन्य भई स्थिर सरकार बने आर्थिक विकास हुने विश्वास व्यक्त गरेका थिए ।