नियमित विद्युत्का लागि ब्यवसायीद्वारा प्राधिकरणलाई १५ दिने अल्टिमेट «

नियमित विद्युत्का लागि ब्यवसायीद्वारा प्राधिकरणलाई १५ दिने अल्टिमेट

जिल्लामा विद्युत् अनियमितता भएको भन्दै व्यवसायीहरू आन्दोलनमा उत्रने तयारी थालेका छन् । व्यवसायीहरूले नेपाल विद्युत् प्राधिकरण लमजुङ वितरण केन्द्रलाई विद्युतीय सेवा नियमित गराउनका लागि १५ दिने अल्टिमेटम दिएका छन् । 

जिल्लामा विद्युत् उत्पादन बढी भएपछि बढी क्षमताको ट्रान्सफर्मरको अभावमा विगत एक महिनादेखि विद्युत् अनियमित हुँदै आएको छ । लमजुङ उद्योग वाणिज्य संघ बेसीसहर एकाइको पहलमा जिल्लास्थित व्यवसायी, युवा क्लब, नागरिक समाजले संयुक्त विज्ञप्ति जारी गर्दै नियमित रूपमा विद्युत् आपूर्ति हुनुपर्ने माग राखेका छन् । 

विज्ञप्तिमा दैनिक दर्जनौं पटक विद्युत् ट्रिपिङ भएका कारण उद्यमी व्यवसायी, तथा अन्य विकासे कार्यालयहरूमा कामकाज प्रभावित भएको उल्लेख गरिएको छ ।

दैनिक दर्जनौं पटक हुने विद्युत् ट्रिपिङका कारण लमजुङका संघ–संस्थाहरूलगायत स्थानीयलाई समस्या परेको एकाइका अध्यक्ष प्रदीप बस्नेतले बताए । “लोडसेडिङमुक्त जिल्लामा अघोषित लोडसेडिङले व्यवसायी मर्कामा परेका छन् ।” बस्नेतले भने, “१५ दिनभित्र समस्याको समाधान नभएमा थप आन्दोलनका कार्यक्रमहरू अघि बढाउनेछौं ।” 

जिल्लाका ४ साना जलविद्युत् केन्द्रबाट उत्पादित विद्युत् उदिपुर शवस्टेसनमा जम्मा भई चारवटा फिडरमार्फत जिल्लाका सबै स्थानमा विद्युत् वितरणको कार्य भइरहेको छ ।

वितरण केन्द्रका प्रमुख माधव न्यौपानेका अनुसार जिल्लामा अफ आवरमा २ र पिकआवरमा ६ मेगावाट विद्युत् खपत हुने गरेको र बढी भएको १२ मेगावाट विद्युत् ३३ केभी लाइनमार्फत तनहुँ पठाउँदै आएको र ३३ केभी लाइन लामो भएका कारण बढी ट्रिपिङ गएको हो ।

“जिल्लामा ११ केभीको वितरण लाइन निकै कमजोर भएकोले पनि बर्खामा विद्युत् ट्रिपिङ बढी हुने गरेको छ ।” प्रमुख न्यौपाने भन्छन्, “जिल्लामा वितरणको जिम्मा लिएको उपभोक्ता संस्थालाई ११ केभी लाइन वरपरका रुखहरू हटाउनको लागि निर्देशन दिएका छौं । अब समस्या समाधान हुन्छ ।”

प्रतिक्रिया दिनुहोस्