गुणस्तरहीन हेल्मेटको बिगबिगी

♦ वार्षिक ६ लाख हेल्मेट बिक्रीड्ड वार्षिक ६ लाख हेल्मेट बिक्री
♦ हेल्मेट गुणस्तर मापदण्ड नै छैन
दुईपाङ्ग्रे सवारीचालकले सुरक्षाका लागि लगाउने हेल्मेटसमेत नक्कली हुँदा सडक–यात्रा थप असुरक्षित बनेको छ । नेपालमा कस्तो हेल्मेट आयात गर्न पाइन्छ भन्ने कुनै मापदण्ड नभएकाले कम गुणस्तरका हेल्मेट आयात भइरहेको छ भने स्वदेशी उत्पादनमा समेत कुनै नियमन छैन । यसले उपभोक्ता ठगिनेमात्र नभइ दुर्घटना हुँदा सुरक्षित बनाउन लगाइने हेल्मेटले जोगाउनुको साटो फुट्ने गरेको पाइएको छ ।
गुणस्तरहीन हेल्मेटको बिगबिगी भएपछि गुणस्तर कायम गर्न सरोकारवालाहरूसँग छलफल सुरु भएको छ । नेपाली बजारमा गुणस्तर कम भएका हेल्मेटको बिक्री बढ्दै गएकाले मापदण्ड कायम गर्न समिति बनाउने विषयमा छलफल भएको नाडा अटोमोबाइल एसोसिएसन अफ नेपालको कार्यसमिति सदस्य अभिक ज्योतिले जानकारी दिए । “हाम्रो देशमा हेल्मेट गुणस्तरीय छ वा छैन भन्ने जाँच गर्ने मेसिन र स्ट्याण्डर्ड नै छैन,” ज्योतिले भने, “दुईपाङ्ग्रे सवारी चलाउँदा टाउकाको सुरक्षाका लागि लगाइने हेल्मेट नै फुटेर चालकको मृत्यु हुने गरेको विभिन्न अध्ययनहरूले देखाएको छ ।” त्यसैले सबै पक्षले यसमा छलफल गरी हेल्मेटको स्ट्याण्डर्ड कायम गर्नुपर्ने उनको भनाइ छ ।
आर्थिक वर्ष २०७३-७४ सम्ममा देशभर २१ लाखभन्दा बढी मोटरसाइकल दर्ता भएको र ०७३-७४ पछिको एक वर्षमा देशभर ३ लाख ५० हजारभन्दा बढी मोटरसाइकल दर्ता भएको यातायात व्यवस्था विभागको तथ्यांक छ । आव २०७४-७५ मा करिब ४ लाख मोटरसाइकल दर्ता भएको अनुमान गरिएको छ । यस हिसाबले हेर्दा नयाँ मोटरसाइकल प्रयोगकर्ताले मात्र नेपालमा वार्षिक ४ लाख हेल्मेट खरिद गर्ने गरेको छन् । अहिले हाम्रो देशमा मोटरसाइकल चालकले मात्र हेल्मेट लगाए पुग्ने व्यवस्था छ । पछाडि बस्ने यात्रुलाई हेल्मेट लगाउनुपर्ने बाध्यकारी नियम छैन । हेल्मेट पुरानो भएर खरिद गर्नेहरूको संख्यासमेत ठूलो रहेको व्यवसायीहरूको भनाइ छ ।
दुईपाङ्ग्रे सवारीसाधन चलाउँदा अनिवार्य रूपमा हेल्मेटको प्रयोग गर्ने गरिन्छ । सुरक्षा कवचको रूपमा लिइने हेल्मेट ग्राहकहरूले सुरक्षितभन्दा पनि सस्तो र कमसल हेल्मेटको विगविगी रहेको छ । उपभोक्ताले सस्तो हेलेमट खोज्ने भएकाले उत्पादक तथा आयातकर्ताहरूले काम गुणस्तरका हेल्मेट ल्याउने गरेका छन् जसले दुर्घटना बढाएको ट्राफिक प्रहरीको भनाइ छ ।उपभोक्ताले सस्तो हेल्मेट खोज्दा र सरकारले हेल्मेटको स्ट्याण्डर्ड नतोक्दा यस्तो समस्या आएको भेगा हेल्मेटको नेपालका लागि आधिकारिक वितरक सुमित बज्राचार्यले बताए । “हामीले अन्तर्राष्ट्रिय मान्यताप्राप्त कम्पनीको हेल्मेट आयात गर्दै आएका छौं,” उनले भने, “सस्तो खरिद गरेर ज्यान जोखिममा पार्नुहुन्न भन्ने कुरा उपभोक्ताले बुझ्नुपर्छ ।” नेपालमा मागअनुरूप भारत, चीन, जापान, कोरियालगायतका देशबाट हेल्मेट आयात हुँदै आएको छ । यसैबीच, भारतको यातायात मन्त्रालयले इन्डियन स्ट्यान्डर्ड इन्स्टिच्यूट (आईएसआई) प्रमाणित हेल्मेट बिक्री नगर्ने कम्पनीलाई कारबाही गर्ने जनाएको छ । हालै दिइएको निर्देशनमा आईएसआई प्रमाणबिनाका हेल्मेट बिक्री गर्नेलाई दुई लाख भारु जरिवाना गर्ने घोषणा गरेको छ ।
त्यस्तै सर्टिफाइड नभएका हेल्मेट उत्पादन तथा बिक्री–वितरण गर्ने कम्पनीलाई जरिवानाकासाथै हिरासतमा राखिने जनाइएको छ । भारतले लागू गरेको नियमअनुसार अब भारतमा उत्पादन हुने र यातात गरिने सबै हेल्मेट अनिवार्यरूपमा सर्टिफाइड हुनुपर्छ । स्ट्यान्डर्ड हेल्मेटको तौल १.२ किलोग्राम वा सोभन्दा कम हुनुपर्छ । हाल नेपाल तथा भारतीय बजारमा १.५ किलोग्रामसम्मका हेल्मेटको प्रयोग बढेको छ । नेपालमा पनि हेल्मेटको स्ट्यान्डर्ड कायम हुनुपर्ने माग सरोकारवालाहरूले उठाउँदै आएका छन् । नेपाली बजारमा हाफ हेल्मेट १ हजार ६ सयदेखि २ हजार ९ सय रुपैयाँसम्म र फुल हेल्मेट २ हजार ५ सयदेखि ९ हजार रुपैयाँसम्ममा पाइन्छ । यस्तै, केही महँगा हेल्मेट पनि उपलब्ध रहेको छन् जस्तो मूल्य २०-२५ हजार रुपैयाँसम्म पर्छ । हेलमेटको अन्तर्राष्ट्रिय स्ट्याण्डर्डहरू ईसीइआर, आईएसआई, बीओटीलगायत हुन्छन् । बजारमा एसटीएम, भेगा, स्टिलबर्ड, स्टुडसलगायत ब्रान्ड उपलब्ध छन् भने नेपाली ब्रान्डका हेल्मेट पनि उपलब्ध रहेका छन् ।