विश्वको आधा जनसंख्या स्वास्थ्य सेवाबाट वञ्चित

कम्तीमा पनि विश्वको आधा जनसंख्या आधारभूत स्वास्थ्य सेवाबाट वञ्चित भएको विश्व स्वास्थ्य संगठनले जनाएको छ । अन्य धेरै पनि स्वास्थ्य सेवामा खर्च गर्नुपरेका कारण चरम गरिबीमा धकेलिएको पनि डब्लूएचओले जनाएको छ ।
विश्वव्यापी रूपमा झन्डै ८० करोड मानिसले आफ्नो पारिवारिक आम्दानीको १० प्रतिशत स्वास्थ्य सेवामा तथा आफ्ना बिरामी बालबालिकामा खर्च गर्नुपरेको छ । उनीहरूमध्ये झन्डै १० करोड मानिस स्वास्थ्य सेवाको खर्चका कारण दैनिक १.९० डलर भन्दा कममा जीवनयापन गर्न बाध्य भएको संगठनले जनाएको छ ।
विश्व बैंक र संयुक्त राष्ट्रसंघीय स्वास्थ्य एजेन्सीले जारी गरेको संयुक्त प्रतिवेदनमा विश्वका आधाभन्दा बढी जनसंख्या आधारभूत स्वास्थ्य सेवाबाट पनि वञ्चित हुनुपरेको अवस्था अस्वीकार्य भएको उल्लेख गरिएको छ ।
“यदि हामी राम्रो स्वास्थ्यको परिणामका बारेमा मात्रै नभईकन गरिबीको अन्त्य गर्ने विषयमा पनि गम्भीर छौँ भने हामीले विश्वव्यापी स्वास्थ्यलाई समेट्नका लागि तत्काल हाम्रो प्रयासलाई बढावा दिनुपर्छ,” विश्व बैंकका अध्यक्ष जीम योङ किमले विज्ञप्तिमार्फत बताएका छन् ।
यो प्रतिवेदनले कहीं सुखद समाचार पनि सार्वजनिक गरेको छ । यो शताब्दीमा खोप र एचआईभी एड्सको औषधी लिने मानिसको संख्यामा पनि वृद्धि भएकोलाई प्रतिवेदनले सुखद मानेको छ ।
तर उप–सहारा अफ्रिका र दक्षिण एसियामा स्वास्थ्य सेवाको उपलब्धतामा ठूलो खाडल रहेको पनि प्रतिवेदनले जनाएको छ । अन्य क्षेत्रहरूमा आधारभूत सेवाहरू जस्तै परिवार नियोजन र शिशुको खोपलगायतका सेवाहरू उपलब्ध भएका छन् । तर, यसका लागि पनि पैसा तिर्नुपर्ने भएकाले उनीहरूलाई वित्तीय बोझ भने कायमै छ ।
योङ किमले यसलाई प्रयास असफल भएको संकेतका रूपमा हेरेका छन् ।
“स्वास्थ्य र मानव पुँजीका लागि गरिने परिचालनमा आधारभूत रूपान्तरणको आवश्यकता छ । यो विशेष गरी देशको तहमा हुनु आवश्यक छ,” उनले बताए ।